2026 August 08/ 12:37: 50pm

    पनौती/पनौती नगरपालिका वडा नम्वर ४ मा मुख्य कार्यालय रही काभ्रेपलाञ्चोक र काठमाडौ उपत्यका भित्रका विभिन्न १८ वटा सेवा केन्द्रहरु मार्फत ६० हजार शेयर सदस्यहरुको ६ अर्ब १४ करोडको कारोवार गरिरहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औं सभा शनिबार विभिन्न ईकाईमा आयोजना गरिएको छ । 
    सहकारीले एक वर्षको अवधीमा ४ करोड ४९ लाख ६६ हजार ३ सय ८१ रुपैयाँ कर बुझाएको छ । जोखिम ऋण ब्यवस्थापन कोषमा ७ करोड ३५ लाख ७ हजार रुपैया जम्मा गरिएको छ । ४० प्रतिशत सदस्यले सहकारीबाट ऋण लिएका छन् । संस्थामा १ सय ३४ कर्मचारी कार्यरत रहेकोमा चालु वर्षका लागि २४ जना थप गरिएको छ । जिल्लामा धेरै सदस्य, धेरै कारोवार र धेरै कर तिर्ने संस्थाका रुपमा सामुदायिक सहकारीलाई चिनिन्छ । आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । आर्थिक वर्ष २०८०÷२०८१ को अन्त्यसम्ममा संस्थाले सबै खर्च कटाएर १२ करोड ३८ लाख ३७ हजार ४ सय ६९ रुपैया मुनाफा गरेको छ । 
    एकै दिन सात वटा एकाईमा आयोजना गरिएको सभाको मुख्य कार्यालय पनौतीमा नगर उपप्रमुख गिता बञ्जारको प्रमुख आतिथ्यता र अध्यक्ष प्रकाश बञ्जाराको अध्यक्षतामा सम्पन्न गरिएको थियो । संस्थाका सल्लाहकारहरु, वडा अध्यक्षहरु दिपकप्रसाद दाहाल, बेदप्रसाद बञ्जारा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, निर्वाचन समिति संयोजक एवं सहकारीकर्मी इन्द्रप्रसाद अधिकारी, शम्भुलाल श्रेष्ठ, नेफ्स्कूनका गणेशप्रसाद तिमल्सिना लगायतले सामुदायिक सहकारीले आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा शुभकामना दिएका थिए । 
    सभामा संस्थाको बार्षिक प्रतिवेदन, प्रगति प्रतिवेदन, लेखा प्रतिवेदन र ऋण समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म ५२ करोड ३६ लाख ९८ हजार ९ सय शेयर पुँजी संकलन गरेको छ । जगेडा कोषमा ४२ करोड ९७ लाख ४७ हजार ६ सय ६० रहेको छ भने अन्य कोषमा २६ करोड ३९ लाख २६ हजार ६ सय ४० रुपैया रहेको छ । ४ अर्ब ५० करोड ८ लाख ५ हजार ३३ रुपैया बचत रहेको छ । ४ अर्ब ३५ करोड १६ लाख ९० हजार ४ सय ८९ रुपैया रहेको छ । संस्थाले ६८ करोड ९८ लाख ७१ हजार ८ सय ३ रुपैया आम्दानी गरी ५६ करोड ६० लाख ३४ हजार ३ सय ५५ रुपैया खर्च गरेको छ । जसमध्ये १२ करोड ३८ लाख ३७ हजार ४ सय ६९ रुपैया रहेको छ । स्थीर सम्पति ४९ करोड ७ लाख २८ हजार ३ सय ७१ रहेको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिए । 
    संस्थाले शुरु गरेको स्वास्थ्य बचत खातामा आबद्ध भएका मध्ये १ हजार ९२ जनाले सदस्य स्वास्थ्य उपचार अन्र्तगत ५८ लाख १४ हजार ५ सय रुपैया प्राप्त गरेका छन् । १ सय २७ जना शेयर सदस्यको निधन भएकाले संस्था मार्फत १९ लाख ६७ हजार ५ सय भुक्तानी गरिएको छ । त्यस्तै एकाघरका सदस्यहरुको निधन भएका शेयर सदस्यहरु २ सय ६० जनाले १४ लाख ६६ हजार रुपैयाँ प्राप्त गरेका छन् । कुल ३४ लाख ३३ लाख ५ सय भुक्तानी गरिएको बस्नेतले जानकारी दिए । 
    विपत्तिमा परेका १९ जनालाई १ लाख १३ हजार, स्वास्थ्य उपचार कोष मार्फत ३ सय १८ जनालाई २१ लाख ५७ हजार ४ सय र सामाजिक विकास कोष मार्फत ४१ जनालाई गम्भीर प्रकृतिका रोग लागेको अवस्थामा ६ लाख ८ हजार भुक्तानी गरिएको छ । सामाजिक उत्तरदायित्वका २९ वटा कार्यक्रम आयोजना गरिएका छन् । जसमा ४ लाख ३८ हजार ३ सय ९३ रुपैयाँ खर्च भएको छ । 
निर्विरोध नयाँ नेतृत्व 
    १९ सदस्यीय संचालक र ३ सदस्यीय लेखा समितिका लागि परेका उम्मेदवारी केहि खारेज र केहि फिर्ता भए पछि सबै पदमा सर्वसम्वत भएको हो । प्रकाश बञ्जाराले लगातार लामो समय संस्थाको नेतृत्व गरेका थिए । उनको कार्यकालमा संस्थागत पुँजी, सदस्य संख्या र कारोवार तथा पुँजी बृद्धि मात्रै भएन । जिल्लाकै शानका रुपमा संस्थाले छविलाई उचो बनायो । संस्थागत विकास, सुशासन र पारदर्शिताका लागि उनी सफल भए । 
    अध्यक्ष पदमा मुकुन्द शर्मा, बरिष्ठ उपाध्यक्षमा सुर्य मानन्धर, उपाध्यक्षमा भवानी थापा निर्विरोध भएकी छिन् । सचिव पदमा सरोजकुमार तिमल्सिना निर्विरोध भएका छन् । कोषाध्यक्षमा कृष्ण थापा निर्विरोध भएका छन् । संचालक सदस्यहरुको खुल्ला ८ पदका लागि २४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा  विकास पन्त, श्याम सापकोटा, रामकृष्ण घिमिरे, रामप्रसाद तिमल्सिना, रामेश्वर शर्मा वाग्ले, मदन खकुरेल,  भैरवप्रसाद सेढाई, कौशलराज खड्का रहेका छन् । महिला सदस्य संगिता खड्का, बविता बोहोरा, देवकी आचार्य र अनिता कार्की छन् । संचालक सदस्य दलित तथा जनजातीमा सुम्मिता नेपाली निर्विरोध भएकी छिन् । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा राजन श्रेष्ठ निर्विरोध भएका छन् । सदस्य पदमा भिमप्रसाद बञ्जारा निर्विरोध भएका छन् । महिला सदस्यमा उम्मेदवार कायम हुन सकेन । उक्त पद पछि संचालक समितिले मनोनित गर्नेछ ।