2026 June 25/ 06:14: 25pm

बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा संक्रमणको दर उच्च भईरहँदा सजगता भने घट्दै गएको छ । संक्रमण दर सँगै निधन हुनेहरुको संख्या पनि बढिरहेको छ । सरकारका तीनैवटा निकाय र प्रशासनले नागरिकहरुका लागि अनुरोध गरे पनि नागरिक तहबाटै सुरक्षाको अटेर भईरहेको छ । 
मंगलबार एकै दिन १८ जना संक्रमित थपिएका छन् । यसअघि एकै दिन ३५ संक्रमित थपिएका थिए । जिल्लामा संक्रमितको संख्या १ सय ६२ पुगेको छ । जसमध्ये ६३ जना निको भएर घर फर्किएका छन् भने २ जनाको निधन भएको छ । मंगलबार थपिएका संक्रमितहरु मध्ये बनेपा नगरपालिका वडा नम्वर ७ भिमसेनस्थानमा डेरा गरी बस्ने २४ बर्षकी महिला छिन् । उनी गर्भवती थिईन् । गर्भ रहेको महिना पुगेपछि सुत्केरी हुन बनेपाको शिर मेमोरियल अस्पताल भर्ना भएकी उनीमा कोरोना पोजेटिभ देखिएको हो । सुत्केरी हुन आएकी महिलाको स्वाब लिएर परिक्षणमा पठाएका थियौ, स्वाब नआउँदै अप्रेसन गर्नुपर्ने भयो, अप्रेसन गर्दा गर्दै पोजेटिभ भएको खबर आयो तर पनि अप्रेसन रोकिएन । बनेपा १३ साँगामा एकै परिवारका पाँच जनामा पोजेटिभ देखिएको छ । उनको परिवारमा यसअघि पोजेटिभ देखिएको थियो । उनी नगरपालिकाको आईसोलेसनमा उपचारार्थ छन् । त्यस्तै बनेपा नगरपालिकाका स्वास्थ्यकर्मी समेत संक्रमित छन् । 
    पनौतीमा धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको परिवारमा संक्रमण देखिएको छ । अस्पतालमा काम गर्ने उनिहरु स्वाब परीक्षणका लागि छाडेर नियमित काममा थिए । पनौती ९ भण्डारी गाउँ घर भएकी स्वास्थ्यकर्मीको परिवारमा ३ जना र पनौती ५ चौकोट घर भएका एक कर्मचारीको परिवारका एक जनामा संक्रमण देखिएको हो । अर्का एकजना ब्यक्ति बनेपाबाट पनौती स्वाब परिक्षण गराउन पुगेका थिए । उनमा पनि पोजेटिभ देखिएको छ । अर्का एक ब्यक्ति स्वास्थ्यकर्मी छन् । उनि सम्पर्क ब्यक्तिको स्वाब संकलनमा खटिएका थिए । धुलिखेल अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मी कर्मचारीमा संक्रमण देखिएको छ । यसअघि अस्पतालमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । 
    श्रीमान् कोरोना निको भएर घर गएको भोलिपल्टै श्रीमतीमा कोरोना संक्रमण देखिएको छ । मण्डनदेउपुर नगरपालिकाका जनप्रतिनिधि समेत रहेका उनको स्वाब संकलन गर्ने भुम्लु गाउँपालिका स्वास्थ्य चौकीका ल्याब टेक्निसियन कर्मचारीमा पनि संक्रमण देखिएको छ । मण्डनदेउपुर नगरपालिका वडा अध्यक्षलाई साउन २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी भुम्लु गाउँपालिका वडा नम्वर १० दोलालघाटमा बसोबास गर्दै आएका छन् । श्रीमानलाई कोरोना पुष्टि भएको ७ दिन पछि अर्थात भाद्र ३ गते श्रीमती र ल्याबमा कार्यरत स्वास्थ्य कर्मचारीको स्वाब संकलन गरिएको थियो । वडा अध्यक्ष कोरोना जितेर अस्पतालबाट घर फर्किएकै भोलिपल्ट श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्यकर्मीले स्वाब दिए पछि पनि निरन्तर कार्य क्षेत्रमा सेवा दिईरहनु भएको थियो । स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएसँगै गाउँपालिकाले वडा नम्वर ८ को सम्पूर्ण क्षेत्र शिल गरेको अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिनु भयो । वडा नम्वर ८ को भुम्लुटार स्वास्थ्य चौकी तथा प्रयोगशालाबाट प्रदान गरिने सेवाहरु बन्द गर्नुका साथै वडाको सबै क्षेत्र शिल गर्ने निर्णय भएको अध्यक्ष कुँवरले जानकारी दिनु भयो । 
    त्यस्तै भुम्लु गाउँपालिकाको वडा नम्वर ६, ८ र १० का बासिन्दाहरु र कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको र बाँकी समुदायमा समेत संक्रमण फैलन सक्ने सम्भावना भएकाले अर्काे सूचना नभएसम्म गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत मदनकुमार बजगाईले जानकारी दिनु भयो । भुम्लुमा यस अघि ६ जनामा कोरोना पुष्टी भएको थियो । स्वाब परिक्षण ढिला हुँदा उनिहरुको सम्पर्कमा आएका ब्यक्तिहरुमा संक्रमण फैलिएको हुन सक्ने सम्भावना देखेर गाउँपालिकाले सेवा बन्द गरेको हो । स्वाब संकलन गरे सँगै तिनै कर्मचारीहरु सहितको उपस्थितिमा गाउँपालिकाले प्रयोगशाला उद्घाटन गरेको थियो । 
    जिल्लामा मंगलबार दिउँसोसम्म १ सय ४८ संक्रमित भएका छन् । जस मध्ये ८४ जना आईसोलेसनमा छन् । क्वारेन्टाईनमा ३० जना रहेका छन् । संक्रमण जितेर घर जानेहरुको संख्या पनि थपिएको छ । 
    
