बनेपा÷महाधिबेशन घोषणा गरिएको छ तर निश्चित छैन । प्रदेश, जिल्ला, नगर, गाउँ र वडा तहसम्मका अधिबेशन तोकिएका छन् तर चार वर्ष देखि सदस्यता नविकरण छैन । नयाँ सदस्यताका सम्बन्धमा जिल्ला तहबाट एकलौटी गरिएको आरोप लागिसकेको छ भने समायोजनका नाममा विधान विपरीत सयौं ब्यक्तिहरु आमन्त्रित जिल्ला सदस्य बनेका छन् । अहिले काँग्रेस पार्टी हैन ब्यक्ति बनिरहेको छ । ब्यक्तिको लहडमा संगठन चल्ने र चलाउने क्रमले सिङ्गो काँग्रेसीजनको शिर निहुरिएको टिप्पणी हुन थालेको छ । अधिबेशन पछि जिल्ला नेतृत्वमा को आउने ? कसको गुटको नेतालाई नेतृत्व सुम्पने ? निश्चित भईसकेको छैन तर पनि त्यहि अभियानमा कार्यकर्ताको बर्थ–डे मनाउने तहमा नेताहरु पुगिसकेका छन् ।
कोरोनाको महामारीका बीच पनि ब्यक्तिका जन्मदिन मनाउने, सामाजिक सञ्जालमा जन्म दिनको अवसरमा चाहिने भन्दा धेरै शुभकामना पोस्ट्याउने, दहि चिउरा, खीर खाने दिन जस्ता अवसरमा गुटगत कार्यक्रम गर्ने, त्यहि नगर र वडाका नेताहरुलाई जानकारी नगराउने जस्ता गतिविधि शुरु भएका छन् । विशेषतः महाधिबेशन लक्षित भन्दा पनि जिल्ला अधिबेशन लक्षित गुटगत कार्यक्रम भएका छन् । केन्द्रमा नेताहरुका फरक–फरक लविङ्ग छन् तर जिल्लामा ब्यक्ति ब्यक्तिको लविङ्ग छ । स्थानीय र संघीय तहको निर्वाचनमा एउटा समुहमा भएका ब्यक्तिहरु अहिले समुह नै बदलिरहेका छन् । नयाँ प्रवेशीहरुको पनि गुट बनिसकेको छ । स्थानीय तहका निर्वाचनमा साविक नेकपा माओवादीसँग मिलेको नेपाली काँग्रेसले जिल्लाका १३ तह र जिल्ला समन्वय समितिमा चारवटा तहमा विजयी हासिल गरेको थियो । प्रदेश र संघीय निर्वाचनमा शुन्य सिट हात पारेको कांग्रेस भित्र अहिले त्यहि निर्वाचनको समयको घात र अन्र्तघातको हिसाब किताब पनि जोडिएको छ । कतिसम्म भने काँग्रेसजनहरुले स्वतन्त्र संस्थाहरुलाई समेत आफ्नै भातृ संगठन जस्तो ठानेर सामाजिक सञ्जालमा घात अन्र्तघातको कथा लेखिरहेका छन् ।
काभ्रे काँग्रेसको जिल्लामा दुई खेमा छ । केन्द्रिय सदस्य तथा ट्रेड युनियन विभागका संयोजक शिव हुमागाई पूर्व जिल्ला सभापति समेत हुन् । पार्टी भित्र देखिएको अन्र्तविरोध हल गर्न सभापति शिव हुमागाईले पूर्व सभापति समेत रहेका मधु आचार्यलाई दहि चिउरा खाने कार्यक्रममा एकता गराएर जिल्ला सभापति समेत बनाए । तर आचार्यले हुमागाईको त्यो योगदानलाई सभापति भए लगत्तै लात हानिदिए । हुमागाईकै कारण पनौती नगरमा प्रमुखको टिकट लिएका विदुर बञ्जारा समेत अहिले आचार्यको समुहमा लागेका छन् । निर्वाचनका बेला विजयी गराउन मरिहत्ते गरेर लागेका हुमागाईलाई गणेश लामाले समेत धोका दिएका छन् ।
गुण्डा नाईकेको उपमा पाएर फोरम हुँदै नेपाली काँग्रेस भएका लामाले प्रदेश तहको टिकट पाएका थिए । उनलाई जिताउन हुमागाई भए भरको शक्ति खर्चिएर लागेका थिए । तर पनि लामा हुमागाईसँगको सम्वन्ध बदलेर आचार्यको गुटमा सक्रिय भएका छन् । अवसरको पछि दगुर्ने केहि नेता तथा कार्यकर्ताहरुले अहिले धमाधम गुट बदलिरहेका छन् । केहिले आमन्त्रित सदस्य बन्ने लोभमा गुट बदलेका छन् भने केहिले कुनै विभागमा मनोनित हुने लोभले गुट बदलेका छन् । अदली बदली भईरहँदा