कोरोनाबाट २, आत्महत्या गरी ४२ को मृत्यु
मोतीराम तिमल्सिना
धुलिखेल
मुलुक कोरोना भाईरसको चपेटामा छ । विश्व आक्रान्त भएका बेला नेपालमा संक्रमण फैलँदो अवस्थामा छ । समुदायमा प्रवेश गरेको संक्रमणबाट नागरिकहरुले ज्यान गुमाउन थालेका छन् । तर कोरोना संक्रमण भन्दा अन्य रोग तथा घटनाका कारण नागरिकहरुले ज्यान गुमाएका छन् ।
जिल्लाको तथ्याङ्क अनुसार कोरोना संक्रमणका कारण दुई नागरिकले ज्यान गुमाएका छन् । उनिहरुमा अन्य प्रकारका रोग पनि थिए । तर कोरोना भन्दा धेरै जिल्लामा विभिन्न घटनाका कारण धेरैले ज्यान गुमाएका छन् । चैत्र ११ गते देखि सरकारले गरेको लकडाउनका बीचमा जिल्लामा थुप्रै घटना भएका छन् । ६ महिनाको बीचमा जिल्लामा ६० जनाले ज्यान गुमाएका छन् । कोरोनाको संक्रमणबाट बच्न गरिएका प्रयासहरुले अन्य नागरिकहरुलाई प्रभावित बनाएको छ । जिल्लामा सबै भन्दा धेरै आत्महत्याका घटना छन् । आत्महत्याका कारण ४२ जनाले ज्यान गुमाएका छन् । जिल्लामा झुण्डिएर मर्नेहरुको संख्या ३१ रहेको छ भने ११ जनाले विष सेवन गरेर ज्यान गुमाएका छन् । भवितब्य ज्यान जानेहरुको सख्या ७ छ । ज्यान गुमाउनेहरु मध्ये ४७ पुरुष, १७ महिला, ५ बालक र १ बालिका रहेका छन् । कतब्र्य ज्यान मुद्दामा २ जनाले ज्यान गुमाएका छन् भने करेन्ट लागेर १, लडेर ४, डुबेर मृत्यु ४, सवारी ज्यानमा ३, आगलागीबाट निधन हुनेहरुको संख्या ३ रहेको छ । फुटकर ज्यान जानेहरुको संख्या ३ र सवारी भवितब्यमा १ गरी जिल्लामा लकडाउन शुरु भए पछि भदौ १५ सम्म ६ महिनाको अवधीमा ६० जनाले ज्यान गुमाएका छन् ।
लकडाउन अवधीमा जुवा सम्वन्धी १, जर्बजस्ति करणी उद्योगमा ३, जर्बजस्तिकरणी ५ वटा घटना दर्ता भए । ९० वटा घटना दर्ता भएकोमा अभद्र ब्यवहारमा १६, चोरी तथा डाँका सम्वन्धी ३, ठगी सम्वन्धी १, हातहतियार खरखजना १, बहुविवाह १, बैकिङ्ग कसुर १, सवारी अङ्गभङ्ग ४ वटा मुद्धा दर्ता भएका छन् । ९० वटा घटनामा ५५ जना पक्राउ परेका छन् । ५१ पुरुष र ४ महिला रहेका छन् भने ५ पुरुष र २ महिला गरी ७ जना फरार छन् ।
स्पाईनल इन्जुरीमा १ सय ४ संक्रमित
बनेपा नगरपालिका वडा नम्वर १३ साँगामा रहेको स्पाईनल इन्जुरी अस्पतालमा एकै दिन शनिबार प्रादेशिक प्रयोगशाला धुलिखेलमा गरिएको परिक्षणमा ३६ जना संक्रमित थपिएका छन् । अस्पतालमा संक्रमित हुनेहरुको संख्या १ सय ४ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।
स्पाईनल इन्जुरीमा कार्यरत १७ जना कर्मचारी, तालिमकर्ता ११ जना, विरामी र विरामी कुरुवा ७२ जना, क्यान्टिनमा कार्यरत ४ जना गरी १ सय ४ जना संक्रमित भएका छन् । जस मध्ये ६५ पुरुष र ३९ महिला रहेका छन् । जस मध्ये शिर मेमोरियलमा अस्पतालमा १ जना, नेपाली सेनाको अस्पतालमा १ जना, होम आईसोलेसनमा ६ जना रहेका छन् । बाँकी सबैलाई अस्पतालले उपचार गराईरहेको छ । अस्पतालको सम्पर्कमा रहेका स्थानीयहरु १२ जनामा संक्रमण देखिएको छ । जिल्लामा संक्रमित हुनेहरुको संख्या २ सय ५८ पुगेको छ ।
स्पाईनल इन्जुरी अस्पतालमा पहिलो पटक भाद्र २ गते एक जना कर्मचारीमा संक्रमण देखिएको थियो भने भदौ ३ गते अर्का एक स्वास्थ्कर्मीमा संक्रमण देखिएको थियो । भदौ ६ गते थप २३ जनामा संक्रमण देखिएसँगै उक्त अस्पतालमा २५ जना संक्रमित भएका थिए । भाद्र १० गते १२ जना विरामीमा संक्रमण देखिएको थियो । त्यहि दिन स्थानीयहरु १० जनामा संक्रमण देखिएको थियो । त्यहि भित्र जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको परिवारका ७ सदस्यमा कोरोना पुष्टी भएको थियो । भाद्र ९ गते साँगा घर भएका एक परिवारका पाँच जना सदस्यहरुमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले संक्रमण फैलिएको र नियन्त्रणका लागि स्वास्थ्कर्मीहरुको टिम परिचालन गरिएको बताउनु भयो । समुदाय र नागरिक समाजको सहयोगमा मात्र संक्रमण नियन्त्रणमा लिन सकिने भएकाले सचेत रहन डा. झाले आग्रह गर्नु भयो ।
