2026 June 25/ 06:16: 30pm

–    मालपोत, नापी, आन्तरिक राजश्व कार्यालय बन्द
–    स्थानीय सरकारका सेवा बन्द
–    वित्तिय सेवा सातामा तीन दिन
–     धुलिखेल नगरपालिका क्षेत्र शिल
–    होटल रेष्टुरेन्टमा ‘टेक वे’ को अटेर

–    बनेपामा ५० बेडको आइसोलेसन 
–    ‘संक्रमित’ समुदायमा सहजै ओहोरदोहोर
–    जनप्रतिनिधि, कानून ब्यवसायी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमित 
–    प्रहरीलाई फेस शिल्ड
–    ९८ बर्षीय जेष्ठ नागरिक सहित दुईको निधन
–    लक्षण मिल्दोजुल्दोबाट खानीखोला र नमोबुद्धमा ५ को निधन
–    एकै परिवारका १० जनामा कोरोना

धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा २०७७ असार २ गते एक जना ब्यक्तिमा कोरोना संक्रमण देखिँदा नागरिकहरु त्रसित हुँदै सजगता अपनाउँदै स्वास्थ्यप्रति चिन्तित भएको देखिन्थ्यो । २०७७ भाद्र २ गते साँझसम्म झण्डै एकसयको संख्यामा जिल्लामा संक्रमतिहरुको संख्या देखियो नागरिकहरुले सजगता अपनाउन छाडेको अवस्था छ । ९७ जना ब्यक्तिमा कोरोना पुष्टि भई दुई जनाको निधन हुँदा नागरिकहरुले कोरोना समुदायमा फैलनु र संक्रमण देखिनु सामान्य मान्न थालेको अवस्था छ । स्थानीय सरकार, प्रदेश र संघ सरकारको निर्देशन अनुसार त्रसित नभई सचेत बन्न पटक–पटक गरिएको अनुरोध नागरिकहरुद्वारा अवज्ञा हुँदै आएको छ । 
नागरिकहरुको अवज्ञाका कारण समुदायमा कोरोना फैलँदै गएको छ । संख्यात्मक हिसाबले पनि संक्रमित ब्यक्तिहरु समुदायमा हेलमेल गरिरहने, परिक्षण गरिए पछि पनि सेल्फ आईसोलेसनमा नरहने, अस्पताल जान नमान्ने र सजगता नअपनाउँदा संक्रमण दर बढिरहेको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लाबाट विभिन्न पहलकदमी तथा प्रयासहरु निरन्तर रुपमा भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो । बुधबारसम्मको तथ्याङ्कमा जिल्लामा बिदेशबाट आएका समेतको गरी ३ हजार २ सय ८२ व्यक्तिहरुको आरडिटी परिक्षण भएकोमा ५० जनाको पोजेटिभ रिपोर्ट आएको थियो । जिल्लाको धुलिखेल अस्पतालमा ४ हजार २ सय ७ व्यक्तिहरुको स्वाब लिई पिसिआर परिक्षण भएका समेत गरी १२ हजार ४ सय ९० व्यक्तिहरुको स्वाब संकलन सहित पिसिआरबाट परिक्षण भइरहेकोमा ११ हजार ५ सय ५९ जनाको नेगेटिभ रिपोर्ट आएको, ९ सय ३१ जनाको पोजेटिभ रिपोर्ट आइसकेकोे छ । विभिन्न स्थानबाट संकलन भएका स्वाब धुलिखेल अस्पतालमा परिक्षण भईरहेको छ । 
जिल्ला माहालसम्म ९७ जना व्यक्तिहरुलाई विभिन्न आइसोलेशनमा राखी उपचार गराईएकोमा ३५ जना व्यक्तिहरु उपचार पश्चात निको भई डिस्चार्ज भैसकेका, २ जना व्यक्तिको मृत्यु भइसकेको र ५७ जना व्यक्ति विभिन्न अस्पतालहरु तथा होम आइसोलेशनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । कोभिड–१९ को संक्रमण जिल्लामा तीव्र रुपमा फैलिंदै गएको अवस्थालाई मध्यनजर गरी संकट ब्यवस्थापन समितिले अधिक सेवाग्राहीहरुको भीडभाड हुने कार्यालयहरु मालपोत, नापी र आन्तरिक राजश्व कार्यालयमा अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय भएको छ । धुलिखेल नगरपालिकाको अनुरोधमा कोभिड १९ संक्रमण, रोकथाम नियन्त्रणका लागि नगरपालिका क्षेत्र भित्र हुन सक्ने सम्भावित भिडभाड तथा मानिसको अनावश्यक आवागमनलाई समेत नियन्त्रण गर्ने उद्देश्यले नगर क्षेत्र भित्र सञ्चालित अत्यावश्यक सेवा बाहेकका सबै किसिमका पसल, व्यापार, व्यवसाय अर्को सूचना जारी नहुँदासम्म बिहान ७ देखि ९ बजेसम्म र बेलुकी ४ बजे देखि ६ बजे सम्म मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । धुलिखेलमा एकै ब्यक्तिबाट अन्य थुप्रै ब्यक्तिहरुमा संक्रमण फैलिएकाले बजार क्षेत्र सिल गरिएको छ ।
संक्रमणको जोखिम नियन्त्रण, रोकथामको लागि भइरहेको प्रयासलाई थप प्रभावकारी बनाई काठमाडौं उपत्यकामा सर्वसाधारणको प्रवेशका उपत्यका प्रवेशका नाकाहरु साँगा र नालामा सुरक्षा चेक जाँच थप प्रभावकारी बनाई समन्वयात्मक एवं प्रभावकारी रुपमा कार्यान्वयन गराउने निर्णय भएको छ । अग्रपंक्तिमा रही कृयाशिल सुरक्षाकर्मीहरुमा समेत संक्रमण बढ्दै गएकोले संक्रमणको जोखिम न्यूनिकरणका लागि थप सतर्कता तथा सचेतना सञ्चालन गर्ने साथै सुरक्षा निकायका नियमित कार्य प्रभावित हुन नदिन वैकल्पिक उपायहरु पहिचान गरी तत्काल योजना बनाई पुर्व तयारीको अवस्थामा रहने, उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड पालना भए नभएको सम्बन्धमा प्राप्त अनुगमन सूचकहरु बजार तथा उद्योग अनुगमन उप–समितिले कार्यान्वयन गर्ने गराउने, जिल्लास्थित रहेको बैंक तथा वित्तीय संस्थाहरुमा हुने मानिसहरुको भिडभाड नियन्त्रण प्रयोजनार्थ बैंक तथा वित्तीय संस्थाले दिने सेवा एक दिन बिराएर अर्थात सेवा प्रवाह एक दिनको अल्टर्नेटमा प्रवाह गर्ने गराउने व्यवस्था मिलाउन जिल्ला स्थित बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