काभ्रे काँग्रेसको नेतृत्वको रस्साकस्सी शुरु भएको छ । पार्टी सभापति मधु आचार्य रामचन्द्र पौडेल समुहका हुन् । केन्द्रिय सदस्य शिव हुमागाई कृष्ण सिटौला समुहका हुन् । आचार्यको समुहका लाग्ने नेताहरु बनेपाका कञ्चनचन्द्र बादे प्रकाशनमान सिंह समुहका हुन् । पाँचखालका मेयर महेश खरेल यस अघि शेरबहादुर देउवा निकट थिए । आगामी महाधिवेशनमा नेतृत्व हेरेर मात्रै कुन समूहमा लाग्ने पर्ख र हेरको अवस्थामा खरेल देखिन्छन् । उप सभापति अच्युत पौडेल आचार्य समुहमा छन् । समायोजनबाट उपसभापति बनेका गोविन्दबहादुर थापा विजय गच्छादार समुहबाट आचार्य समुहमा छन् । नेविसंघ सभापति नृपेश बादे समुह परिवर्तन गरेर आचार्य तर्फ गएका छन् । आचार्य समुहका तर्फबाट पाँचखालका मेयर महेश खरेल, उप–सभापति अच्युत पौड्याल र क्षेत्रीय सभापति कञ्चनचन्द्र बादे सभापति पदका तीव्र आकाँक्षी हुन् । खरेल अहिले व्यक्तिगत भन्दा संस्थागत पार्टी चलाउनुपर्ने कुराको पक्षमा देखिन्छन् ।
केन्द्रीय सदस्य शिव हुमागाई समुहमा क्षेत्रिय सभापति तिर्थ लामा, जिल्ला सचिव दिनेश लामा, कोषाध्यक्ष कृष्णगोपाल भैल, क्षेत्रिय सभापति रमेश हुमागाई, पुर्व क्षेत्रिय सभापति सुन्दरमणी आचार्य, माधव ढकाल, शिक्षक संघका बागमती प्रदेश अध्यक्ष नारायण तिमल्सिना, नेविसंघका केन्द्रिय सदस्य भगवान अधिकारी लगायतका नेताहरु सक्रिय छन् । हुमागाई समुहबाट पार्टी सभापतिमा तिर्थ लामा, तिर्थ पसखल र रमेश हुमागाईको दाबी छ । अरु नेताहरुले आकांक्षा देखाए पनि सम्वन्ध, सम्पर्क र ब्यवस्थापनका हिसाबले उहाँहरुको सम्भावना देखिएको हो । स्थानीय तहका प्रमुखहरु, वडा अध्यक्षहरुलाई आफ्नो समुहमा पार्ने क्रम शुरु भएको छ । अधिबेशन नजिकिदै जाँदा पार्टीको संस्थागत भन्दा ब्यक्तिगत कार्यक्रमका कारण कार्यकर्ताहरु अन्योलमा छन् ।
सामाजिक सञ्जालमा रमिता
नागरिकहरु कोरोनासँग जुधिरहेका छन् । कोरोनासँग बच्न प्रशासन र स्थानीय सरकार सक्रिय छ । तर नेपाली कांग्रेस काभ्रे भित्र कोरोनाकै अवधी भित्र संस्थापन समुहले गडबडी गरेको भन्दै इतर समुहले सामाजिक सञ्जाल मार्फत विरोध जनाएको छ । नेता देखि कार्यकर्तासम्म तल्लो स्तरमा ओर्लिएर आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
काभ्रे कांग्रेसले गरेका निर्णयहरु भन्दै सार्वजनिक भएका निर्णय प्रति कांग्रेसकै जिल्ला सदस्यहरुले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा भनिएको छ –‘नेपाली कांग्रेस काभ्रेका प्रवक्ता भन्दै महेश पौडेलद्वारा मिति २०७७ भदौ ४ गते जिल्ला कार्य समितिको बैठकको निर्णयको नाममा सार्वजिनक वक्तव्य प्रति ध्यानाकर्षण भएको छ । उक्त वक्तव्य उल्लेखित निम्न बुँदाहरुमा असहमति रहेको जाहेर गर्दछु । महेश कर्माचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ । सर्वप्रथम उल्लेखित विषय उपर बैठकमा कुनै छलफल नै भएको थिएन । निर्णय भनी सार्बजनिक हुँदा अचम्मित भएको छु । जुम बैठकको बैधानिकता के हो ? जिल्ला कार्यसमितिको बैठक बस्न नसकेर जुम बैठक गर्ने र नगर र गाउँपालिका र वडा कार्यसमितिलाई समय सिमा तोकेर कार्यसमितिका बैठक गर्न