धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ३७ थान मुद्दा दुई वर्ष अवधि नाघेका छन् । दुई वर्ष नाघिसक्दा समेत उक्त मुद्दा टुङ्गिन सकेको छैन । ३७ थान मध्ये न्यायाधिश भिस्मराज प्रसाईको जिम्मेवारीमा ७ थान र दुर्गा खड्काको जिम्मेवारीमा ३० थान रहेका छन् ।
श्रेस्तेदार गोविन्द घिमिरेका अनुसार आर्थिक वर्ष २०७६÷०७७ को अन्त्यसम्ममा अदालतबाट ९ सय ४ थान मुद्दाको फैसला भएको छ । ६ महिना अवधी भित्रका ३ सय ३५ थान, ६ महिना नाघेर एक वर्ष अवधी भित्रका ३ सय ५, १ वर्ष देखि १८ महिनासम्मका २ सय ४८ थान र १८ महिना नाघेका २ वर्ष भित्रका ५७ थान मुद्दा फैसला हुन बाँकी छ । ३७ थान मुद्दा भने दुई वर्ष नाघिसकेका छन् । अदालतले पछिल्लो समय मुद्दा दर्ता भएकै दिन फैसला हुने सम्भावित दिन तोकेर पठाउन शुरु गरेको छ । पुराना मुद्दाहरु फछर्याैट गर्ने अभियानमा अदालत एक्लैको सक्रियताले पुग्दैन । मुद्दामा भएका साक्षी, प्रमाण र बयान तथा अङ्ग पु¥याउने महत्वपूर्ण कुरा हो । त्यसो हुन सक्दा मात्रै समयमै मुद्दा फैसला हुन सक्छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ८ सय ७६ थान, नयाँ दर्ता १ हजार १० थान गरी १ हजार ८ सय ८६ थान मध्ये ९ सय ४ थान फैसला भई ९ सय ८२ थान मुद्दाको जिम्मेवारी चालु आर्थिक वर्षका लागि सरेको छ । नयाँ दर्ताको लक्ष्य भन्दा कम दर्ता भएको र बार्षिक फर्छ्र्याैटको संख्याको लक्ष्यमा पनि कमि भएको श्रेस्तेदार घिमिरेले बताउनु भयो । ‘मुख्यतः लक्ष्यमा पुग्न नसक्नु कोरोना भाईरसकै कारण हो’–श्रेस्तेदार घिमिरेले भन्नुभयो–‘अझै लकडाउन पूर्ण रुपमा खुलेको छैन । प्राविधिक कठिनाईका कारण लक्ष्यमा पुग्न कठिन छ ।’ फैसला भएका मध्ये दुनियाँबादी देवानी ६ सय ५ वटा, दुनियाँबादी फौजदारी १ सय ५३, सरकारबादी फौजदारी १ सय २९, रिट निवेदन ११, करार ५, पुनरावेदन पत्र १ रहेका छन् । जिम्मेवारी बाँकी रहेका मुद्दाहरुमा दुनियाँवादी देवानी ५ सय ६९ थान रहेका छन् ।
जिल्लामा तीन जना न्यायाधीशले मुद्दा हेर्ने गरी ब्यवस्था मिलाईएको छ । जिल्ला न्यायाधीश पुरुषोतमप्रसाद ढकालले ६ सय ३५ वटा मुद्दा जिम्मेवारीमा परेकोमा ३ सय ४४ वटा अथार्त ५२.६० प्रतिशत मुद्दा फैसला गर्नु भएको छ । न्यायाधीश भिस्मराज प्रसाईले ५ सय १९ वटा मुद्दाको जिम्मेवारी रहेकोमा १ सय ६६ थान अथार्त ३१.९८ प्रतिशत फैसला गर्नु भएको छ । त्यस्तै न्यायाधीश दुर्गा खड्कालाई ६ सय २९ थान मुद्दाको जिम्मेवारी रहेकोमा ३ सय १ अर्थात ४७.८५ प्रतिशत मुद्दा फैसला गर्नु भएको छ । केहि समय कार्यरत रहनु भएका न्यायाधीश सुर्यप्रसाद पराजुलीको जिम्मेवारीमा रहेका १ सय ३ थान मध्ये शतप्रतिशत फैसला भएका छन् । प्रतिशतका हिसाबले जिल्लामा ४८ प्रतिशत मुद्दाको फैसला भएको छ ।