संक्रमित समुदायमा सहजै ओहोरदोहोर
    बैदेशिक रोजगारबाट फर्किएका तथा शहरबाट गाउँ फर्किएकाहरु निर्वाध हिड्डुल गरेका कारण समुदायमा कोरोना संक्रमण फैलन थालेको छ । भुम्लु गाउँपालिकामा सोमबार थपिएका चार ब्यक्ति समुदायमा खुलेआम हिडिरहेका थिए । धुलिखेलमा एकै परिवारका १० ब्यक्तिमा संक्रमण देखिएका र उनिहरुको सम्पर्कमा आएका ब्यक्तिहरु समेत खुलेआम हिडिरहेका थिए । 
    २०७७  साउन २६ गते १९ बर्षीय युवामा कोरोना पुष्टी भएको थियो । युवकसँगको सम्पर्कमा आएका चार जनामा संक्रमण देखिएको हो । भुम्लु गाउँपालिका वडा नम्वर ६ बस्ने वर्ष २८, वर्ष ३५, वर्ष ३६ र वर्ष ५२ का पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार जिल्लामा संक्रमण हुनेहरुको संख्या ८० पुगेको छ । यस अघि ७६ जनामा संक्रमण भई ३२ जना निको भएर घर फर्किसकेका थिए । 
    मण्डनदेउपुर नगरपालिका वडा अध्यक्ष भुम्लु गाउँपालिका १० दोलालघाट बस्दै आएका थिए । उनमा समेत साउन २९ गते कोरोना पुष्टि भएको थियो । तिनै युवाको सम्पर्कमा पुगेका अन्य ब्यक्तिहरुमा समेत कोरोना हुन सक्ने आशंका गरिएको छ । यसअघि भुम्लुकै ३२ बर्षीय युवामा साउन १० गते कोरोना पुष्टि भएको थियो । उनी निको भएर घर फर्किसकेका छन् । समुदायमा फैलँदै गएको संक्रमणमा लार्पवाहि प्रमुख कारण देखिएको छ । स्थानीय सरकारले नागरिकहरुको निगरानी बढाउन नसक्दा जोखिम बढ्दै गएको हो । 
    कुरियरमा काम गर्ने भन्दै ढाँटेका युवाका कारण भुम्लु गाउँपालिकामा कोरोना फैलिएको हो । उनी सहित संक्रमण हुनेहरुको संख्या भुम्लु गाउँपालिकामा ६ पुगेको छ । भारतबाट गाउँ फर्किएर झुटो बयान दिई खुलेआम हिडिरहेका युवाबाट अन्य ब्यक्तिहरुमा संक्रमण फैलिएको छ । भुम्लु गाउँपालिका कोलाँती घर भएका युवक भारतबाट फर्किए पनि काठमाडौमा कुरियरमा काम गर्ने बताउँदै गाउँमा खुलेआम हिडिरहेका थिए । उनिसँग आउने अर्का युवक अझै सम्पर्कमा छैनन् । 