निर्देशन दिनु लज्जास्पद निर्देशन होइन र ? ४९ जनाको समिति रहेकोमा, जम्मा गरी १४ जना मात्र सहभागी भएको बैठकको कति बैधानिकता हुन्छ ? बक्तव्यमा उल्लेखित कृयाशिल सदस्यहरुको सम्बन्धमा नेपाली कांग्रेसको विधान २०१७ परिच्छेद–२, धारा (५,६,७ को अधिकार उल्लंघन हुनेगरी गरिएको जिल्ला कार्यसमितिको निर्णय र नेपाली कांग्रेसको नियमावली २०७६ परिच्छेद –२ सदस्यता सम्बन्धि व्यवस्थाको धारा ६, उपधारा ३, ४ मा भएको बैधानिक व्यवस्थालाई जिल्ला कार्यसमितिको बैठकका नाममा संकुचित गर्न मिल्छ र ? जिल्ला मातहतका संघिय र प्रदेश क्षेत्रीय समिति, नगरर गाउँपालिका र वडा कार्यसमितिको बैधानिक अधिकार खोस्ने निर्णय जिल्ला कार्यसमितिको कार्य क्षेत्र भित्र पर्दैन र जिल्ला कार्यसमितिले गर्न पनि सक्दैन । त्यसैले विधानले बैधानिक रुपमा दिएको अधिकारलाई जिल्ला कार्यसमितिको बैठकका नाममा संकुचित गर्ने दुस्साहस गर्न खोजिएको प्रति गम्भीर आपत्ती प्रकट गर्दछु ।’
पौडेलले नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकले गरेका मूलभूत निर्णयहरु जिल्ला पार्टी प्रवक्ताका रुपमा सामाजिक सञ्जालमा प्रेस मिट भन्दै सार्वजनिक गरेका थिए । पौडेलले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ – ‘पार्टी बिधान अनुरुप ‘साविकका कृयाशील सदस्य सबैलाई आमन्त्रण गरी उनीहरुको उपस्थितिमा प्रत्येक वडा कार्यसमितिको पूर्ण बैठक बसी साविकको कृयाशील सदस्य संख्या बराबर नयाँ सदस्यता प्रदान गर्नुपर्ने ब्यक्तिहरुको नामावली निर्धारण गरी माईन्युट गर्ने र सो माईन्युटको प्रतिलिपि पालिका कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिलाई पठाउन तथा शतप्रतिशत कृयाशील सदस्यता थप गर्दा पनि नपुग्ने भएमा कारण समेत खुलाई सो को छुट्टै नामावली उल्लेख गरी माईन्युट प्रतिलिपि पठाउन मातहतका पार्टी तहलाई परिपत्र गर्ने, भाद्र १५ गते भित्रमा प्रत्येक वडा कार्यसमितिले माईन्युट प्रतिलिपि पठाईसक्नु पर्नेछ ।’ माईन्युट प्रतिलिपि प्राप्त भएपछि मात्र सोका आधारमा कृयाशील सदस्यता फाराम उपलब्ध गराइनेछ । सबै पालिकामा आवश्यक समन्वय, सहयोग तथा अनुगमनका लागि एक एक जना जिल्ला सदस्यलाई खटाईने छ । जिल्लामा प्रमुख प्रतिपक्षी दलको रुपमा नेपाली कांग्रेसको भूमिका सशक्त कसरी बनाउने भन्ने सन्दर्भमा आवश्यक लिखित सुझाव १ हप्ताभित्र प्रदान गर्न कमल तामांगको संयोजकत्वमा लिला नेपाल र शंकरदास लामा रहेको समिति गठन गरियो । शंकरदास लामाले सामाजिक सञ्जाल मार्फत नै असहमति ब्यक्त गरिसकेका छन् । कोरोना महामारीका बीच भेला, बैठक र भेटघाट समेत गर्न नहुने अवस्थामा यस्तो निर्देशनले पार्टी हैन गुट निकटका ब्यक्तिहरुको सदस्यता स्विकृत गर्ने तयारी गरिएको हो । सरकार गठन भएको तीन वर्ष पछि प्रतिपक्षीको भूमिका सशक्त बनाउने भनिएको के हो ? आजसम्म जिल्ला समिति कहाँ गएको थियो ? सामाजिक सञ्जालमा प्रश्नको ओईरो लागेको छ ।
