पनौती/६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पनौती नगरपालिकाद्वारा आयोजित सहकारी दिवस कार्यक्रमका बिच सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. का निवर्तमान अध्यक्ष प्रकाश बन्जारा सहकारी अभियन्ताको रुपमा सम्मानित भएका छन् ।
बन्जारासँगै पनौती नगरपालिकाले विभिन्न विधाहरुमा उत्कृष्टताको आधारमा अन्य व्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरेको छ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती ४, काभ्रेपलाञ्चोकका निवर्तमान अध्यक्ष बन्जारा २०५३ सालमा सो संस्थामा शेयर सदस्यको रुपमा प्रवेश गरेका थिए । सहकारी अभियानमा नेतृत्वको रुपमा २०५९ साल माघ महिना सामुदायिक साकोसमा लेखा सुपरिवेक्षण समितिको सदस्य पदबाट शुरुवात गरेका थिए । २०६३ साल देखि २०६९ सालसम्म लेखा सुपरिवेक्षण समितिको संयोजक, २०६९ सालमा कोषाध्यक्ष पदमा र २०७२ पौष देखि संस्थाको अध्यक्षको जिम्मेवारीमा २०८१ मंसिर १५ गतेसम्म रहेका थिए । उनकै नेतृत्वमा संस्थाले १८ वटा सहकारी संस्थाहरुसँग एकीकरण गर्न सफल भएको थियो । संस्थाको कार्यक्षेत्र एक नगरपालिका र पाँच गा.वि.स.बाट ६ जिल्लासम्म विस्तार गर्न सफल भएको थियो भने भुगोल मात्र हैन संस्थामा ११ हजार शेयर सदस्यबाट ६० हजार शेयर सदस्यहरुको आबद्धता पुगेको छ । संस्थाको कुल पुँजी ८१ करोडबाट ६ अर्ब २२ करोड पुग्न सफल भएको छ । संस्थाको जगेडा कोष ३ करोड ५३ लाखबाट बढेर ४२ करोड ९७ लाख पुगेको छ ।
बन्जाराले सोही संस्थाको प्रतिनिधित्व गर्दै स्थिरिकरण कोषको सञ्चालकको रुपमा प्रारम्भिक संस्थाहरुको तर्फबाट मनोनयन भएका थिए भने सामुदायिक साकोसकै प्रतिनिधित्व गर्दै जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकमा सचिव पदमा निर्वाचित भएका छन् । संस्थाले संस्थामा आबद्ध सदस्यता, संस्थाको कार्यक्षेत्र, संस्थाको कारोबारमा गुणात्मक बृद्धि हासिल गर्न सफल भएको छ । साथै सदस्यले प्राप्त गर्ने सेवा सुविधा लगायतका विषयहरुमा पनि बृद्धि भएको छ । सदस्यहरुलाई जन्मदेखि मृत्यूसम्मका राहत सुविधाहरु, स्वास्थ्य उपचार राहत, प्रकोप राहत जस्ता सुविधाहरु संस्थाले उपलब्ध गराउँदै आएको छ । सदस्यहरुलाई आन्तनिर्भर र स्वरोजगार बनाउन विभिन्न तालिम तथा लगानी गरी उद्यमी बनाउन संस्थाका तालिम तथा शिक्षाका कार्यक्रमहरु निरन्तर भई नै रहेका छन् भने समुदाय प्रति पनि सामुदायिक साकोसले हरेक गतिविधिमा साथ र सहयोग गर्दै आएको छ । यिनै उपलब्धीहरु साथै संस्थाका गतिविधिहरुका कारण पनौती नगरपालिकाबाट उत्कृष्ट सहकारी अभियन्ताको रुपमा उनले सम्मान प्राप्त गरेका हुन् ।
२०८१ चैत्र २० गते भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको आयोजनामा सम्पन्न सहकारी दिवस कार्यक्रमका बागमति प्रदेश अन्र्तगतको विधामा उत्कृष्ट संस्थाको रुपमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पुरस्कार तथा सम्मानको लागि छनौट भएको छ ।





