2026 June 25/ 05:08: 26pm

धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ११ पातलेखेत आरुबोट कैदीटोल घर भएका ५४ बर्षिय कामि सिं तामाङको हत्यामा संलग्न भएको अभियोगमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । हत्या पछि कामि सिंलाई पाँचखाल नगरपालिका वडा नम्वर १० बेला स्थित विपी राजमार्गको सडकखण्डबाट पाँचखाल जाने भित्री कच्ची सडकमा लगेर फालिएको अवस्थामा फेला पारिएको थियो । 
हत्या गरी फरार भएका युवाहरुलाई प्रहरीले १२ घण्टा नबित्दै प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ । हत्याका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले मादक पदार्थ सेवन गरी निस्किदै गरेका धुलिखेल नगरपालिका वडा नम्वर ११ बस्ने वर्ष २१ का सञ्जिव मैनाली र वर्ष २३ का रुपेन्द्रमान लामाले कामिसिंलाई २०७७ साउन १४ गते राति ११.३० बजेको समयमा उक्त स्थानमा पु¥याई हत्या गरेको प्रारम्भिक अनुन्सधानबाट खुलेको प्रहरी प्रमुख एसपी रविककुमार पौडेलले जानकारी दिनुभयो । ‘प्रहरीलाई साउन १५ गते विहान ५.३० बजे खबर प्राप्त भयो, खबर प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुग्यो’–प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले भन्नुभयो–‘घटनास्थलको अवस्था, मृतक ब्यक्तिको पहिचान र जानकारी पछि अनुसन्धानका लागि सहज भयो र हत्यामा संलग्न ब्यक्तिको पहिचान खुल्यो ।’ प्रहरीले साउन १५ गते विहिबार राति नै मैनालीलाई ललतिपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्वर ४ ढुङ्गेसाँघुबाट र लामालाई आफ्नै घरमा रगत लतपतिकोको कपडा सहित प्रहरी प्रवक्ता डिएस्पी कुमार विक्रम थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । 
कामिसिं सामान्य ब्यक्ति हुन् । पाडापाडी र बाख्राका पाठापाठी हुर्काउने र विक्री गर्ने गर्दै आएका थिए । छोरा बैदेशिक रोजगारमा छन् । मैनाली र रुपेन्द्रमान मजदुरी गर्दै आएका थिए । कामिसिंले भैसी विक्री गरेको केहि रकम साथमै छ भन्ने उदेश्यले उनिहरुले बाटो हिडिरहेको अवस्थामा नियन्त्रणमा लिई बाटोबाट केहि तल पु¥याई सञ्जिव मैनालीले लगाईरहेको बेल्ट निकालेर घाँटी कसेर मार्ने प्रयास गरेका थिए । लगत्तै दुईवटा ढुंगाले अनुहार नचिनिने गरी प्रहार गरी त्यहि बेल्टले घिसार्दै लगेर साथमा भएको ५ सय रुपैयाँ निकालेर बाटो मुनी फालिदिएको बयान दिएका छन् । उनिहरुले छाडेर भाग्दा कामिसिं ढुकढुक गर्दै थिए । हत्या पछि उनिहरु दुवै घर गएका थिए । कामिसिंको शव पहिचान भए लगत्तै उनिहरु घर छाडेर भागेका थिए । प्रहरीले अनुसन्धानबाट उनिहरु दुबैजना हत्यामा संलग्न भएको सुचनाका आधारमा पक्राउ गरी अनुसन्धान गर्दा हत्या भएको स्विकारेको जानकारी दिईएको छ । पैसाकै लागि मादक पदार्थ सेवन गरेको अवस्थामा कामिसिंको हत्या गरेको दुबैले स्विकारेको प्रहरीले जानकारी दिएको छ । 
नमोबुद्ध नगरपालिकामा गत वर्ष एक दम्पतीकै हत्यामा संलग्न ब्यक्तिलाई लामो समय पछि प्रहरीले पक्राउ गर्न सफल भएको थियो । कामिसिं हत्यामा संलग्नलाई १२ घण्टा भित्रै पक्राउ गरी १० दिनको अनुसन्धानका लागि म्याद लिएको प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले बताउनु भयो ।