2026 August 07/ 03:40: 34am

    धुलिखेल, फुलबारी/धुलिखेल नगरपालिका ११ पातलेखेत फुलबारीमा रहेको महांकाल आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले कक्षा कोठामा सिकेका पाठहरुलाई ब्यवहारत देखाउन आयोजना गरिएको शैक्षिक प्रर्दशनीमा बालबालिकाहरुले पाठ्यक्रममा रहेका विषयलाई खेलको माध्यमबाट अभिभावकहरुलाई खेलाउँदै थिए । बालबालिकाहरुसँग अभिभावकहरु खेल्न हौसिरहेका थिए ।
    प्रर्दशनीको पहिलो स्टलमा बालिकाले अक्षर चिनाउने खेल खेल्न लगाउँछिन् । अभिभावकको आँखामा सल बाँधेर बालिकाले दिएको अक्षर चिन्नु पर्ने हुन्छ । अभिभावकहरुले छामेर अक्षर चिन्न सके प्लेकार्ड मार्फत धन्यवाद सहितको उपहार प्रदान गरिनेछ भने चिन्न सकेनन भने सरी भन्दै प्लेकार्ड देखाउँछन् । बालबालिकाहरुले अक्षर चिन्न देखि चिनिएका अक्षरबाट पाठ्यक्रममा सिकेका ज्ञान र सीपलाई ब्यवहारत बुझाउँदै छन् । एमजीएमल कार्यक्रम संचालन भएको उक्त विद्यालयमा अध्ययन गर्ने ५५ जना विद्यार्थीहरु उक्त सिकाई विधीमा सहभागि छन् । जसका कारण बालबालिकाहरुले अध्ययनमा रुची राखेका छन् भने सिकेका कुरालाई सम्झन सहज भएको छ । 
    कक्षा ६ मा अध्ययन गर्ने अञ्जु विकले विज्ञान विषयमा अध्ययन गरेको वनस्पती कोषका बारेमा प्रर्दशनीमा सहभागिहरुलाई जानकारी गराईन् । कक्षा ८ मा अध्ययन गर्ने सदिक्षा तामाङले मानव शरिरमा हुने मुत्र प्रणालीका अङ्गहरुका बारेमा स्वास्थ्य विषयमा अध्ययन गरेका कुराका बारेमा प्रर्दशनीमा राखिएको तस्विर सहितको ब्याख्या गरिन् । पाठ्यक्रममा पढेको ज्ञानलाई ब्यवहारमा भन्न र गर्न सक्ने अवस्थामा प्रर्दशनीले सहयोग पु¥याएको विद्यार्थी सदिक्षाले बताईन् । कक्षा ६ मा अध्ययन गर्ने युनिका विकले विश्व सम्पदा सूची के हो ? नेपालमा सम्पदा सूचीमा रहेका त्यस्ता स्थानहरु कुन् कुन हुन् ? अंग्रेजी विषयमा अध्ययन गरेका विषयलाई समावेश गर्दै प्रर्दशनीमा जानकारी गराईन् । 
    कक्षा ७ मा अध्ययन गर्ने अनिसाा विकले विज्ञान विषयमा अध्ययन गरेको जनावार कोषका बारेमा जानकारी गराईन् । कक्षा ७ मा अध्ययन गर्ने सुरक्षा तामाङले गणित र अंग्रेजी विषयमा पढेका विषय बस्तुका बारेमा जानकारी गराईन् । कक्षा ८ मा अध्ययन गर्ने अनिषा तामाङले अम्लिय वर्षाका बारेमा स्पष्ट पारिन् । जलवायु अनुकुलन वर्षा, वर्षाका कारण हुने फाईदा र बेफाईदा, वातावरणमा परिरहेको प्रवाह, उद्योग कलकारखाना तथा दैनिक जीवन यापनका कारण भईरहेको प्रदुर्षण तथा अन्य विषयमा जानकारी गराएकी थिईन् । विद्यालयले गत वर्ष देखि शुरु गरेको प्रर्दशनीको दोश्रो वर्ष अझै ब्यवस्थित र सिकाईमा आधारित हुन सकेको विद्यार्थी रेश्मा तामाङले बताईन् । उनी अघिल्लो वर्ष पनि प्रर्दशनीमा सहभागि भएकी थिईन् । 
    कक्षा ६ मा अध्ययन गर्ने सफल श्रेष्ठले नेपाली विषयमा पढेका विभिन्न विषयका बारेमा सहभागिहरुलाई बुझाएका थिए । पाठ्यक्रमका विविध विषय मध्ये सम्झन कठिन हुने पाठलाई सम्झन सहज र सरल तरिकाबाट सिकाई विधी अपनाउँदै प्रर्दशनीमा राखिएको थियो । सहभागि अभिभावकहरु विद्यार्थीहरुले आयोजना गरेको प्रर्दशनीमा सहभागि हुँदै उनिहरुसँग खेल्दै र सिक्दै खुशी देखिएका थिए । विद्यालयमा पढाई हुने सबै विषयका बारेमा प्रर्दशनीमा बालबालिकाहरुले जानकारी गराएका थिए । विद्यार्थी वविना हुमागाई हरेक गतिविधिमा तत्काल गित लेख्ने र सुनाउने गर्छिन । 
    २०६७ साल देखि आधारभुत तहमा संचालन भएको विद्यालयमा कम विद्यार्थी भए पनि गुणस्तरीय सिकाईलाई प्राथमिकतामा राखिएको प्रधानाध्यापक योगेन्द्रप्रसाद बडालले जानकारी दिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले विद्यालयमा अभिभावकहरुको सक्रियता बढाउँदै अभिभावक, शिक्षक र विद्यार्थीहरु समेतको सहभागितामा गुणस्तरीय शिक्षालाई जोड दिएको बताए । अभिभावकहरुले प्रर्दशनीमा स्थानीय उत्पादन गुन्द्रुक, साग, लसुन, धनिया तथा अन्य तरकारीहरु विक्री गरेका थिए । प्रर्दशनीको अवलोकनका लागि धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, शिक्षा शाखा प्रमुख डिकबहादुर राई, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरु, वडाका जनप्रतिनिधिहरु, शैक्षिक शशक्तिकरण केन्द्रका प्रमुख कार्यकारी अधिकृत दिपक रोक्का, सामाजिक परिचालक राजेन्द्र कर्माचार्य तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । शैक्षिक शसक्तिकरण केन्द्रले काभ्रेपलाञ्चोकका विभिन्न पालिकाका ३९ वटा विद्यालय, रामेछाप, सिन्धुली र दोलखाका विभिन्न विद्यालयमा एमजीएमल कार्यक्रम मार्फत विद्यार्थीहरुको सिकाई अभिवृद्धिमा समन्वय र सहकार्य गरिरहेको छ । कार्यक्रमले बालबालिकाहरुको सिकाईमा बृद्धी भएको अभिभावक, विद्यार्थी र शिक्षकहरुले प्रतिक्रिया दिएका छन् ।