बनेपा/महाभारत गाउँपालिकाबाट पाटन अस्पतालमा पाठेघरको परिक्षण गर्न गएकी महिलामा पाँच दिन पछि कोरोना पोजेटिभ देखियो । अस्पतालमा परिक्षण गरेर पुनः गाउँ फर्किए पछि कोरोना भएको जानकारीले सन्त्रास थपियो ।
महाभारत देखि पाटन र पाटन देखि महाभारत । डाँडापारीबाट पुनः उपचारका लागि अस्पताल ल्याउन कठिन थियो । तर पनि दुई दिनको यात्रा मार्फत उनलाई धुलिखेल अस्पताल उपचार गराउने तयारी अस्पताल प्रशासनका कारण सम्भव भएन । कमाण्ड पोष्टका सदस्य सचिव स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले धुलिखेल अस्पतालमा उपचार गराउने तयारी भए पनि मध्यरातमा असमर्थ रहेको जानकारी गराए पछि महिलालाई टेकु रिफर गरिएको थियो । जिल्लामा कोरोना संक्रमित हुनेहरुको संख्या २९ पुगेको छ । तर निको भएर फर्कने क्रम पनि बढेको छ । अस्पतालमा उपचार गराईरहेका विरामीहरुको संख्या ७ मात्रै छ ।
पनौतीमा रहेको क्वारेन्टिनमा रहेका एक जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । २८ बर्षिय पुरुष बैदेशिक रोजगारबाट फर्किएका थिए । पनौती नगरपालिकामा रहेका उनलाई टेकु पठाईएको थियो । यसअघि बनेपा नगरपालिका १३ भैसेपाटी, बनेपा बुडोल, बनेपा ठेगाना भई बानेश्वर बस्दै आएकी युवती, तेमाल गाउँपालिका वडा नम्वर ८, पनौती नगरपालिका वडा नम्वर २ कुशादेवी र वडा नम्वर ९ सुन्थानमा रहेका ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सोमबार पाँचखाल र मण्डनदेउपुर नगरपालिकाको क्वारेन्टिनमा रहेको दुई ब्यक्तिमा संक्रमण देखिएको छ । उनिहरु दुबैजना बैदेशिक रोजगारबाट फर्किएका थिए । विरामीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।









