2026 August 04/ 08:25: 00pm

    बनेपा/नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्य समिति काभ्रेपलाञ्चोकले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम आयोजना गरेको छ । जिल्ला अध्यक्ष मनोरथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको प्रमुख आतिथ्यता रहेको थियो । यो संगठन पूर्व प्रहरीहरुको साझा संगठन हो । 
    कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएस्पी) मिनबहादुर घलेले प्रहरी संगठनमा बिताएका कयौ अनुभव र अनुभूति समाज निर्माण तथा समाजको सकारात्मकता तर्फ उन्मुख हुनुपर्ने बताए । मुलुकका लागि आवश्यक पर्ने विभिन्न खालका सहयोग र समन्वयमा पुर्व प्रहरीहरुको उत्तिकै सक्रिय भूमिकाको अपेक्षा गर्दै डिएस्पी घलेले अन्य क्षेत्रमा योगदान गरेका ब्यक्तिहरु भन्दा प्रहरीमा सेवा गरेका ब्यक्तिहरुले सबै खाले घटना, परिघटना र समाज बुझ्ने अवस्था चाँडै भएकाले त्यसका लागि योगदान दिन पूर्व प्रहरीहरुलाई घलेले अनुरोध गरे । जिल्लामा भएका सबै पूर्व प्रहरीहरु संगठनमा आबद्ध भई सांगठनिक एकता र समाज रुपान्तरणका लागि सकारात्मक भुमिका खेल्न डिएस्पी घलेले अनुरोध गरे । 
    इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी ज्ञानबहादुर खड्काले भाईचारा सम्बन्ध स्थापित गर्न नकारात्मक चर्चालाई सकारात्मकतातर्फ उन्मुख गराउन र नागरिकहरुको सेवाका लागि सहयोग र समन्वयमा संगठनको सक्रियता रहनु पर्ने बताए । पूर्व एसएसपी लव विस्टले पूर्व प्रहरीहरुका लागि संगठनले उपलब्ध गराउने विभिन्न कार्यक्रमहरु अवसरका रुपमा लिदै समाजमा केहि दिन र जागिरे जीवनका अनुभुति र अनुभवलाई ब्यवहारमा प्रयोग गर्ने महत्वपूर्ण समय निवृतजीवन भएको बताए । जागिरे हुँदा विभिन्न जिल्लामा नागरिकहरुको सेवा र देशको प्रमुख कार्यभारलाई पुरा गरेको दक्ष र तालिमप्राप्त अनुभवी जनशक्तिलाई सेवा निवृत पछि पनि राज्य निर्माणमा लगाउनु पर्ने बताउँदै देशलाई आवश्यक परेका बेला जुनसुकै र जस्तोसुकै अवस्थामा पनि योगदान दिन तयार रहेको उनले बताए । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले पूर्व प्रहरीहरुले आफुले प्राप्त गरेका ज्ञान, सीप र क्षमता सहितको अनुभवलाई समाजमा हुने हरेक खाले कार्यमा लगाउँदै उदाहरणीय बन्नुपर्ने बताए । पूर्व डिएस्पी पुस्कर केसीले वाहलवाला अवस्थामा घर परिवार र आफन्त समेत नभनी सेवा पु¥याएको पूर्व प्रहरीहरुका बाँकी दिन सहज र सुखद् बनाउन राज्यले समय समयमा उनीहरुको अनुभवका आधारमा पृष्ठपोषण सहितका कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताए । 
    कुलप्रसाद बजगाईको संचालनमा सम्पन्न कार्यक्रममा बनेपा र धुलिखेल नगर स्तरीय तदर्थ समिति घोषणा गरिएको थियो । बनेपामा राजेन्द्र उप्रेतीको संयोजकत्वमा समिति गठन भएको छ भने धुलिखेलमा मधुकर केसीको संयोजकत्वमा तदर्थ समिति घोषणा गरिएको छ । वनभोज कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपामा कार्यरत प्रहरी निरीक्षक रमेश थापा, पूर्व डिएस्पीहरु लोकदर्शन थापा, हरिकृष्ण खत्री, पूर्व प्रहरी निरीक्षकहरु प्रदिपक कार्की तथा विभिन्न तहमा कार्यरत पूर्व प्रहरीहरुको सहभागिता रहेको थियो ।