संक्रमितको निधन
    भक्तपुर सुर्यविनायक ८ घर भई धुलिखेल अस्पतालमा कोरोनाको उपचार गराईरहेका एक ब्यक्तिको निधन भएको छ । मंगलबार राति ११.५५ बजे उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । 
    मुुटु र थाईराईड रोगबाट समेत पीडित ५५ बर्षीय कोरोना संक्रमितको अन्त्येष्टि नेपाली सेनाले पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा गर्ने तयारी गरेको छ । तीन दिन अघि अस्पतालमा भर्ना भएका ब्यक्तिलाई परिक्षणको क्रममा कोरोना समेत देखिएको थियो । कोरोनासँगै मुटु र थाईराईडको उपचार गराईरहेको अवस्थामा मंगलबार राति उहाँको निधन भएको अस्पतालले जानकारी दिएको छ । यसअघि धुलिखेल अस्पतालमा उपचारको क्रममा ९८ बर्षीय जेष्ठ नागरिकको निधन भएको थियो भने धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक जिल्ला घर भई कोरोना संक्रमण पुष्टि भएर उपचार नहुँदै सुत्केरी महिलाको निधन भएको थियो । कोरोनाबाट निधन हुनेमा जिल्ला भित्रका २ र जिल्ला बाहिरका २ नागरिकको निधन भईसकेको छ । जिल्लामा संक्रमितको संख्या १ सय ६३ पुगेको छ । 

प्रशासनको अनुरोध अटेर
    कोरोना संक्रमण बढ्दै गएको र राजधानीमा निशेधाज्ञा लागे सँगै उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा सार्वजनिक यातायात र बजार बन्द गरिएको छ । बजारका मुख्य क्षेत्रहरुमा समय सिमा तोकेर खोल्ने र बन्द गर्ने गरी जिल्ला स्थित संकट ब्यवस्थापन केन्द्रले निर्णय गरेको छ । तर पनि बजार खुल्ला राखी संक्रमण फैलाउने अभियानमा ब्यवसायीहरु उद्यत छन् । प्रशासन र नगरपालिकाको अनुरोधलाई ब्यवसायीहरुले अटेर गरिरहेका छन् । 
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक यातायात सँगै बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो । गत शुक्रबार देखि पूर्ण रुपमा बजार र यातायात बन्द गर्ने निर्णय भएको हो ।  सार्वजनिक यातायातलाई पूर्ण रुपमा बन्द गराउने निर्णय भएको भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । जिल्लाका मुख्य बजार क्षेत्रहरु धुलिखेल, बनेपा, पनौती, पाँचखाल र नमोबुद्धमा मानिसहरुको भिडभाड तथा अनावश्यक आवागमन बढ्दै गएकाले संक्रमक रोगको रुपमा फैलिंदै गएको कोभिड–१९ नियन्त्रण तथा न्यूनिकरणका लागि अर्को सूचना जारी नभएसम्म उल्लेखित क्षेत्रका व्यापार, व्यवसाय तथा अन्य खरिद बिक्री जन्य क्रियाकलापहरु बिहानबाट प्रत्येक दिन बिहान ७ बजे देखि ९ बजे र बेलुकी चार बजे देखि ६ बजेसम्म सामाजिक दुरी तथा न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी सञ्चालन हुन दिने निर्णय गरेको छ । 

