2026 August 06/ 05:53: 03am

      स्कूले जीवनमा गाउँ–घर, स्कूलमा सबैभन्दा फुर्की मैं नै थिएँ । यो फुर्की हुने धेरै कारणहरू मध्ये एउटा मुख्य कारण चाहिँ म पुलिस अफिसरकी छोरी । त्यसबेला पुलिस त्यै माथि पुलिस अफिसर भनेपछि गाउँ–घर सबैतिर सबै थुरथुर । पुलिस अफिसर बुवाकै धाक पिटेर गाउँ–घरमा मात्रै होइन स्कूलमा फुर्की देखाउँथेँ । पढ़्नुमा म खासै राम्रो हुँदै होइन । झुण्डेरै भए पनि वा चिट सारेरै भए पनि मास्टर्स सकें । मास्टर्सको प्रमाण पत्र भए पनि त्यो प्रमाणपत्र आजको दिनसम्म काम लागेन, लागेको छैन ।
    पढ़ी लेखी के काम, हलो जोति खाने माम भन्ने समयको उपज म । तरै पनि बुवा कड़ा मिजास भएकाले उनको डरैले पनि म दुःख सुख पढ़ेँ । बुवा–आमालाई मलाई अफिसर नै बनाउन चाहनुहुन्थ्यो । तर मैले उनीहरूको इच्छा पूर्ण गर्न भने सकिनँ । सँगै पढ़ेका साथीहरू बड़े बड़े ओहोदामा पुगिसक्दा म भने बिजुलीको खाँबोजस्तो एकै ठाउँमा उभिएकी उभियै भएँ । पछि बुझ्दै जाँदा मलाई मेरो भविष्यको सुर्ता लाग्थ्यो । तर काम गर्न भने मनै नलाग्ने । बुवाको करले एउटा स्कूलमा शिक्षिकाको रुपमा आफ्नो कर्म जीवन शुरु गरेँ । म परेँ कुरौटी । यताको कुरा उता, उताको कुरा यता गर्ने एडिक्ट नै भएकोले मलाई अर्काको कुरा नगरी सन्तोष नै लाग्दैन थियो । एकदिन अर्काको कुरा गर्न नपाए, के बिर्सेँ, के गरिनँ भने जस्तो लाग्थ्यो । मेरो यो कुरौटे बानी देखेर मलाई धेरैले मनपराउन छोडÞिसकेका थिए । यसकारण म सबैसँग राम्रो हुने भरसक कोसिस गरिरहन्थेँ । सबैसँग राम्रो हुने चक्करमा स्कूलका मिस भनुँ वा मेरा सहकर्मीहरूले मलाई ईङ्गलिस धुलाइ पनि गरेकै हुन् । मलाई हुनसम्मको लाज प¥यो र स्कूल कमिटीले पनि अब उसो स्कूलमा नआउनÞे आदेश दियो । सोझै भनुँ भने, स्कूलबाट निष्कासित भए पछि आजसम्म कुनै काम नै गर्न सकेकी छैन, न काम खोज्ने प्रयास नै गरेकी छु । खासमा दोष मेरै हो । मेरो यो कुरौटे बानीले म कही कतै पनि टिक्न सक्दिनँ भनेर जान्दा जान्दै मेरो यो कुरोटै आदत अहिले पनि गएको छैन । बरु स्कुसको झाङ झ्याङिएजस्तो झाङिएको छ ।
    खास कुरा भनुँ भने, मलाई अर्काको चियोचर्चो गर्नु अनि अर्काको घर झगड़ा लाउनु खुबै मनपर्छ । यो आदत जस्तै हो । एउटा कुरा अर्कोलाई अनिÞ अर्कोको कुरा एउटालाई सुनाएर आफू प्यारो बन्नु खुबै मनपर्छ । हो, मलाई राम्ररी थाहा छ,.यो एकअर्काको कुरा गरेको थाहा पाए उनीहरूले मलाई केही बाँकी राख्ने छैनन् । तरै पनि नाटककार बालकृष्ण समले बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ भने झै मेरो बानी खरानी भइसकेकोले यो अर्काको कुरा गर्ने पुरानो आदत भइसकेको छ । अर्काको कुरा गरेर झगड़ा लाउनुमा म वेल ट्रेण्ड भइसकेकी छु । मेरो यही खराब बानीले गर्दा आजसम्म मैले न त आफ्नो हातखुट्टा बाँध्न सकेकी छु न त कुनै ब्वाइ फ्रेण्ड नै जुराउन सकेकी छु । मेरो मास्टर्स डिग्री भए पनि त्यो डिग्रीलाई न काममा नै लाउन सकेकी छु । तरै पनि मलाई खान लाउन भने कुनै दुःख भने छैन । अरुलाई आफ्नो इमोसनल कहानी सुनाएर भए पनि छाक टार्न र एकसरो लाउन सक्षम भने भएकी छु । 
