धुलिखेल/धुलिखेल नगरपालिकाले स्नातक तह पढाई निःशुल्क गर्ने निर्णय गरेको छ । धुलिखेल बाहेकका नगरपालिकाका नागरिकहरुका लागि उक्त तहको अध्ययनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ । नगरपालिकाको उक्त निर्णयलाई समाजबाद उन्मुख भनिएको छ । निर्वाचनको समयमा तत्कालिन नेकपा एमालेको तर्फबाट नागरिकहरुलाई निःशुल्क शिक्षा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरिएको थियो ।
आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट उक्त कार्यक्रम संचालन गर्न लागिएको हो । धुलिखेलमा धुलिखेल क्याम्पस र सञ्जीवनी कलेजमा उक्त तहको अध्ययन भईरहेको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जूले नगर भित्र रहेको धुलिखेल क्याम्पस र सञ्जीवनी क्याम्पसमा स्नातक तहमा पढ्ने नगर भित्रका सबै विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाएको बताउनु भयो । नगरको सातौँ नगर सभाले उक्त निर्णय गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । नगरका १२ वटै वडाका स्थानीयहरुले यो सुविधा पाउन नगरमा रहेका दुई क्याम्पसमा विद्यार्थीहरु भर्ना हुनु पर्ने छ ।
नगर सभाले काभ्रेपलाञ्चोक जिल्लाका अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट धुलिखेल क्याम्पस र सञ्जीवनी क्याम्पसमा पढ्न आउने विद्यार्थीहरुका लागि ५० प्रतिशत छुट दिने निर्णय गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । धुलिखेल नगरपालिकाका शिक्षा शाखा प्रमुख माधवप्रसाद शर्माले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले नगरपालिकाले गरेको निर्णय आगामी वर्ष देखि शुरु हुने बताउनु भयो । ‘विद्यार्थीको ७० प्रतिशत हाजिरी उपलब्ध गराए पछि क्याम्पसलाई नगरपालिकाले विद्यार्थीको टाउको गनेर शुल्क उपलब्ध गराउने छ’–शिक्षा शाखा प्रमुख माधव शर्माले भन्नुभयो –‘भर्ना हुने र पछि परीक्षा मात्र दिनेलाई यो नियम लागू हुँदैन ।’ धुलिखेलले बिशेषतः आर्थिक अवस्था कमजोर रहेकालाई प्रोत्साहन र नगर भित्रका विद्यार्थीलाई धुलिखेलमै अध्यापन गराउन यो नीति लिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।
धुलिखेल नगरपालिकामा रहेका क्याम्पसहरुमा अन्य स्थानीय तह तथा जिल्ला विद्यार्थीहरु भर्ना भएको अवस्थामा ५० प्रतिशत छुट दिने ब्यवस्था गरिएको छ । उच्च शिक्षामा सबै समुदायका विद्यार्थीको पहुँच पु¥याउन, शैक्षिक गुणस्तरमा सुधार ल्याउन र प्रतिस्पर्धात्मक प्रणालीको विकास गर्न नगरपालिकाले विशेष महत्वका साथ उक्त कार्यक्रम सञ्चालन गर्न लागेको शिक्षा प्रमुखले शर्माले बताउनुभयो । धुलिखेल र सञ्जीवनी क्याम्पसमा शिक्षा र व्यवस्थापनको पढाई हुँदै आएको छ । चालु शैक्षिक सत्रमा स्नातक तहमा ३ सय ७० जना विद्यार्थी अध्ययनरत छन् । नगरले यस आर्थिक वर्षमा ३ सय ७० विद्यार्थीलाई निःशुल्क पढाउने लक्ष्य लिएको शिक्षा शाखाले जनाएको छ । नगर सभामा प्रस्तुत भएका नीति तथा कार्यक्रम, विधेयक, बजेट सर्वसम्वत रुपमा पास भएको छ ।