धुलिखेलमा प्रादेशिक प्रयोगशाला
जिल्लाको धुलिखेल नगरपालिकामा बागमती प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । कोरोना महामारी बढिरहेका बेला कोरोना सँगै अन्य प्रकारका रोगहरुको पहिचान र परीक्षण गर्ने उदेश्यले प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको हो । 
‘बागमती प्रदेशका १३ जिल्लाका नागरिकहरुका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी प्रादेशिक जनस्वास्थ्य ल्याब स्थापना गरिएको हो’– सामाजिक विकासमन्त्री युवराज दुलालले भन्नुभयो–‘अन्य ल्याबहरुले परिक्षण र पहिचान गर्न नसकेका जटिल प्रकारका रोगहरु समेत यो प्रयोगशालामा परिक्षण हुनेछ ।’ कोरोनाको परिक्षणसँगै अन्य रोगहरुको पहिचान र परिक्षणले नागरिकहरुलाई थप सहज बनाउने उहाँले बताउनु भयो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकाका निर्देशक नारायण कार्कीले प्रदेश स्तरका सबै प्रकारका परिक्षण गर्ने र अन्य प्रयोगशालाले पहिचान गर्न नसक्ने खालका रोगहरु समेत यहि ल्यावबाट परिक्षण हुने बताउनु भयो । बागमती प्रदेश सरकारको राजधानी मकवानपुरको हेटौडामा भए पनि काभ्रे तथा आसपासका जिल्लाहरुमा सेवा कार्यालयहरु स्थापना गर्ने सरकारको नीति अनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको मन्त्री दुलालले बताउनु भयो । 
    धुलिखेल नगरपालिकाले प्रयोगशाला ब्यवस्थापनका लागि चार वर्षका लागि भवन उपलब्ध गराएको छ । चार वर्ष पछि नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रयोगशालाको भवन निर्माण हुनेछ । दैनिक एक हजार स्वाब परिक्षण गर्ने गरी प्रयोगशालामा जनशक्ति ब्यवस्थापन गरिएको छ । सरकारी स्तरका दरबन्दीमा १३ र करारमा ९ जना कर्मचारीहरुले उक्त प्रयोगशालामा कार्य गर्नेछन् । पहिलो चरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लाका नागरिकहरुको कोरोना सम्वन्धी परिक्षण गर्नेछन् भने भक्तपुर र सिन्धुलीमा कोरोना परिक्षणका लागि प्रदेश सरकारले अर्काे प्रयोगशाला स्थापना गरे पछि तीन जिल्लाको मात्रै परिक्षण हुनेछ । 
    धुलिखेल अस्पतालमा यसअघि परिक्षण हुँदै आएको प्रयोगशाला, स्वचालित थप अर्काे प्रयोगशला र प्रादेशिक प्रयोगशालाबाट द्रुत गतिमा परिक्षण हुँदा नागरिकहरुले स्वाव संकलन गरेको भोलिपल्टै जानकारी पाउनेछन् । प्रयोगशालाको कमीका कारण स्वाब संकलन गरेको झण्डै साता दिनसम्म ब्यक्तिले आफ्नो बारेमा जानकारी पाउन नसक्दा समुदायमा संक्रमण फैलिरहेको थियो । त्यो समस्याबाट मुक्त हुने गरी सरकारले काम गरिरहेको मन्त्री दुलालले जानकारी दिनु भयो । 
    धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि नगरपालिकाले आवश्यक ब्यवस्थापनका लागि सहयोग पु¥याएको बताउनु भयो । आगामी दिनमा प्रयोगशालाका लागि सहयोग गर्ने र नागरिकहरुको स्वास्थ्यका लागि धुलिखेल नगरपालिकालाई स्वस्थ शहर बनाउन प्रयोगशाला स्थापनाले थप सहयोग पुग्ने बताउनु भयो । प्रयोगशलाको शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका सदस्यहरु रत्न ढकाल, चन्द्र लामा र लक्ष्मण लम्साद, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, प्रयोगशालाका निर्देशक नारायण कार्की, धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, सरोज थापा लगायतको सहभागिता रहेको थियो । 

संक्रमणले संकट निम्त्याउँदै
धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । भाद्र २ गते सोहि समितिका अध्यक्षमा कोरोना संक्रमण देखिएको थियो । ९८ बर्षीय परिवारका सदस्यमा कोरोना देखिए सँगै उनको परिवारमा १० जनालाई कोरोना पुष्टि भएको थियो । एकै ब्यक्तिबाट फैलिएको संक्रमणले धुलिखेल क्षेत्र संकटमा छ । संक्रमणले संकट निम्त्याउँदै गएको छ । 
धुलिखेल नगरपालिकामा ९८ बर्षीय जेष्ठ नागरिकलाई कोरोना पुष्टि भएसँगै उहाँको सम्पर्कमा जाने अन्य ब्यक्तिहरुमा धमाधम संक्रमण देखिन थालेको छ । धुलिखेलकै एक जना कानुन ब्यवसायीलाई पनि उहाकै सम्पर्कमा पुगेका कारण संक्रमण देखिएको छ भने उहाँको परिवारको सम्पर्कमा पुग्ने अन्य सर्वसाधारण ब्यक्तिहरुलाई पनि संक्रमण देखिएको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुमा पनि संक्रमण देखिएको छ । 
अस्पतालमा कार्यरत कर्मचारीहरुमा संक्रमण देखिएसँगै अस्पतालले स्थगन गरेका केहि स्वास्थ्य सेवाहरु संचालनमा ल्याउने भने पनि थप ब्यक्तिहरुमा संक्रमण देखिएकाले सेवामा असहज भएको छ । अस्पतालले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै स्थगित गरिएका सबै प्रकारका सेवाहरु सुचारु गर्ने बताएको थियो । अस्पतालका प्रशासकीय निर्देशक रमेश माकजुका अनुसार अस्पतालमा संक्रमणको जोखिम न्यूनिकरण गर्दै सेवा शुरु गरिएको हो ।