2026 June 25/ 08:42: 28pm

अमेरिकी डलरको प्रलोभनमा ठगी गर्ने गिरोह 
    धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले डलर देखाएर ठगी गर्ने ठूलो गिरोहका सदस्यहरुलाई पक्राउ गरेको छ । डलर भन्दै कागज देखाएर नेपाली १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो । 
    पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला साविक गढी गा.वि.स. वडा नम्वर ४ हाल बाह्रबिसे नगर पालिका वडा नम्वर ५ बस्ने ३८ बर्षीय श्रीखण्ड तामाङ, सोहि ठेगाना घर भई काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नम्वर २ मा डेरा गरी बस्ने हर्क तामाङ, बाह्रविसे नगरपालिका वडा नम्वर ५ कै ४७ बर्षीय चैते भनिने बुद्धिबहादुर तामाङ र ६० बर्षीय गोविन्द तामाङ रहेका छन् । श्रीखण्ड तामाङलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बनेपा नगरपालिका वडा नम्वर ८ बाट असोज १८ गते आईतबार पक्राउ गरेको थियो । उनकै बयानका आधारमा प्रहरीले गिरोहका अन्य सदस्यहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनु्भयो । हर्कलाई आफ्नै डेराबाट प्रहरीले असोज १८ गते साँझ नै पक्राउ गरेको थियो । चैते भनिने बुद्धि र गोविन्दलाई सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका ५ साँगाचोकबाट पक्राउ गरेको एसपी पौडेलले बताउनु भयो । 
    सस्तो मुल्यमा अमेरिकी डलर सटही गरी दिन्छु भनि ठगी गर्ने गिरोहलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को ठगी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद लिएको एसपी पौडेलले बताउनु भयो । नुवाकोट जिल्ला साबिक गाउँखर्क गाबिस वडा नम्वर ८ हाल दुप्चेश्वर गाउँपालिका वडा नम्वर २ को कुटुमसाङ बस्ने पेन्जोम शेर्पालाई २०७७ असार २० गते अपरिचित व्यक्तिले फोन गरी अमेरिकी डलर १७ हजार भेट्टाएको र सस्तो मुल्यमा उपलब्ध गराउने बताएका थिए । पटक पटक फोन सम्पर्क गरि बिभिन्न किसिमको प्रलोभन देखाई मोल मोलाई गरी २०७७ साउन १२ गते दिउँसो १२ बजे काभ्रेको पाँचखाल नगरपालिका वडा नम्वर ४ को लामीडाँडामा नुवाकोटबाट बोलाई भेट गरी तत्काल १० लाख दिई बाँकी पैसा पछि दिने भनि रुमालमा बाँधिएको अमेरिकी डलर भनिएको पोको दिई तत्काल पोको नखोल्नुस् अरुले देख्यो वा प्रहरीले थाहा पाएमा तपाई र हामीलाई अप्ठ्यारो पर्छ भन्दै १० लाख लिई फरार भएको र उक्त डलर भनि दिएको रुमाल खोली हेर्दा रुमाल भित्र काटिएको कागजको बिटा मात्र फेला परेको भन्दै शेर्पाले प्रहरीकोमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनु भयो । डिएस्पी थापाका अनुसार प्रहरीले ठगिमा परेका पीडितहरुको बयान र जाहेरीका आधारमा पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरिरहेको बताउनु भयो । 
    प्रहरीले पक्राउ गरेको उक्त गिरोहले काठमाडौ उपत्यका लगायत अन्य जिल्लाहरु समेतमा पटक पटक डलरको प्रलोभन देखाई फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनिहरुबाट ठगिएका अन्य ब्यक्तिहरुलाई समेत सम्पर्कको प्रयास गरिरहेको छ । प्रहरी प्रमुख एसपी पौडेलले प्रहरीको अथक प्रयासबाट ठगि गर्ने गिरोह पक्राउ गरेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय काभ्रेले यसअघि फरार अपराधी पक्राउ गरी १२ करोड राजश्व संकलनका लागि अदालतमा बुझाएको थियो भने अन्य अपराधका घटनामा पनि अभियुक्तहरुलाई तत्काल पक्राउ गरेको थियो । प्रहरीको सक्रियताले अपराधमा संलग्न ब्यक्तिहरु धमाधम पक्राउ परेका हुन् ।