युवा लक्षित उद्यमशीलता विकास सम्वन्धी पार्टी अवधारणा र रणनीति तयार गरी एक हप्तामा प्रतिवेदन बुझाउन अर्जुन सापकोटा संयोजक र क्रमसः निर्मला श्रेष्ठ र चन्द्र ढकाल सदस्य रहेको समितिलाई जिम्मेवारी दिएको छ । जिल्लाभित्र बाढी पहिरोका कारण भएको अपार धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै तत्काल आवश्यक उद्धार, राहत तथा ब्यवस्थापन कार्यमा जुट्न स्थानीय पार्टीपंक्तिलाई परिचालन गर्ने र तीनै तहका सरकारलाई सम्पूर्ण सामथ्र्य सहित जनसेवामा लागि पर्न अपिल गर्ने, बाढी पहिरोबाट बढी प्रभावित क्षेत्रका केही जिल्ला सदस्य र जिल्ला पदाधिकारीहरुको संयुक्त बैठक भाद्र ६ गते बसी थप रणनीति तय गर्ने निर्णय गरिएको थियो । ६ गतेको रणनीति सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छैन । नेपाली कांग्रेस काभ्रेको भवन निर्माण सम्बन्धमा भैरहेको प्रगति, जिल्ला सभापतिको हस्ताक्षर विना केन्द्रमा समायोजन डकुमेण्ट बुझाइएको घटनाको सत्यतथ्य छानवीन गरी प्रतिवेदन बुझाउन उपसभापति अच्युत पौडेलको संयोजकत्वमा अर्का उपसभापति गोबिन्द बहादुर थापा र पार्टी नेता गणेश लामा सदस्य रहेको समितिले गरिरहेको कार्य प्रगति बारे जानकारी गराईएको थियो । उप सभापति थापा स्थानीयलाई कुटपिटको अभियोगमा पक्राउ परी धरौटीमा केहि समय अघि रिहा भएका थिए ।
सामाजिक सञ्जालमा भनिएको छ – यसको जवाफ पनि आउनुपर्यो..... असार १५ गते मण्डन देउपुरको भेला र दही चिउरा कार्यक्रम नगर सभापति, सह सभापति र कुनै पनि वडा सभापतिलाई नबोलाई जिल्ला सभापतिको उपस्थितिमा गरिएको कार्यक्रम गुटको की कांग्रेसको ?, पाँचखाल नगरपालिकाका नगर सभापतिलाई थाहै नदिई नगर भित्रका जिम्वेवार नेता कार्यकर्ताको भेला धुलिखेल गौरीशंकर होटलमा राख्नु र सभापतिले गुट चलाउने निर्देशन दिनु काभ्रे कांग्रेस कि गुट को ?, शिक्षक संघको वर्तमान नेतृत्व आफु अनुकुल भएन अर्को शिक्षक संघ बनाउन धुलिखेलमा भेला गर्नु त्यो जिल्ला सभापतिको उपस्थिति र निर्देशन मा गुटको कि कांग्रेस काभ्रेको ?, जिल्ला नेतृत्व आफै हुँदा प्यारालर समिति बनाई पार्टी व्यानर विना एनजिओको व्यानरमा कार्यक्रम गर्नु गुट कि कांग्रेसको, साउन १५ खिर खाने कार्यक्रम वनेपा नगर भित्रका नेता कार्यकर्ता बोलाइ नगर कार्यसमितीलाई पुरै वाईपास गरी झन्डा व्यानर विनाको सभापतीको उपस्थितिमा कार्यक्रम गर्नु गुटको की कांग्रेस काभ्रेको ?, जिल्ला कार्य समिती भन्दा दुई तिहाई संख्या वढी आमन्त्रित सदस्य बनाउनु काग्रेस कि गुटको ?, समायोजन सकिएको ७ महिना सम्म केन्द्रमा समायोजनको फाईल नपठाई नीति विशेष नभइ व्यक्तिलाई केद्रमा राखी समायोजन सकिएको करिब १० महिना पछि विवाद छ भन्दै सबै काभ्रेली कांग्रेस माथी खेलबाड गर्दै आज सम्म कृयाशिल सदस्य फारम वितरण गर्न नसक्नु गुट चलाएको कि कांग्रेस ?, कलिला केटाहरुको म्यासेन्जरमा म्यासेज लेखी गुटका कुरा जबरजस्ती पोष्ट गर्न लगाउनु गुट चलाएको की कांग्रेस ?, प्यारालर समिति, प्यारालर कार्यक्रम, संस्थागत नहिडी व्यक्तिबादी हिड्ने, आलोचना, लफडा आदि क्रियाकलाप संस्थापन ले गर्छ कि सस्थापन बाहिर रहेको समुहले गर्छ ?
यस्ता प्रश्न र उत्तरको बाढी सामाजिक सञ्जालमा देखिएको छ । अहिले कांग्रेसजनहरु नै ‘.......लाई भन्दा देख्नलाई लाज’ भन्दै जिब्रो टोक्न थालेका छन् ।









