2026 June 25/ 08:42: 11pm

    बनेपा÷एसओएस बालग्रामले संरक्षण गरेका सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकाको लिदीमा गएको पहिरो तथा विभिन्न स्थानबाट उद्धार गरी ल्याईएका अभिभावक विहिन बालबालिकाहरुलाई दाताहरुले सहयोग गरेका छन् ।
    शनिबार एकैदिन बालग्राममा रहेका ११ जना बालबालिकाहरुलाई सहयोग गरेको बालग्रामका तुलसीरत्न जुजुले बताउनु भयो । बालग्रामले संरक्षण गरेका बालबालिकाहरुलाई शिक्षा र हेरचाहसँगै युवा अवस्थामा सक्षम भएसँगै समाजमा पुर्नस्थापना गर्दै आएको छ । एसओएस बालग्रामले विपत्ति तथा अन्य कारणबाट अभिभावक गुमाएका बालबालिकाहरुको संरक्षण गर्दै आएको छ भने अभिभावक नभएका तर आफन्त भएकाहरुलाई समाजमा पुर्नस्थापनाका लागि सहयोग पु¥याउँदै आएको छ । एसओएस बालग्राम काभ्रेले १४ वटा घरमा ८–१० जनाका दरले १ सय ४० जना बालबालिकाहरु संरक्षण गर्दै आएको छ । जन्मेदेखि १७ वर्ष उमेरसम्मका बालबालिकाहरु उक्त घरमा बस्नेछन् भने युवा भए पछि युवालयमा राखिनेछ । नेपालमा रहेका १० वटा बालग्राममा १ हजार १ सय ८० जना बालबालिकाहरु संरक्षणमा छन् । ७ सय ४३ युवालयमा छन् । 
    शनिबार संघिय सांसद गंगाबहादुर दोङ्ग, पुर्व राज्य मन्त्री सुर्यमान दोङ्ग, अन्तराष्ट्रिय तामाङ परिषद् पुर्वी एशियाका उपाध्यक्ष अस्मिता वाईवा, नेपाल तामाङ घेदुङ्ग संघका बागमती प्रदेश सचिव हरिश्चन्द्र लामा, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का बरिष्ठ उपाध्यक्ष विकास लामा, नेपाल तामाङ घेदुङ्ग संघ काभ्रेका अध्यक्ष फुर्साङ्ग तामाङ, धुलिखेल नगरपालिका वडा नम्वर ४ का अध्यक्ष रविन्द्र कर्माचार्य, समाजसेवी खाईवा लामा, दिलिप घिसिङ्ग, नेपाल तामाङ घेदुङ्ग संघका जिल्ला सदस्य शर्मिला थिङ्गले बालग्राममा रहेका ११ जना बालबालिकाहरुलाई सहयोग गर्नु भएको हो । बार्षिक ७ हजार २ सय रुपैया बालबालिकाहरुको रेखदेका लागि उपलब्ध गराउनु हुनेछ । बालबालिकाहरुले आफ्नो अभिभावक गुमाए पनि अभिभावक छैन भन्ने महसुस हुन नदिन बालग्रामले संरक्षण गरिरहेको छ । ३ सय ६५ दिन नै आमाहरुले उनिहरुको स्याहार सुसार गर्दै आउनु भएको छ । बालबालिकाहरुको शिक्षा, दिक्षा र सक्षम बनाउन एसोएसबालग्राम निरन्तर लागिरहेको छ । 
    सहयोग गर्नेहरुले बालबालिकाहरुको अनुहारमा खुशी ल्याउन बालग्रामले गरेको निरन्तरको प्रयासमा थोरै सहयोग गर्ने बताउनु भएको थियो । ८ जना भन्दा धेरै बालबालिकाहरुलाई सहयोग गर्ने समाजसेवी खाईवा लामाले पीडा सहन नसकेर बालबालिकहरुको सहयोग थप्दै गएको बताउनु भयो । २४ वर्ष देखि बालबालिकाहरुको आमा बनेर स्याहार गरिरहनु भएका बालग्रामका आमाहरुले २४ वर्ष २४ सेकेण्ड जस्तै भएको अनुभव सुनाउनु भयो । आमाहरु नारायणी शर्मा, इन्द्रकुमारी राई, तारा पौड्याल, विजया पोखरेल, निर्मला आचार्य लगायतका आमाहरुले निरन्तर बालबालिकाहरुको स्याहार गर्दै आउनु भएको छ । बालग्राममा जन्मेको ७ दिन देखिका बालबाकिलाहरु संरक्षणमा रहेको निर्देशक सुरेन्द्र अमगाईले जानकारी दिनुभयो । 
कार्यक्रममा विद्यालयका प्रिन्सिपल नरेश्वर आचार्य लगायतले बालबालिकाहरुको शिक्षा, दिक्षा र सक्षम बनाउन गरिएको प्रयासमा सहयोग गरेकोमा धन्यवाद दिनु भयो ।