होटल रेष्टुरेन्टमा ‘टेक वे’ को अटेर
सरकारले साउन १५ गते देखि होटल, रेष्टुरेण्ट, सामुहिक भोज, पार्टी, सेमिनार तथा सामुहिक भेला हुने कार्यक्रममा रोक लगाउन गरेको निर्णयलाई जिल्लास्थित संकट ब्यवस्थापन केन्द्रले जिल्लामा कार्यान्वयन गराउने निर्णय गरेको छ । तर होटल ब्यवसायीहरुले त्यसलाई अटेर गरिरहेका छन् । 
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले होटल तथा रेष्टुरेन्टबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा (टेक वे) मात्र गर्न दिने गरी अन्य कार्यमा रोक लगाउने निर्णय गरेको छ । त्यस्तै बैठकले मानिसहरुको जमघट भेटघाट एवं नजिकिने कार्यबाट कोभिड १९ को संक्रमण बढ्दै गएका कारण अत्यावश्यक बाहेकका कुनै पनि वैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामुहिक कार्यहरु गर्न नदिने निर्णय गरेको छ । कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएकाले धार्मिक स्थलहरुमा हुने दैनिक नित्य पूजा बाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन हुन नदिने साथै चाडपर्वहरु मनाउँदा आ–आप्mनै घर भित्र रही जनस्वास्थका मापदण्डहरु पालना गरी आ–आप्mनो परिवार बीच मात्र मनाउन अनुरोध गरेको छ । फुटपाथ÷खुला स्थान र ठेला गाडा÷साइकलमा सञ्चालन भइरहेका तरकारी, फलफुल, खाद्यान्न तथा लत्ता कपडा लगायतका खुद्रा व्यापार व्यवसाय एवं कवाडी संकलन जस्ता कार्य जथाभावी रुपमा संचालन गर्न नदिने निर्णय गरेको छ । 
त्यस्तै बैठकले उद्योग, व्यापारिक तथा व्यवसायिक फर्म, डिपार्टमेन्ट स्टोर, बिक्री केन्द्र एवं पसलहरुले कोभिड १९ को संक्रमण फैलिन नदिने गरी वस्तु तथा सेवाको उत्पादन, प्रशोधन, ढुवानी तथा विक्री वितरण लगायतका कार्यहरु सुरक्षित तवरले नियमित रुपमा सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृत गरेको “कोभिड १९ महामारीको समयमा उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड (प्रोटोकल)”प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा सोका लागि आवश्यक सहजिकरण गर्ने निर्णय गरेको छ ।  बैठकले जिल्लाबाट जारी भएको सवारी पासको व्यवस्थालाई कोभिड १९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म साउन २९ गते गते देखि लागु हुने गरी सवारी पास जारी गर्ने कार्य बन्द गरेको छ । धुलिखेल अस्पतालमा एक स्वास्थ्यकर्मी र अस्पताल नजिकैको होटल व्यवसायीलाई समेत कोभिड पोजेटिभ देखिएकोले अस्पताल वरीपरीको दुई मिटर क्षेत्रलाई कन्ट्याक ट्रेसिङको अवधिभर शिल गर्ने निर्णय भएको छ । अस्पतालले उक्त स्वास्थ्यकर्मीका कारण १ सय २० भन्दा धेरै स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्नुपर्ने भएकाले अस्पतालको ईमरजेन्सी सेवा बाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । जिल्लाबाट उपत्यका प्रवेश गर्ने साँगा नाका र नाला नाका हुँदै चल्ने अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधन पूर्ण रुपमा प्रवेश निषेध गर्ने, त्यसैगरी सिन्धुपाल्चोक जिल्लाबाट प्रवेश गर्ने दोलालघाट लगायत अन्य सहायक मार्ग र तराई तथा पूर्वी पहाडी जिल्लाबाट प्रवेश गर्ने पुर्वी नाका मंगलटारबाट यस जिल्लामा प्रवेश गर्ने अत्यावश्यक सेवा वाहेकका सवारी साधनहरु प्रवेशलाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ । 