    मलाई राम्ररी थाहा छ, यस्तो न ठिक हो न राम्रो नै । तर के गर्नु, पापी पेटको प्रश्न छ । भोक लागे पछि पेट त भर्नैपर्छ । मास्टर्सको प्रमाण पत्र कुनै काम नलागे पनि मेरो जासुस दिमाग लगाएर अरुलाई इमोसनल कहानी सुनाएर यताको करा यता अनि उताको कुरा यता गरेर भए पनि राशन पानी वा केही आर्थिक सहयोगको कारणले खाने मेलो गरिरहेछु । यसमा म केही मात्रामा सफल पनि भएकी छु । खै के भनुँ ? कोरोनाकालमा त हरिबिजोग नै भयो । लकडाउनको कारणले कसैको घरमा गएर आफ्नो इमोसनल राम कहानी सुनाउँ भने सोसियल डिस्टेन्सको छेकावार । त्यतिबेला कस्तो मासु खानु मन लागेको । घरमा केही नहुँदा वा आफूसित पैसा नहुँदा नै किसिम खानेकुरा खानु मन लाग्दो रहेछ । त्यति नै बेला एकजना पुरानो चिनाजान भएकी बहिनीलाई फोन गरी लाजै पचाएर भनिदिएँ नि, ‘बहिनी ! सारै मासु खानु मन लाग्यो हौ’ भन्नु मात्र होइन सामान्य रोएकी जस्तो एक्टिङ पनि गरिदिएँ नि । बहिनीले मलाई सारै माया गर्छिन् । बेलुकी मासु मात्र होइन साग–सब्जी बाहेक पनि थुप्रै कुराहरू पठाइदिछन् । घर घरि यस्तो नाटक गर्ने बानीले पनि मलाई जोगाई राखेको छ आजसम्म । मैले खासमा दुःख त नपाउने नै हो नि । मेरा दाजु–दिदीहरू सबै हुने खाने छन् । उनीहरूलाई नपुग्दो केही छैन तर मेरै थोत्रे ब्यहोराले गर्दा मलाई उनीहरूल कसैले उनीहरूको घरको संघार टेक्न सम्म दिँदैनन् ।     खै ! अब मैले कहिलेसम्म क–कसलाई इमोसनल ड्रामा गर्दै भिख मागेर खानुपर्ने हो । काम गरुँ भने केही गर्न नसक्ने अवस्थामा आइपुगेकी छ । बिजोग छ अहिले मेरो अवस्था । अहिले त यो जीवन यस्तो थोत्रे भइसकेको छ न कुनै आफन्तकहाँ जान सक्ने अवस्था छ, न त मैले त्यस्तो बाटो नै राखेकी छु । यो मेरो भाग्यको दोष होइन भन्छु हो । दोष हो भने मेरो खरानी बानीको हो । मेरो आफ्नै खरानी बानीले गर्दा साथी भाइ छ र ? छिमेकको कुरा छोडिदिउँ, आफ्नै दाजु भाइकहाँ जाने बाटो पनि बन्द भइसके अब मेरो इमोसनल ड्रामाको पर्दा झरिसकेको छ । 
    तपाई पनि म जस्तै उच्च डिग्रीधारी हुनुहुन्छ भने, कृपया मैले जस्तो समय बर्बाद नगर्नुहोला । आफ्नो छदाखाँदाको जीवन अर्काकै चियोचर्चामा समय खेरो नफाल्नुहोला । सबैको भलो चिताउनुहोस् । सबैलाई आफन्त ठान्नुहोस् । यताको कुरा उता, उताको कुरा गरेर गाउँ–घरमा कसै सित शत्रुता बढ़ाउने मूर्ख प्रयास नगर्नुहोस् । अर्काको चियोचर्चो गरेर के नाफा भन्नु त ! समयमै घरजम गरेर असल अनिÞ सफल गृहिणी बन्नुहोस् । नत्र मैले जस्तै पछि गएर पूर्पूरोमा हात राखेर बस्नुपर्छ । समय रहँदै जागरुक बन्नुहोस्, भद्र, शिष्ट र सभ्य बन्नुहोस् । मैले जस्तै मास्टर्स (एम.ए)को सर्टिफिकेट बटुको बोकी हिँड़्ने दिन हजूर दिन नजाओस् । मेरो आफ्नै खरानी बानी देख्दा मलाई फेरि एकचोटि नाटककार बालकृष्ण समको यो मिठ्ठो भनाई बारम्बार दोहो¥याउन मन लाग्छ । बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ ।
