2026 August 03/ 04:26: 06pm

    धुलिखेल/अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारण सभा धुलिखेलमा सम्पन्न भएको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यता सम्पन्न सभामा फुटबल खेलको विकासका लागि भएका गतिविधि र आगामी योजनाका बारेमा छलफल भएको थियो । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी सदस्य सचिव टंक घिसिङले एन्फाले विगत वर्षमा गरेका गतिविधिहरुले मुलुकको नाम राख्न सफल भएको बताउँदै खेल खेलेर के हुन्छ र भन्ने निराशापनलाई हटाउन सफल भएको बताए । खेलाडीहरुलाई पुरस्कृत गर्ने र पुरस्कार राशीको कानूनी ब्यवस्था गरेर खेलाडीहरुको हौसला बढाएको बताउँदै उनले आगामी दिनमा खेल र खेलका बारेमा अझै शशक्त बनाउँदै लैजान समन्वय र सहकार्य गर्ने बताए । 
    नेपाल नगरपालिका संघका पूर्व अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले धुलिखेलमा रहेको फुटबल मैदान निर्माणमा एन्फाले गरेको सहयोगका लागि धन्यवाद दिए । धुलिखेलले विद्यालय तह देखि नै खेलकूदको विकासका लागि आवश्यक ब्यवस्थापन, प्रशिक्षण र पूर्वाधार निर्माणको कार्यलाई प्राथमिकता दिएको उनले बताए । हक्कि खेलको मैदान निर्माणका लागि सम्झौता भई कार्य प्रारम्भ भएको बताउँदै नगर प्रमुख ब्याञ्जुले एन्फा र राष्ट्रिय खेलकुद परिषद्को सहयोग र समन्वमा धेरै कार्य गर्न सकिने बताए । 
    अध्यक्ष पंकज विक्रम नेम्वाङले एन्फाले गत वर्ष असिमित उपलब्धी हासिल गरेको बताउँदै आगामी वर्षको कार्यक्रमका बारेमा जानकारी गराएका थिए । प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संचालनमा सम्पन्न कार्यक्रममा महासचिव किरण राईले स्वागत गरेका थिए । पुर्व अध्यक्ष गणेश थापा र उनका छोरालाई साधारण सभामा प्रवेश नदिएको भन्दै केहि बेर गेटमा लफडा गरे पनि साधारण सभा शानदार रुपले सफल भएको एन्फाले बताएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभाले वार्षिक क्यालेन्डर पारित गरेको छ । साधारणसभाले नयाँ बजेट पनि अनुमोदन गरेको छ । एन्फाको यो वर्षको बजेट १ अर्ब ५६ करोड रहेको छ ।