2026 August 09/ 02:51: 06pm

धुलिखेल, रवि/साना किसान कृषि सहकारी संस्था लिमिटेड धुलिखेल २ रविको २० औ बार्षिक साधारण सभा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    अध्यक्ष सालिकराम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्णहरी कोईरालाले स्वागत मन्तब्य राखेका थिए । अध्यक्ष सालिकराम न्यौपानेले संस्थाका गतिधिी तथा आगामी योजनाका बारेमा सदस्यहरुलाई जानकारी गराएका थिए । १ हजार १ सय ३० शेयर सदस्य रहेको उक्त सहकारी महिला ५ सय ७८ र पुरुष ५ सय ५२ रहेका छन् । सहकारीले ४ करोड २१ लाख २१ हजार १ सय २७ रुपैयाँ ऋण लगानी गरेको छ । १ करोड ६० लाख शेयर पुँजी रहेको उक्त सहकारीले बार्षिक कारोवार २३ करोड १८ लाख ५३ हजार रुपैयाँको गरेको छ । लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक निरञ्जन गेलालले प्रस्तुत गरेका थिए ।
    पशु प्रर्वद्धन कार्यक्रम, सहकारी शिक्षा शिविर, स्थापना दिवस, पुशधन सुरक्षण लगायतका कार्यक्रमहरु मार्फत शेयर सदस्यहरुलाई सुविधा उपलब्ध गराएको सहकारीले आगामी वर्ष २९ बुँदे कार्यक्रम संचालन गर्ने कार्ययोजना प्रस्तुत गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले सहकारी मार्फत नागरिकहरुको आर्थिक समृद्धी हासिल गर्न स्थानीय सरकारले समन्वयकारी भूमिका र कार्यक्रमहरु आयोजना गर्ने बताए । कार्यक्रममा वडा अध्यक्ष अर्जुन न्यौपाने, राष्ट्रिय सहकारी बैक बनेपाका प्रमुख उपेन्द्र दाहाल, जिल्ला सहकारी संघका संचालक सदस्य पूर्णकुमार रञ्जित, सल्लाहकार समिति संयोजक देवप्रसाद कोईराला, सेतिदेवी दुग्ध उत्पादक सहकारीका अध्यक्ष विदुर कोईराला लगायतले सहकारीले गर्नु पर्ने कामका बारेमा शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट बाल बचत, शेयर सदस्य, एसईई उर्तिण विद्यार्थी, ऋणी, बचतकर्ता लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम संचालन रमेश घोरासाईनेले गरेका थिए ।