    त्यसबेलाको गाउँ सम्झन्छु । बा पुलिस अफिसर हुँदाको रवाफ सम्झन्छु । त्यो गाउँ । त्यो संस्कृति । त्यो सम्पदा । अहिलेको संस्कृति र सम्पदा । अहिलेको अवस्था । मान्छे छैनन् । यो लेखिरहन नपर्ने हो । तपाईले देख्नु भएको नै छ । व्यबस्था परिवर्तन कसको लागि भयो । यो व्यबस्था कहाँको लागि आयो भन्ने छर्लङ्ग भै सकेको छ । यो लेख पढ्दा नै व्यबस्था बिरोधी देखेर तपाईले मलाई हेर्नुहुनेछ त्यो पक्का हो तर के आजकाल गाउँ अस्तव्यस्त भएको जस्तो तपाईलाई लाग्दैन र ? सडक बन्यो, त्यो कहाँ बन्यो ? शहरमा । फुटपाथ बन्यो, नाली बन्यो, सुबिधा सम्पन्न बिद्यालय बन्यो, कहाँ बन्यो ? शहरमा । संसद भवन कहाँ बन्यो ? शहरमा । उद्योग खुलाईयो शहरमा । राजदुतावास खोलियो शहरमा । बसपार्क बनाईयो शहरमा । राष्ट्रपति निवास बनाईयो शहरमा । प्रधानमन्त्रिको कार्यालय बनाईयो शहरमा । आखिर बनाईयो के त गाउँमा ? गाउँमा सम्बृद्धिको सपना सुनाईयो । सोझा मानिसलाई झोले बनाईयो । राजनीतिमा मानिसलाई होमियो । द्वन्द्व हुँदाको सबैभन्दा दर्दनाक पीडा यीनै गाउँलेले भोगे । पुल काटिएर सयौं रात अलिनो तरकारी यीनै गाउँलेले खाए । संचारबाट पर रहे । सुविधाबाट अझै पर रहे । गाउँको अर्गानिक बजार पु¥याईयो भने शहरको बिषादीयुक्त कुरा गाउँमा पुग्यो ।
    आजकाल गाउँ रित्तिएको छ । रोजगारीको कारणले, सुविधाको कारणले, शिक्षाको कारणले । यौटा सुविधा सम्पन्न निःशुल्क रुपले पढाउने विश्वविद्यालय कुनै विकट गाउँमा खुलाईदिएको भए के विद्यार्थी त्यहाँ जान्थेनन् होला र ? गाउँका बाँझा जमिनमा शहर बसाउन सकेको भए कृषि योग्य जमिन मासिन्थ्यो र ? बरु फगत गाउँले सफा हावा उत्पादन गर्दै गर्दा शहरले प्रदुषण गाउँमा पठायो मात्र । आजकाल गाउँमा के छ त ? केही सरकारी अफिसहरु छन् जहाँ अझै सहजै सेवाग्राहीले सेवा पाउँदैनन् । केही विद्यालयहरु छन् जहाँ विद्यार्थीको चरम अभाव छ । केही उरन्ठेउला पार्टीका कार्यकर्ता छन्, जुनले ठेक्का पट्टा हात पारेर ठेकेदारीको लाचारी देखाईरहेका छन् । केही शिक्षक छन् गाउँमा जसले राजनीतिको धन्दा चलाईरहेको छन् । केही लघुवित्त छन् जसले सोझा गाउँलेलाई फसाएर ऋणको जालोमा फसाएको नै छन् । के गाउँमा सुपर मार्केट छ ? के गाउँमा बहुर्राष्ट्रिय कम्पनीको कारखाना खुलेको छ र ? के गाउँमा शहरको जति सुबिधा छ र ? के गाउँमा हामीले चाहेको जस्तो अस्पताल बनेको छ र ? के सबै सुविधाहरु सर्वसुलभ छन् र ? के यो व्यबस्था एक खाले मानिसलाई शहरमा स्थापित गराउन आएको हो ? गाउँका श्रोतलाई दोहन गर्न आएको हो ? महंगी बढाएर गरीबको ढाड सेक्न यो व्यबस्था आएको हो ? कर्मचारीलाई हाटा (हाजिर गरेर टाप ) गर्न यो व्यबस्था ल्याईएको हो ? के उद्घाटनको रिबन काट्न मात्र ल्याईएको हो ? चिन्तन र चिन्ता देशको लाग्दैन होला र शासकहरुलाई ? आजकल शहर गाउँका मानिस भाडामा राख्न पाएर मस्त छ । शहरमा कारोबार छ । शहरमा व्यापार छ, शहरमा सुविधा अपार छ । तर गाउँमा जंगल बढेको छ । बाँदरको बिगबिगी छ । बाँझो जमिन बढेको छ । पर निर्भरता गाउँमा पनि बढेको छ । त्यसैले त हजुर शहर मस्त छ, अनि गाउँ अस्तव्यस्त छ । 

विनोद सुनार
काठमाडौं