धुलिखेल/शिक्षा क्षेत्रको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक सम्वन्धी राजनीतिक दलका प्रतिनिधी एवं सरोकारवालाहरुसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकको आयोजनामा धुलिखेलमा सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी सुर्दशन श्रेष्ठ तथा सरोकारवाला कार्यालयका प्रमुखहरु, जिल्लामा शिक्षा क्षेत्रमा काम गर्ने सामाजिक संस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतको सहभागिता रहेको कार्यक्रममा विपद् पुर्व, विपद्को अवस्था र विपद पछिका विषयमा तयार गरिएको योजनाका बारेमा छलफल गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकालले बताईन् ।
शिक्षा क्लस्टरका सरोकारवालाको सहभागितामा तयार पारिएको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना –२०८१ मा १४ वटा कृयाकलापको तयारी गरिएको छ । जसअन्र्तगत पूर्वानुमान÷पूर्व सूचनामा आधारित विपद् जोखिम न्यूनीकरण सम्बन्धी गतिविधिका बारेमा योजना निर्माण गरिएको छ । चारवटा गतिविधीहरुलाई प्रमुख बनाउँदै थप कार्यक्रमको तयारी गरिएको छ । विपद्को घटना पश्चात गरिने आपतकालिन प्रतिकार्य योजना निर्माणमा २४ घण्टा देखि २ महिनासम्मको कार्ययोजना तयार गरिएको छ । विपद लगत्तै समन्वय बैठक बसी जिम्मेवारी बाँडफाँड, सूचना संकलन तथा प्रतिवेदन तयारी जस्ता विषयमा निर्णय गर्ने, प्रभावित विद्यार्थी एवम् शिक्षकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न विभिन्न विषयगत क्लस्टरसँग समन्वय गर्ने, विपद्मा घाईते तथा चोटपटक लागेका विद्यार्थी तथा शिक्षक÷कर्मचारीहरुलाई स्वास्थ्य क्लस्टरसँग समन्वय गरेर प्राथमिक उपचार तथा थप उपचार व्यवस्थाको लागि आवश्यक सहजीकरण गर्ने लगायत रहेका छन् । कार्यक्रममा शिक्षा अधिकृत पासाङ लामा बलले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।









