६५ वर्ष पुगेका पत्रकारलाई मासिक बृत्ति दिने गरी कोष स्थापना गर्ने तयारी । कल्याणकारी कोष मार्फत पत्रकारहरुको हकहितका लागि कार्य गर्ने गरी १५ लाख रुपैयाँको कोष बृद्धि गर्ने तयारी महासंघले गरेको छ ।
बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाले कार्यकालका लागि तीन वर्ष रणनीतिक योजना तयार गरेको छ । कार्य समिति सहित पुर्व अध्यक्ष तथा संगठनका अध्यक्ष तथा प्रतिनिधी सम्मिलित भेलाले रणनीतिक योजना तयार गरेको हो ।
अध्यक्ष विनोद न्यौपानेले महासंघले संस्थागत विकाससँगै संचारकर्मी र संचारमाध्यमहरुको क्षमता विकासका लागि आवश्यक पहल गर्ने बताए । पत्रकारिता क्षेत्रलाई ब्यवस्थित र मर्यादित बनाउँदै जेष्ठ पत्रकारहरुका लागि अलग्गै ब्यवस्था गर्ने बताए । ‘६५ वर्ष पुगेका जेष्ठ पत्रकारका लागि मासिक बृत्ती विकास प्रदान गर्न कोष स्थापना गर्ने, कल्याणकारी कोषमा रकम बृद्धी गरी १५ लाख पु¥याउने गरी कार्ययोजना तयार गरिएको छ’–अध्यक्ष न्यौपानेले भने–‘पत्रकारसँग सम्वन्धीत विभिन्न संगसंगठनसँगको सहकार्य र समन्वयलाई विशेष जोड दिदै स्थानीय सरकारसँग समेत सहकार्य गरी मिडिया क्षेत्रका विषयलाई सशक्त र प्रभावकारी बनाउन पहल गरिनेछ ।’
पत्रकार महासंघ काभ्रेको भवन निर्माणलाई चाँडो भन्दा चाँडो सम्पन्न गर्ने, वेभसाईट निर्माण गरी पुरा अभिलेख सहित महासंघका सम्पूर्ण गतिविधि र जानकारी प्रकाशन गर्ने, बर्षको दुई पटक विभिन्न संघ संस्था तथा स्थानीय सरकारसँगको सहकार्यमा पत्रकारहरुका लागि क्षमता अभिबृद्धि तालिम संचालन गर्ने अध्यक्ष न्यौपानेले बताए । बेसिक लेभलको तालिम भन्दा फरक विद्यागत रुपमा आर्थिक, खोज, रेडियो, टिभी एवं अनलाईन पत्रकारिता तथा मल्टिमिडियाका बारेमा तालिम प्रदान गरिनेछ । दुर्घटना बीमा, स्वास्थ्य बीमा लगायतका कार्यहरु तदारुकता साथ अघि बढाईने छ । दस्तावेजहरुको संग्रह, अभिलेख स्थापना लगायतका कार्यहरु आयोजना गरिने अध्यक्ष न्यौपानेले बताए ।
कार्यक्रममा पूर्व अध्यक्षहरु भोजराज तिमल्सिना, ईश्वरी ओझा, भोला थापा, महेश पौडेल, नारायण सापकोटा, मोतीराम तिमल्सिना, निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, प्रेस चौतारीका अध्यक्ष भुवन रायमाझी, अग्रज पत्रकार मधुसुदन गुरागाई लगायतले पत्रकार महासंघ ब्यवसायीक रुपमा सक्षम र शशक्त हुनुपर्ने बताउँदै पत्रकारहरुको हकहित र एकतामा ध्यान दिन नयाँ समितिलाई सुझाव दिएका थिए ।