जनप्रतिनिधि र कानुन ब्यवसायीलाई कोरोना
काभ्रेमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएसँगै धुलिखेल नगरपालिकाले जनस्तरमै पिसिआर परिक्षणलाई व्यापक बनाउने भएको छ । काभ्रेको मण्डन देउपुर नगरपालिकाका वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको हो । काभ्रेका जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बताउनुभयो । उहाँको उपचार भईरहेको छ । 
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्रकुमार झा, अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकार लगायत स्थानीय प्रतिनिधि बसेको संयुक्त बैठकले अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो । भाद्र ३ गते हिजो बुधबारसम्म अस्पतालले नियमित सेवा उपलब्ध गराएको छैन । संक्रमित ९८ वर्षका समाजसेवी वृद्धको धुलिखेल–७ निवास रहेको क्षेत्रको ५ सय मिटर वरपर पनि सिल गरिएको छ । धुलिखेल स्थायी घर भएका समाजसेवी ब्यक्तिसँग सम्पर्कमा रहेका कानुन ब्यवसायीमा पनि संक्रमण देखिएको छ । यसअघि स्वास्थ्कर्मी, सुरक्षाकर्मीमा देखिएको कोरोना संक्रमण जनप्रतिनिधि र कानुन ब्यवसायीमा पनि देखिन थालेको हो । 

