2026 August 03/ 05:49: 05pm

दोलालघाट/न्यायीक समितिमा भएको मेलमिलाप सहितको सहमति दुई वर्षसम्म कार्यान्वयन हुन नसके पछि भुम्लु गाउँपालिका वडा नम्वर ८ दोलालघाटका रोनेश श्रेष्ठ न्यायीक निकाय तथा न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । पटक पटक मौखिक सम्झौता, लिखित सम्झौता गरेर पनि कार्यान्वयन हुन नसके पछि रोनेश श्रेष्ठले विपत्तिबाट हुन सक्ने दुर्घटनाबाट बचाई दिन अपिल गरेका छन् । 
    ‘गाउँ पालिकामा उपाध्यक्ष संयोजक रहेको न्यायीक समितिले गरेको निर्णय, सहमति कार्यान्वयन हुँदैन । गाउँपालिका अध्यक्ष लगायत वडा अध्यक्षहरुलाई पनि कयन पटक हारगुहार गरें । प्रहरी तथा प्रशासनमा पनि पटक पटक ज्यानको सुरक्षाका लागि अपिल गरें’–स्थानीय रोनेश श्रेष्ठले भने–‘दुई वर्ष पुगिसक्दा समेत आलटाल मात्रै भईरहेको छ । निरन्तरको प्रयत्न र सहमति पालना गराउन कहाँ जाउँ ?’ गाउँपालिकाको न्यायीक समितिले स्थानीय मेलमिलाप केन्द्रमा मेलमिलापका लागि पठाएको उक्त विवाद समाधान भएको भनिए पनि कार्यान्वनमा आउन सकेको छैन । 
    भुम्लु गाउँपालिका वडा नम्वर ८ का तत्कालिन समयमा ३९ बर्षिय उर्मिला श्रेष्ठ र ३९ बर्षिय रोनेश श्रेष्ठ बीच २०८० जेठ १८ गते छलफल भई सहमत भएको बुँदालाई निष्ठापुर्वक पालना गर्ने गरी सहमति पत्रमा हस्ताक्षर गरिएको थियो । ४ बुँदे सहमति पत्रमा भनिएको थियो–‘भुम्लु गाउँपालिका वडा नम्वर ८ साविक भुम्लुटार गाविस ६ दोलालघाटमा बस्ने स्व.बखतमान श्रेष्ठको छोरा स्व.मकर नारायण श्रेष्ठको जेठी श्रीमती सरस्वती श्रेष्ठ र कान्छी श्रीमती उर्मिला श्रेष्ठ बीच दुई घरको बीचमा भएको बाटो प्रयोग तथा फराकिलो गर्ने सम्वन्धी विवादमा उर्मिला श्रेष्ठले भोग चलन गर्दै आएको घर भत्काएर नयाँ निर्माण गरेमा प्रथम पक्षले भोग चलन गर्दै आएको घरको हालको भान्छा घरको साँघको पर्खालसम्म भ¥याङ फराकिलो पार्नका लागि जग्गा छोडन पर्ने भएकोमा दुबई पक्षले सहमती कार्यान्वनय गर्ने उल्लेख छ । त्यस्तै दोश्रो पक्ष उर्मिला श्रेष्ठले भोग चलन गर्दै आएको घर विक्री गरेमा उक्त भ¥याङ प्रथम पक्षले मात्रै प्रयोग पाउने छ भन्ने सहमति २०६९ मसिंर २९ गते भएकोमा उक्त घर उर्मिला श्रेष्ठले विक्री वितरण गरेको हुानाले सोहि सहमति अनुरुप कार्य गर्ने ६० दिन भित्र भ¥याङ फराकिलो बनाउने सहमति भएको थियो । उक्त विषयलाई लिएर दुबै पक्ष उप्रान्त विवाद सिर्जना नगर्ने सहमती भएको थियो ।’ 
    चर्काे घाममा तथा सिमसिम पानीमा समेत पहिरो गएर घर पुरिने र राति सुतेको बेला समेत त्रास उत्पन्न गराएकाले तत्काल उक्त सहमति पालना गराउन रोनेश श्रेष्ठले हारगुहार गरिरहेका छन् । हुँदैन कसैले भन्दैन गरिदिदैन कसैले । जसले सहमति पालना गर्नु पर्ने उक्त पक्षले अस्विकार गरेका कारण बर्षाै एउटै समस्या र एउटै जोखिमबाट रोनेश मानसिक तनावमा बसिरहेका छन् । यस्ता समस्या समाधान गर्नु पर्ने स्थानीय सरकारका प्रतिनिधिहरुले नाई भनेका छैनन तर समाधान निस्कन सकेको छैन । रोनेश श्रेष्ठ भन्छन ः अप्रिय घटना नहुँदै निकास निकालिदिए आराम हुन्थ्यो कि ?