संक्रमितको संख्या २३
बनेपा÷काभ्रेका विभिन्न स्थानमा समुदायमा रहेका ब्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । बनेपा नगरपालिका १३ भैसेपाटी, बनेपा बुडोल, बनेपा ठेगाना भई बानेश्वर बस्दै आएकी युवती, तेमाल गाउँपालिका वडा नम्वर ८, पनौती नगरपालिका वडा नम्वर २ कुशादेवी र वडा नम्वर ९ सुन्थानमा रहेका ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सोमबार पाँचखाल र मण्डनदेउपुर नगरपालिकाको क्वारेन्टिनमा रहेको दुई ब्यक्तिमा संक्रमण देखिएको छ । उनिहरु दुबै जना बैदेशिक रोजगारबाट फर्किएका हुन् ।
जिल्लामा कोरोना संक्रमित हुनेहरुको संख्या २३ पुगेको छ । भैसेपाटीमा कोरोना देखिएका ब्यक्ति निको भएर फर्किसकेका छन् । संक्रमण देखिएका मध्ये १२ जना कोरोना जितेर घर फर्किसकेका छन् । बनेपा नगरपालिका वडा नम्वर १३ भैसेपाटी घर भएका युवा काठमाडौं गएका थिए । लकडाउन अघि उनी काठमाडौमा काम गर्दथे । लकडाउन खकुलो भएसँगै उनी पुनः काठमाडौमा गए । पसलमा काम गर्ने ३२ बर्षिय युवालाई साहुजीले पिसिआर परिक्षणका लागि अनुरोध गरे । पाटनमा परिक्षण गरेसँगै उनमा कोरोना पोजेटिभ देखियो । सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा उपचार पछि ती युवा फर्किएका छन् । उनलाई असार १७ गते कोरोना देखिएको थियो । दोश्रो पटकको परिक्षणमा कोरोना नदेखिए पछि उनी घर फर्किएका हुन् । वडा अध्यक्ष सुर्यनारायण नापितले स्थानीय कसैलाई पनि कोरोना संक्रमण नभएको दाबी गरे पनि भैसेपाटी घर भएका ३२ बर्षिय श्रेष्ठ थरका युवालाई असार १७ गते कोरोना पुष्टी भई उपचार पछि घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।
पनौती नगरपालिका वडा नम्वर २ कुशादेवी घर भएकी एक महिलालाई साता अघि सर्पले टोक्यो । उनलाई छोराले मोटरसाईकलमा राखेर बनेपाको शिर मेमोरियल अस्पताल ल्याए । सर्पको औषधी पाटनमा हुने भएकाले अस्पतालले रिफर ग¥यो । महिलालाई सर्पले टोकेको उपचारसँगै कोरोना संक्रमण परिक्षण गरिएको थियो । उपचार पछि उनि घर फर्किईन् । तर रिपोर्ट समयमै आएन । घरमा आए पछि उनलाई सर्पले टोकेको भनेर भेट्न आउनेहरुको संख्या धेरै भयो । शुक्रबार मात्रै उनलाई कोरोना पोजेटिभ भएको जानकारी भयो । समुदायमा बसिरहेका ब्यक्तिहरुमा कोरोना संक्रमण देखिनु समुदाय भित्र नै संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । उनको सम्पर्कमा आएका सबै ब्यक्तिहरुलाई परिक्षणको तयारी गरिएको छ ।
पनौती नगरपालिका ९ सुन्थान घर भएका युवा १५ दिन अघि कोरियाबाट फर्किए । उनले कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ भएको कागजपत्र बोकेका थिए । घरमा १४ दिन बसे । १५ दिन पछि उनी इपिएस फाराम भर्न काठमाडौ गए । फाराम भर्ने स्थानमा उनलाई पिसिआर मागियो । पहिलाको रिपोर्ट अमान्य भएकाले पाटन अस्पतालमा पुनः परिक्षण गरे । उनमा कोरोना संक्रमण देखियो । उनी समुदायमा घुलमिल भईसकेका थिए । यसअघि पनौती नगरपालिकामा एक महिलालाई कोरोना देखिएको थियो । उनलाई कहाँबाट संक्रमण भयो अहिलेसम्म पत्ता लागेको छैन । उनको सम्पर्कमा आएका ब्यक्तिहरुको परिक्षण गर्दा समेत कोरोना को बाट संक्रमण भएको हो पत्ता लागेन । उनी निको भएर घर फर्किएकी छिन् । पनौतीका दुवै वडाका केहि भागहरु शिल गरिएको छ ।
तेमाल गाउँपालिका वडा नम्वर ८ घर भएका ४० बर्षिय युवालाई कोरोना देखिएको छ । उनी बैदेशिक रोजगारबाट फर्किएका थिए । बनेपा नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना पुष्टी भएकी बनेपा ६ बुडोलकी एक महिलालाई बनेपाको शिरमेमोरियल अस्पतालमा भर्ना गरिएको छ । उनी क्यान्सर अस्पताल पुगेर फर्किएकी थिईन् । उनी केहि दिन घरमा बसेकाले स्थानीयहरुलाई त्रसित बनाएको छ । वडा कार्यालयले उक्त स्थान शिल भएको जनाएको छ । बनेपा नगरपालिका ठेगाना भई बानेश्वरमा बसोबास गर्दै आएकी २३ बर्षिया युवतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी बंगलादेशबाट नेपाल फर्किएकी थिईन् । उनको उपचार काठमाठौमा भईरहेको छ । विरामीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।