प्रहरीलाई फेस शिल्ड
    नागरिकहरुको सुरक्षामा खटिरहेका सुरक्षाकर्मीहरुलाई कोरोना संक्रमण फैलन थाले सँगै नेपाल प्रहरीले बागमती प्रदेश भर कार्यरत प्रहरी कर्मचारीहरुका लागि माक्स सहित फेश शिल्ड प्रयोग गरेर मात्रै कार्यक्षेत्रमा खटिन निर्देशन दिएको छ । जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुले माक्स सहित फेश शिल्ड प्रयोग गरी कार्य क्षेत्रमा खटिएको प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनु भयो । 
    जिल्लामा रहेको संघीय प्रहरी इकाई बनेपामा कार्यरत १९ जना प्रहरी कर्मचारी, जिल्लामा कार्यरत एक जना प्रहरी कर्मचारी र संघीय प्रहरी ईकाई कार्यालय बनेपा कार्यरत प्रहरीका परिवारमा पनि कोरोना संक्रमण देखिएको छ । प्रहरीले कार्य क्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई घर परिवारको सम्पर्कमा नजान, गए पनि सुरक्षित रहन, घर विदाबाट फर्किएका प्रहरी कर्मचारीलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्ने गरेको प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले बताउनु भयो । नागरिकहरुको सुरक्षाका लागि नेपाल प्रहरी अग्रपक्तिमा रहँदै आएको छ । प्रहरीले अपनाएको सतर्कताका कारण जिल्ला प्रहरी र मातहतका अन्य प्रहरी कर्मचारीहरुमा कोरोना संक्रमण फैलन पाएको छैन । जिल्लामा रहेका दुई अस्पताल शीर र धुलिखेल अस्पताल विरामीका कारण भरिएका छन् । धुलिखेल अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित भए पछि भदौ ३ सम्म आकस्मिक बाहेकको अन्य सेवा बन्द छ । आईसोलेसन बेड भरिएर संक्रमित घरमै बस्न बाध्य भएपछि बनेपा नगरपालिकाले ५० बेडको आईसोलेसन बेड बनाएको छ । जिल्लामा रहेको खानिखोला र चौरीदेउराली गाउँपालिकामा अझै संक्रमण देखिएको छैन । 
प्रहरीको परिवारमा कोरोना 
संघीय प्रहरी कार्यालय बनेपाका प्रहरीमा देखिएको कोरोना परिवारमा फैलिएको छ । विहिबारसम्म १९ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । ति मध्येका एक प्रहरीका श्रीमती र ७ बर्षीय बच्चामा शुक्रबार कोरोना पुष्टि भएको छ । जिल्लामा पहिलो पटक ७ बर्षीय बच्चामा कोरोना देखिएको हो । यसअघि १२ बर्षीय बच्चामा कोरोना देखिएको थियो । विद्युत प्राधिकरण पाँचखालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको छ । ‘अस्पतालमा आईसोलेसन बेड भरिएकाले कोरोना संक्रमण देखिएका विरामीलाई घरमै राखेर उपचार शुरु गरिएको हो’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले बताउनु भयो । बेड खाली भए लगत्तै घरमा रहेका विरामीहरुलाई अस्पताल लगिएको हो । बनेपा नगरपालिका वडा नम्वर ९ घर भएका दुई ब्यक्ति काठमाडौको जडिबुटीमा उद्योगमा कार्यरत रहँदा रहँदै पिसिआर गरिएको थियो । नमोबुद्ध नगरपालिकामा पहिलो पटक ३ जना बैदेशिक रोजगारबाट फर्किएकाहरुमा कोरोना पुष्टि भएको थियो । दुबईबाट फर्किएका २५ वर्षीय युवक नमोबुद्ध ७ का हुन् भने साउदीबाट फर्किएका ३२ वर्ष र २७ बर्षका दुई युवक वडा नम्वर ५ का हुन् । साउन ३१ गते नमोबुद्ध नगरपालिकाकै १७ बर्षीय युवतीलाई कोरोना पुष्टि भएको थियो । 

