2026 August 06/ 02:39: 03am

    बेथान्चोक/बेथान्चोक गाउँपालिका वडा नम्वर २ मा रहेको पार्वती बहुमुखी क्याम्पसले स्थापनाको १२ औ बार्षिकोत्सव मनाएको छ । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष विनोद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 
    चालु शैक्षिक सत्र देखि गाउँपालिकाले छोरी र बुहारीका लागि निशुल्क शिक्षा दिने उद्देश्यले बार्षिक १० लाख रुपैयाँ विनियोजन गरेको भए पनि प्रशासनिक खर्च तथा अन्य ब्यवस्थापनका लागि रकम अभाव भएको क्याम्पस प्रमुख राजेश तिमल्सिनाले बताए । बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख राजेश तिमल्सिनाले स्ववियु निर्वाचन लक्षित ८९ जना विद्यार्थीहरु भर्ना भएको भए पनि एक सय भन्दा धेरै विद्यार्थीहरुले अध्ययन गरिरहेको बताए । क्याम्पसको भौतिक पूर्वाधार सम्पन्न गर्न नसकेको, असोज १०–१२ मा आएको विपत्तिका कारण क्याम्पस भवन परिसरमा क्षति पुगेको, विद्यार्थीसँग शुल्क लिने ब्यवस्था हटाए पछि अन्य प्रशासनिक खर्च समेत अपुग भएको उनले बताए । क्याम्पसका लागि आवश्यक पर्ने थप रकम ब्यवस्थापनका लागि क्याम्पस प्रमुख तिमल्सिनाले गाउँपालिकालाई अनुरोध गरेका थिए । 
    क्याम्पसको बार्षिकोत्सव कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले क्याम्पसको शैक्षिक स्तर सुधारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । ‘गाउँपालिकाको महत्वकाँक्षी योजना मध्येको एक छोरी बुहारीको क्याम्पस बनाउने उद्देश्यलाई पार्वती क्याम्पसले सहयोग गरेको छ’–अध्यक्ष अधिकारीले भने–‘प्रारम्भिक रुपमा गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरी विनियोजन गरेको बजेट तथा थप कार्यक्रम र अन्य ब्यवस्थापनका लागि आवश्यक छलफल गरी सहयोग गर्न गाउँपालिका तयार छ ।’ गाउँपालिकाले बेथान्चोक भित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि समेत विविध कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउँदै अध्यक्ष अधिकारीले क्याम्पस तहमा हुने अध्ययन पछि विद्यार्थीहरुले बेथान्चोकको माटो सुहाउँदो रोजगार, श्रम तथा कृषि, पर्यटनमा जोडिन सक्ने तर्फ केन्द्रित गर्ने गरी प्राविधिक शिक्षामा समेत ध्यान दिने बताए । 
    कार्यक्रममा स्थानीय तथा नेपाल सरकारका सह सचिव नवराज घिमिरेले नेपालको पछिल्लो अवस्थाका बारेमा चित्रण गर्दै स्थानीय तहमा उत्पादित हुने जनशक्ति स्थानीय स्तरमा नै खपत हुने गरी कार्यक्रम संचालन गर्न सुझाव दिए । बैदेशिक रोजगार तथा बैदेशिक क्षेत्रको अध्ययनले स्थानीय क्षेत्रमा पर्न थालेको संकट ब्यवस्थापनका लागि स्थानीय सरकारले निर्माण गर्ने कार्यक्रमहरु जनमुखी हुनु पर्ने सुझाव दिए । कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रलाई प्राथमिकिकरण गर्दै कार्यक्रम शुरु गरिएको बताईन् । कार्यक्रममा शिक्षाविद्हरु डा. बलराम तिमल्सिना, अर्जुन श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, वडा अध्यक्ष पुरुषोतम तिमल्सिना, विभिन्न क्षेत्रका ब्यक्तिहरु, जनप्रतिनिधिहरु, क्याम्पस संचालक समिति तथा क्याम्पस परिवार, अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष विनोद तिमल्सिनाले क्याम्पसले प्रदान गर्ने शिक्षा ब्यवहारीक र गुणस्तरीय हुने बताए ।