पुर्व राज्यमन्त्री संक्रमित
काभ्रे जिल्लाबाट पुर्व राज्यमन्त्री भएका एक ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौमा उपचार गराईरहनु भएका उहाँमा भदौ १० गते टेकु स्थित प्रयोगशालमा गरिएको परिक्षणमा संक्रमण पुष्टी भएको हो । पुर्व राज्यमन्त्रीमा देखिएको संक्रमण निको भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार पुर्व राज्य मन्त्रीमा भाद्र १० गते कोरोना संक्रमण पुष्टी भएको हो । काठमाडौमा उपचारार्थ उहाँसँग नजिक रहेका ब्यक्तिहरुको खोजी गर्ने र परिक्षण गरिएको डा. झाले बताउनु भयो । ५३ बर्षिय पुर्व राज्यमन्त्रीलाई तीन दिन देखि आईसियुमा राखेर उपचार भईरहेको छ । घरमा पनि ज्वरो आएर केहि दिन देखि सलाईन लगाईएको थियो । विभिन्न रोगको उपचार गराई आराम गराई रहनु भएका उहाँको अवस्था सामान्य हुँदै गएको परिवारका सदस्यले बताएका छन् । उनी २०७७ साउन ३२ गते अस्पताल भर्ना हुनु भएको थियो ।
समन्वय समिति प्रमुख निको हुँदै
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको परिवारमा देखिएको संक्रमण निको हुँदै गएको छ । समन्वय समितिका प्रमुख उद्धव केसीलाई भदौ ९ गते संक्रमण देखिएको थियो । त्यस अघि उहाँको परिवारको सदस्यमा स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत रहँदा भदौ ६ गते संक्रमण देखिएको थियो । ७ जनाको परिवारमा कोरोना देखिएको थियो ।
बनेपा १३ मा १३८ संक्रमित
बनेपा नगरपालिका वडा नम्वर १३ मा १ सय ३८ जना ब्यक्तिहरु संक्रमित भएका छन् । स्पाईनल इन्जुरी अस्पतालमा मात्रै १ सय ४ जना संक्रमित भएका छन् । बनेपामा संक्रमणको दर बढिरहँदा सोहि वडा संक्रमणको केन्द्र बनेको छ ।
जेष्ठ नागरिक र बालबालिका प्रभावित
कोरोनाको संक्रमणले बालबालिका र जेष्ठ नागरिक प्रभावित भएका छन् । बुधबारसम्मको तथ्याङ्कमा १४ जना बालबालिकाहरु प्रभावित भएका छन् । जसमा बालक ९ जना र बालिका ५ जना छन् । जेष्ठ नागरिक ५ जना छन् । संक्रमित मध्ये धेरै पुरुष छन् भने महिलाको संख्या एक सय नाघेको छ ।
काभ्रेमा संक्रमणको अवस्था (२०७७ भदौ १७)
संक्रमित संख्या
महिला – १०९
पुरुष– १७७
जम्मा– २८६
बालबालिका
बालक– ९
बालिका– ५
जेष्ठ नागरिक (६० वर्ष माथी) – ५ जना
अपा·ता भएका ब्यक्ति – ३२
सुत्केरी महिला– ६ जना
संक्रमित समुह
जनप्रतिनिधि– २
स्वास्थ्यकर्मी– ६०
प्रहरी – २२
कानुन ब्यवसायी – १
संचारकर्मी– १
कर्मचारी– २
बैदैशिक रोजगारबाट फर्किएका– २५
अस्पतालमा विरामी – ९४
समुदायमा रहेका सर्वसाधारण– ७९
संक्रमण जितेर निको भएका – १०९
पालिका स्तरमा संक्रमित
बनेपा– १६७
धुलिखेल – ६४
पनौती– १३
पाँचखाल– ९
नमोबुद्ध– ६
मण्डनदेउपुर– ३
भुम्लु– १४
रोशी– ५
बेथान्चोक– १
तेमाल – २
महाभारत– २
खानीखोला– ०
होम आइसोलेसन र अस्पतालहरुमा उपचार गराइरहेका संक्रमितहरुको विवरण
बनेपा नगरपालिका – १२७
धुलिखेल नगरपालिका – ३१
पनौती नगरपालिका – ४
पाँचखाल नगरपालिका – ४
भुम्लु गाउँपालिका – ४
मेथिन्कोट अस्पताल नमोबुद्ध – १
काठमाडौका विभिन्न अस्पताल – ८
जम्मा विरामी – १७५
निधन –२