बनेपामा ५० बेडको आइसोलेसन 
बनेपा नगरपालिकाले जिल्लामै पहिलो पटक ५० बेडको आइसोलेसन कक्षा सञ्चालन गरेको छ । कोरोना भाईरस कोभिड १९ को संक्रमणका बिरामीहरु समुदाय स्तरमा बढ्न थाले सगै नगरपालिकाले आईसोलेसनको तयारी गरेको हो । 
बनेपा प्राविधिक शिक्षालय परिसरमा भौतिक पूर्वाधारको प्रयोग हुने गरी तयार गरेको आईसोलेसनको जिल्ला कमान्ड पोस्टका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौडेल, सशस्त्र प्रहरी बलका प्रमुमु महेश केसी, अनुसन्धान प्रमुख सरोज सिटौला, बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा सापकोटा दाहाल प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, शिरमेमोरियल अस्पतालका डाक्टर  लगायतको टोलीले आईसोलेसन कक्षको अनुगमन गरेको थियो । 
जिल्ला कमाण्ड पोष्टका प्रमुख श्रवण कुमार तिमल्सिनाले जिल्लाकै ठुलो र ब्यबस्थित आईसोलेसन कक्ष तयार भएकाले कोरोना संक्रमित बिरामीहरुले उपचार राम्रो पाउने बताउनु भयो । बनेपा नगर ठूलो व्यापारिक क्षेत्र र चहलपहल बाक्लो भएकाले जोखिम बढी भएका कारण सबै नगरबासी र जिल्लाबासी सुरक्षित रहन तिमल्सिनाले आग्रह गर्नु भएको थियो । नगर प्रमुख लक्ष्मी नरसिं बादेले नगरबासीहरुले उपचारबाट बञ्चित हुन नपरोस भन्नका लागी नगरले ५० बेडको आईसोलेसन तयार गरी संचालनमा ल्याएको बताउनु भयो । नगरले ५० बेडको क्वारेन्टाईन समेत सञ्चालन गरिरहेको छ भने उक्त क्वारेन्टाईनमा बाहिरबाट आउने नगरबासीहरुलाई राखी नगरलाई सुरक्षित गराउने नगरको उदेश्य रहेको नगर प्रमुख बादेले वताउनु भयो । नगरलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने योजनाका साथ कार्य गरिरहेको उहाँले बताउनु भयो । 
बादेले नगरकार्यपालिकाको बैठकले बनेपामा अति आवश्यक बाहेकका सबै सेवा बन्द गराउने, सबै नगरबासीलाई सुरक्षित रहन आग्रह गर्ने, कुनै समस्या परेमा नगरपालिकामा खबर गर्न समेत बादेले आग्रह गर्नु भएको थियो ।  त्यसैगरी उपप्रमुख रेखा सापकोटा दाहालले नगरले विकास सँगै नगरको शान्ति सुरक्षा नागरकिहरुलाई सुरक्षित राख्ने भन्ने रहेको बताउनु भयो । नगरले अरनिको राजमार्ग दाँया बायाँ ब्यबस्थित कार्य शुरु गरेको, बनेपा धुलिखेल र पनौती पुण्यमाता करिडोरको निर्माण कार्य शुरु गरेको फोहोरलाई ब्यबस्थापन गर्न लागीएको बताउनु भयो । नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेतीले बजारमा चहलपहल बढी भिडभाडकैै कारण पनि कोरोना भाइरसको खतरा बढि नै हुने भएकाले सबै नागरीक सचेत र सुरक्षित रहनुपर्ने बताउनु भयो । नगरले तयार गरेको आइसोलेसन तयारी पछि महामारी रोकथाममा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको उप्रेतिले बताउनु भयो । यति ठूलो क्षमताको आइसोलेसन जिल्लाकै पहिलो रहेको समेत उप्रेतिले बताउनु भयो । 

९८ बर्षीय जेष्ठ नागरिकको मृत्यु
    कोरोनाका कारण जिल्लामा दोश्रो ब्यक्तिको निधन भएको छ । ९८ बर्षीय जेष्ठ नागरिकको धुलिखेल अस्पतालमा उपचारको क्रममा मंगलबार विहान निधन भएको अस्पतालले जानकारी दिएको छ । 
    धुलिखेल नगरको विकासमा योगदान पु-याउनु भएका समाजसेवी ९८ बर्षीय जेष्ठ नागरिक पछिल्लो समय परिवारका साथमा काठमाडौ बानेश्वर बस्दै आउनु भएको थियो । छोरा बुहारीका साथमा बानेश्वर रहनु भएका समाजसेवी जेष्ठ नागरिकको ९८ आंै जन्म जयन्ति मनाउन धुलिखेल आउने क्रममा उहाँलाई अस्पताल लगिएको थियो । २०७७ साउन २७ गते कोरोना पुष्टी भए पछि उहाँलाई अस्पतालमै राखेर उपचार गरिएको थियो । ‘बानेश्वर घरमै रहँदा सामान्य अवस्थ भए सँगै उहाँले जन्मस्थान धुलिखेल पु¥याई दिन अनुरोध गर्नु भएको थियो’– परिवारका एक सदस्यले भन्नुभयो–‘पारिवारीक प्रतिष्ठानले जन्म जयन्ति मनाउने गरेकाले उहाँ धुलिखेल आउनु भएको हो । भोलिपल्ट जन्मोत्सवको तयारी गरिएको थियो अघिल्लो दिन नै उहाँमा कोरोना पोजेटिभ देखियो ।’ 
    धुलिखेल आए लगत्तै उहाँले धुलिखेलका जेष्ठ नागरिकहरुसँग भेट गर्नु भएको थियो । उहाँलाई भेट गर्न आउने र उहाँबाट शुभकामना लिन आउनेहरुको संख्या पनि धेरै थियो । उहाँलाई भेट गरेका धुलिखेल अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीहरु पनि आईसोलेसनमा बसेका थिए । अहिले उहाँहरुको कन्ट्रयाक ट्रेसिङ्ग भईरहेको छ । उहाँमा कोरोना पोजेटिभ देखिए लगत्तै उहाँसँगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टि भएको छ । उहाँहरु दुबै जना काठमाडांैमा उपचारार्थ हुनुहुन्छ । परिवारका अन्य सदस्यहरुलाई पनि कोरोना परिक्षण भईरहेको छ । 
    यसअघि जिल्लामा पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५२ बर्षिया महिलाको कोरोनाकै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौमा निधन भएको थियो । जेष्ठ नागरिकको शब पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । 

