2026 June 25/ 03:59: 09pm

धुलिखेल/जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्र, जिल्ला कमाण्ड पोष्टले जिल्लामा रहेका कोभिड उपचारका लागि तयार भएका अस्पतालका आईसोलेसन र नगरपालिकाहरुले तयार गरेको क्वारेन्टिनहरुको अनुगमन गरिएको छ । 
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्याल, सशस्त्र प्रहरी काभ्रेका एसपी पुरुषोतम थापा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, विष्णु दल गण धुलिखेलका मेजर प्रकाश उप्रेति, राष्ट्रिय अनुसन्धानका प्रमुख सरोज निरौला, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतको टोली सहभागि थियो । टोलीले बनेपामा रहेको शिर मेमोरियल अस्पतालको आईसोलेसन कक्षको अनुगमन गरेको थियो । अनुगमनका क्रममा अस्पतालमा भएका विरामीहरुको अवस्था, थप उपचारका लागि आवश्यक पर्ने जनशक्ति र स्थानका बारेमा जानकारी लिएको थियो । धुलिखेल अस्पतालमा रहेको आईसोलेसन र त्यसको अवस्थाका बारेमा टोलीले अनुगमन गरेको थियो । 
बनेपामा रहेको क्वारेन्टिन र त्यसको ब्यस्थापनका बारेमा जानकारी लिएको थियो । पनौती नगरपालिकाले तयार गरेको इन्द्रेश्वर माविको क्वारेन्टिनको अवलोकन गरी नगर प्रमुख भिम न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत हरि चापागाई, स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिना लगायतले पनौतीको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । क्वारेन्टिनहरुको अवस्था थप मजबुत बनाउँदै संक्रमण फैलन नदिन र संक्रमण देखिएका विरामीहरुको उपचारका लागि स्थानीय स्तरमा पालिकाहरुमा आईसोलेसन तयार गर्न सुझाव दिईएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो ।