2026 August 07/ 05:56: 32am

पातलेखेत, डाँडागाउँ
धुलिखेल

    झट्ट सुन्दा र देख्दा अनि हेर्दा लाग्छ सामुदायिक विद्यालयमा राज्यको अथाह लगानी छ । शिक्षकहरुलाई पर्याप्त पारिश्रमिक छ । तर पनि गुणस्तर र विद्यार्थी घटिरहेका छन् । भौतिक पूर्वाधार पर्याप्त छ । परिणाम र सिकाई उपलब्धीमा किन कमजोर ? अभिभावकहरुले उठाउने प्रश्न र देखिने परिणाम उस्तै थियो । तर अब सामुदायिक विद्यालयहरु बदलिएका छन् । राज्यको निगरानी र लगानी विस्तारै बढिरहेको छ । अभाव नै अभावका बीच विद्यालयहरुले शिक्षालाई सिकाई उपलब्धी, ब्यवहारीक र प्रयोगात्मक तर्फ उन्मुख गराउन थालेका छन् । त्यसमध्येको एक उदाहरण हो धुलिखेल नगरपालिका ११ पातलेखेत डाँडागाउँमा रहेको कालीदेवी माध्यमिक विद्यालय । आहा ! कालीदेवी । 
    कालीदेवी माध्यमिक विद्यालयले शुक्रबार दोश्रो शैक्षिक मेला आयोजना ग¥यो । मेलामा छिमेकी विद्यालयका अलावा छिमेकी नगरबाट समेत अवलोकन भयो । शिक्षकले पाठ्यक्रममा सिकाएका विषयलाई विद्यार्थीहरुले अभिभावकको समेत सहयोगमा तयार गरेका सामाग्रीहरु प्रर्दशनमा राखिएको थियो । ‘विद्यार्थीहरुलाई सिकाईएका पाठ्यक्रममा आधारित विषयबस्तुहरुलाई शैक्षिक सिकाई उपलब्धीका रुपमा प्रर्दशन गरिएको छ’–विद्यालयका प्रधानाध्यापक रञ्जितकुमार राईले भने–‘यो विद्यालय र विद्यार्थीको दोश्रो प्रयास हो । यसमा अभिभावकहरुको समेत साथ र सहभागिता छ ।’ 
    विद्यार्थीहरुले कक्षा १ देखि ५ सम्म एमजिएमएल कार्यक्रम मार्फत प्राप्त सिकाईलाई ब्यवहारमा देखिने गरी शैक्षिक मेलामा प्रर्दशन गरेका छन् । एमजिएमएल कार्यक्रम बहुकक्षा बहुस्तर सिकाई उपलब्धीका लागि महत्वपूर्ण भएको अभिभावकहरुले बताएका छन् । अभिभावकहरुले बुन्ने गरेको स्थानीय सामाग्रीबाट टपरी, कपासको बत्ति, खोस्टाको चकटी, सागको गुन्द्रुक बनाउन विद्यार्थीहरु तयार भए । उनिहरुले मेलामा सहभागिहरुलाई स्थानीय उत्पादन, सिकाई र पाठ्यक्रमका बारेमा बताए । विद्यालय परिसरमा रहेको करेसाबारीमा उत्पादन गरिएको बगैचामा धनियाँ, पालुङ्गो र चुकन्दरको सागलाई दिवा खाजामा समावेश गरी ताजा खानेकुरालाई सहयोग पु¥याए । धोक्रोको रेसा काढेर डोरी बुन्न विद्यार्थी आफै तयार भएका छन् । आधुनिक प्रविधिलाई समेत जोडेर दैनिक जीवनयापनमा जोडेर पाठ्यक्रमलाई सहज बनाईएको छ ।  
    कक्षा ६ देखि १० सम्मका बालबालिकाहरुले मौरी पालन लगायतका महत्वपूर्ण विषयमा जानकारी गराउन थालेका छन् । उक्त विषय कक्षा १० मा मौरी घार भनेर उल्लेख गरिएको छ । मौरी पालनका फाईदा, त्यसको उपयोगिता र ब्यवसायीकताका बारेमा विद्यार्थी जगदिश न्यौपानेले सहभागिहरुलाई जानकारी गराईरहेका छन् । कक्षा ५ मा अध्ययन गर्ने सिर्जन रेग्मिले धोक्रोबाट डोरी बाटेका छन् । अन्जना आचार्य लगायतको समुहले बत्ति पार्न सिकाएका छन् । निषा तामाङ लगायतले अभिभावक र शिक्षकको सहयोगमा खोस्टाको चकटी बुनेका छन् ।  आकृति ढकाल र सरिस्मा तामाङको समुहले सागबाट उन्नत खालको गुन्द्रुक तयार गर्न सिकाएका छन् । सिकाईमा सहजताका लागि प्रविधिको प्रयोग गरेर ‘ट्याब’मा समावेश गरिएको पाठ्यक्रम, खेलकुदका माध्यमबाट चिनिने अक्षर तथा अन्य विषयलाई प्राथमिकतामा राखिएको छ । 
    विद्यार्थीहरुको अलावा शैक्षिक मेलामा अभिभावकहरुको उस्तै सक्रियता छ । अभिभावकहरुले आफ्ना सन्तानका लागि सहयोगि र सिकाउनै पर्ने खालका संस्कृति, सम्पदा, सीप र पर्वका बारेमा जानकारी मात्रै गराएका छैनन लोपोन्मुख सामाग्री प्रर्दशन गरेका छन् । स्थानीय संस्कृति झल्कने तामाङ समुदायको ‘सेलो’ प्रर्दशन गरेका छन् । विद्यालयले एमजीएमएल कार्यक्रम मार्फत गठन गरेको आमा समुह सक्रिय छ । अध्यक्ष श्रृजना रेग्मिले बालबालिकाहरुको सिकाईमा सहजताका लागि अभिभावकहरु सक्रिय रहनु आवश्यक भएकाले विद्यालय परिवारसँग निरन्तर जोडिएर समन्वय गरिरहेको बताईन् । अभिभावकहरुले शैक्षिक मेलामा तीनवटा स्टल राखेका छन् । विद्यार्थीहरुका ५० वटा स्टल छन् । एमजीएमएल मार्फत अध्ययन गरिरहेका विद्यार्थीहरुले २७ वटा स्टल राखेका छन् । कक्षा ६ देखि १० सम्म अध्यन गरिरहेका विद्यार्थीहरुले २३ वटा स्टल छन् । १ सय ३८ जना विद्यार्थी र अभिभावकहरुले ५३ वटा स्टल राखेका छन् । 
    धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले विद्यार्थीको सिकाई उपलब्धी बृद्धि तथा सिकाईलाई ब्यवहारमा उतार्ने गरी सामुदायिक विद्यालयहरुले शुरु गरेको विद्यार्थी सिकाई केन्द्रित अभियानको निरन्तरताको शुभकामना ब्यक्त गरे । उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, शिक्षा प्रमुख उप–सचिव डिकबहादुर राई, शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरी, लेखा अधिकृत भवानीप्रसाद मिश्र, वडा अध्यक्ष नारायण बडाल, पुर्व वडा अध्यक्ष विष्णु धिताल, एमजीएमएल कार्यक्रमका कार्यकारी निर्देशक दिपक रोक्का, जनप्रतिनिधिहरु, अभिभावकहरु, शिक्षक तथा अभिभावकहरुको सक्रिय सहभागिता रहेको थियो । 
    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण सिं तामाङ, विद्यालय प्रधानाध्यापक रञ्जितकुमार राई, सहायक प्रधानाध्यापक संगिता गौतम, एमजीएमएल कार्यक्रम विद्यालय इन्चार्ज होमकुमारी तामाङ लगायतले विद्यालयले प्राप्त श्रोत र साधनका बाबजुत अधिकतम उपलब्धी हासिल गर्न प्रयत्न गरिरहेको बताए । विद्यालयको भौतिक पूर्वाधार पर्याप्त नभएको, खेल मैदान अभाव रहेको, विद्यालयको प्राङ्गण विपत्तिका कारण संकटमा रहेको, धुलाम्मे आँगनमा बालबालिकाहरुले आवश्यकता अनुसार शैक्षिक कृयाकलाप गर्न नसकेको गुनासो अभभिावकहरुले सुनाए । त्यसका बाबजुत पनि विद्यार्थी, अभिभावक र शिक्षक जोड्ने शैक्षिक कृयाकलापलाई सहभागिहरुले खुलेर प्रसंशा गरे । आहा ! सामुदायिक विद्यालय । आहा !  कालीदेवी मावि ।