तीन नगरपालिकाको साझा सडक
बनेपा/पुण्यमाता खोलाको दाँया बायाँ बगैंचा सहितको करिडोर सडक निर्माण कार्य शुरु गर्न तीनवटा नगरपालिकाले बनाएको योजना कार्यान्वयन हुन थालेको छ ।
पुण्यमाता खोलाको सिमांकन, सडक ग्राभेल सँगै बगंैचा निर्माण कार्य गरी बैकल्पिक मार्ग संचालन हुन थालेको छ । पनौती नगरपालिकाले पहिलो चरणमा त्रिवेणीघाटबाट बनेपासम्मको ६ किलोमिटर पुण्यमाता करिडोरको निर्माण कार्य शुरु गरेको छ । खोलाको सिमांकन कायम गरी सिमांकन अनुसार पुरिँदै गएको खोला खोल्ने काम भईरहेको छ । ६ मिटर देखि २२ मिटरसम्म खोलाको चौडाई छ । ६ मिटरको चौडाईलाई ८ मिटरसम्म बनाईनेछ । पहिलो चरणमा खोलाको सिमांकन सम्पन्न गरी खोला खोल्ने र एकातर्फ ग्राभेल गर्ने कार्य शुरु भएको नगर प्रमुख भिम न्यौपानेले बताए । पनौतीको दुध मिल देखि धुलिखेलको सिमानासम्म गाडी चल्ने गरी एकातर्फ १० मिटरको सडक निर्माण हुनेछ । पनौती नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भए लगत्तै पुण्यमाता करिडोरमा बैकल्पिक मार्ग बनाउने उदेश्यले टिपरसँग ५ सय रुपैयाँ उठाउन शुरु गरिएको थियो । करिडोर निर्माणका लागि ७ करोड बजेट विनियोजन गरिएको छ ।
खोलाको सिमांकन अनुसार पुरिएको खोल्न उपभोक्ता समिति मार्फत काम शुरु भएको छ । ईश्वर बञ्जाराको अध्यक्षतामा गठन भएको समितिलाई ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्रिवेणीघाट देखि धुलिखेलसम्मको खोला खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ । खोलाको सिमाना कायम गरी खोलाबाट १५÷१५ मिटरको मापदण्ड अनुसार मात्रै संरचना निर्माण गर्न पाईनेछ । अगाडीको सडकको मापदण्ड र पछाडी खोलाको मापदण्डको बीचमा परेका केहि सडकहरुलाई भने ब्यवहारत जग्गा क्षति नपु¥याउने तयारी गरेको छ । पुण्यमाता करिडोर खोलाको सिमाना १५ मिटर कायम गरिएको छ । पुण्यमाता करिडोरमा ग्याभिङ्ग तार भर्ने, ग्राभेल भर्ने र हिमपाईप र कल्भर्ट बनाउने योजना छ । करिडोरमा भत्किएका तीनवटा घाटेपाटीको पुनर्निर्माण समेत नगरपालिकाले गरिदिएको छ ।
पनौती नगरपालिकाले पहिलो चरणको कार्य सम्पन्न भए लगत्तै दोश्रो चरणमा दुध मिलबाट त्रिवेणी आसपासका घर तथा अन्य संरचनाको सिमांकनका लागि नापी कार्यालयलाई जिम्मेवारी प्रदान गरेको छ । नापी कार्यालयको टोलीले दिएको प्रतिवेदनका आधारमा खोला सिमानामा बनाईएका संरचनाहरु भत्काईनेछ । २०७६ सालमा आउन लागेको मकर मेलाको तयारी तथा ब्यवस्थापनका लागि समेत नगरपालिकाले पार्क निर्माण, रंगशालाको निर्माण कार्य सम्पन्न र करिडोरको कार्यलाई पुर्ण गर्ने योजना बनाएको नगर प्रमुख न्यौपानेले बताए । उपभोक्ता समितिको कार्य सम्पन्न भएपछि बाँकी कार्य ठेक्कामा दिने वा पुनः उपभोक्ता समिति मार्फत गराउने भन्ने छलफल भईरहेको छ । पनौती करिडोर निर्माणको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्का लगायतले अनुगमन गरेका थिए ।
उता धुलिखेल नगरपालिकाले पनि आफ्नो सिमानामा पर्ने पुण्यमाता करिडोर खोल्ने तयारी गरेको छ । त्यसका लागि बजेट विनियोजन भई कार्य प्रारम्भ गर्न लागिएको उपप्रमुख विमला शर्माले बताईन् । सिमांकन लगत्तै निर्माण कार्य शुरु गर्ने उपप्रमुख शर्माले बताईन् ।
बनेपा नगरपालिकाले पनि आफ्नो सिमानामा पर्ने करिडोर निर्माणका लागि ३९ लाख रकम विनियोजन गरी कार्य प्रारम्भ गरेको छ । वडा अध्यक्ष शिव थापाको संयोजकत्वमा गठन भएको करिडोर निर्माण तथा सिमांकन समितिमा सिमानाका सबै वडा अध्यक्षहरु सहभागि छन् । प्रदेश सरकार र केन्द्र सरकारले पनि करिडोरका लागि रकम विनियोजन गरेका छन् । नाला, साँगा देखि बनेपा क्षेत्रको पुण्यमाताको सबै क्षेत्रमा करिडोर निर्माण गरी पार्क सहितको बगैचा बनाउने तयारी नगरपालिकाहरुले गरेका छन् । पुण्यमाता करिडोरको तीनवटै नगरपालिकाले कार्य सम्पन्न गरेपछि बैकल्पिक मार्गका रुपमा उक्त सडक संचालन हुनेछ । अरनिको राजमार्ग तथा सहायक राजमार्गको सवारी चाप र ट्रिपर ब्यवस्थापनलाई समेत उक्त मार्गले सहज बनाउनेछ भने बस्ति विस्तार र जग्गाको ब्यवस्थापन, खोला अतिक्रमण हुँदा बाढीमा बस्ति डुबानका समस्या समाधान हुने अपेक्षा गरिएको छ ।





