बनेपा/कोरोना भाईरसका कारण ६ महिना लामो लकडाउन पछि सुस्त सुस्त खुलेको बजार अझै नियमित हुन सकेको छैन । उपत्यका र देशभर संक्रमणको दर बढिरहेको अवस्थामा नजिकिएको दशैमा आश र त्रास दुबै बढेको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा पनि दैनिक संक्रमण बढिरहेको छ । केहिको निधन पनि भएको छ । ब्यवसाय संचालन भए पनि सर्वसाधारणहरु ढुक्क भएर बजारमा किनमेल गर्ने अवस्था बनेको छैन । ब्यवसायीहरु सचेत भए पनि ग्राहकहरुले कोरोनाको जोखिम न्यूनिकरण गर्ने उपाय पूर्ण रुपमा पालना गर्न सकेको अवस्था छैन । ‘संक्रमण बढिरहेको छ, सर्वसाधारणलाई सुरक्षित भएर दैनिक कार्य गर्न अनुरोध गरिरहेका छौं’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘सचेतनासँगै रोगसँग लड्ने क्षमता बढाउन र नागरिकहरुलाई सचेत रहन अनुरोध गरिरहेका छौं ।’ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विरामीहरुमा कोरोना संक्रमणको जोखिम धेरै छ ।
गर्भवती, सुत्केरी तथा दीर्घ रोगीहरुलाई पनि कोरोना संक्रमणको जोखिम बढिरहेको छ । जिल्ला कमाण्ड पोष्ट र स्थानीय सरकारले कोभिड नियन्त्रणका लागि खेलिरहेको भूमिकाले कोरोना नियन्त्रण सहज बनिरहेको छ । होम आईसोलेसन, अस्पतालमा रहेका विरामीहरुको नियमित रेखदेख तथा परिक्षणको कार्यलाई पनि तिब्र पारिएको छ । स्थानीय सरकारले नागरिकहरुको सुरक्षासँगै विकास निर्माणका कार्यलाई पनि अघि बढाएका छन् । नागरिकहरुमा दशैं नजिकिदै जाँदा आश र त्रास दुवै बढिरहेको छ । काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले दशंै तथा तिहार लगायतका महत्वपूर्ण चाड र महामारीका बेला पनि खाद्यान्न अभाव हुन नदिन, कालोबजारी रोक्न कार्य गरिरहेको बताउनु भयो ।