परिवारका १० जनामा कोरोना
    समाजसेवी जेष्ठ नागरिकको परिवारका १० जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टी भए पनि परिवारका सदस्यहरु खुलेआम हिडिरहेका थिए । परिवारको लार्पवाहिका कारण समुदायमा कोरोना फैलिएको निष्कर्ष निकालिएको छ । संक्रमित ब्यक्तिहरु खुलेआम समुदायमा हेलमेल गरिरहेका थिए । उनिहरुकै लार्पवाहिका कारण धुलिखेल क्षेत्रमा संक्रमितको संख्या धेरै देखिएको हो । 

स्थानीय सरकारका सेवा बन्द
    संक्रमण फैलँदै गएपछि स्थानीय सरकारले अधिकांश सेवा बन्द गरेका छन् । नागरिकहरुको सुरक्षाका लागि सेवा बन्द गरिएको बताए पनि नागरिकहरुले भने अटेर गरिरहेका छन् । बजार क्षेत्र खुल्ला राखी ब्यापार ब्यवसाय गरिरहेका कारण संक्रमण फैलँदै गएको छ । होटल रेस्टुरेन्ट निर्वाध चलिरहँदा स्थानीय सरकारलाई अवज्ञा गरी नागरिकहरुले आफै जोखिम बढाईरहेका छन् । 

धुलिखेल बजार क्षेत्र शिल
    धुलिखेल नगरपालिकाको अनुरोधमा कोभिड १९ संक्रमण, रोकथाम नियन्त्रणका लागि नगरपालिका क्षेत्र भित्र हुन सक्ने सम्भावित भिडभाड तथा मानिसको अनावश्यक आवागमनलाई समेत नियन्त्रण गर्ने उद्देश्यले नगर क्षेत्र भित्र संचालित अत्यावश्यक सेवा बाहेकका सबै किसिमका पसल, व्यापार, व्यवसाय अर्को सूचना जारी नहुँदासम्म बिहान ७ देखि ९ बजेसम्म र बेलुकी ४ बजे देखि ६ बजे सम्म मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । धुलिखेलमा एकै ब्यक्तिबाट अन्य थुप्रै ब्यक्तिहरुमा संक्रमण फैलिएकाले बजार क्षेत्र सिल गरिएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल क्षेत्र भित्र फैलँदो संक्रमणलाई नियन्त्रण गर्न शिल गरिएको बताउनु भयो । 

लक्षण मिल्दोजुल्दो रोगबाट पाँचको निधन
    नमोबुद्ध नगरपालिका र खानीखोला गाउँपालिकामा कोरोना संग लक्षण मिल्दोजुल्दो रोगका कारण पाँच जनाको निधन भएको छ । नमोबुद्ध नगरपालिका ४५ बर्षीया महिला र १९ बर्षिय पुरुषको १५ दिनको बीचमा निधन भएको छ । नमोबुद्ध नगरपालिका ८ मा दुई ब्यक्तिको निधन भए पछि स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा सहितको टोलीले मृतक ब्यक्तिको स्वाव संकलन गरि परिक्षण गरिदै छ । खानीखोला गाउँपालिकामा पनि सोहि प्रकृतिबाट ५ जनाको निधन भएको छ ।