८ जना निको भएर फर्किए
बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो पटक थप पाँच जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । बनेपा नगरपालिका, धुलिखेलको सञ्जिवनी र पाँचखाल नगरपालिकाको क्वारेन्टाईनमा राखिएका अन्य देशबाट आएका स्थानीय नागरिकहरुमा संक्रमण देखिएको हो ।
पाँचखाल नगरपालिकामा दुई, बनेपा नगरपालिकामा एक र धुलिखेलको सञ्जिवनीको क्वारेन्टिनमा राखिएका महाभारत गाउँपालिकाका एक र उदयपुर जिल्ला घर भएका एक ब्यक्तिमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । ‘संक्रमण देखिएका सबै ब्यक्तिहरु क्वारेन्टिनमा राखिएका छन्’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख झाले भन्नुभयो–‘उनिहरु सबैमा कोरोनाको संक्रमणको लक्षण छैन । स्वस्छ हुनुहुन्छ । तर पनि संक्रमण देखिए पछि थप उपचारका लागि अस्पताल पठाउने ब्यवस्था गरिएको छ ।’ यस अघि जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका मध्ये ७ जना उपचार पछि घर फर्किसकेका छन् । संक्रमण हुनेहरुको संख्या १३ पुगेको छ । काठमाडौ जिल्ला घर भई धुलिखेलमा स्वाव लिएका एक ब्यक्तिमा देखिएको संक्रमणलाई काभ्रेपलाञ्चोक जिल्लामा गणना गरिएको छ । उदयपुर बेलका नगरपालिका ४ घर भई धुलिखेलको २८ किलोमा रहेका आफन्तकोमा साउदीबाट असार १६ गते बस्न फर्किएका ३० बर्षिय युवामा क्वारेन्टिनमा रहेका बखत हिजो बुधबार कोरोना संक्रमण देखिएको छ । उक्त संख्या सहित जिल्लामा संक्रमणको संख्या १५ पुगेको छ ।
संक्रमण देखिएका मध्ये पाँचखाल नगरपालिकाका ५, रोशी गाउँपालिका ३, पनौती नगरपालिका १, बनेपा नगरपालिका २, महाभारत गाउँपालिका १, बेथान्चोक गाउँपालिका १ र काठमाडौ जिल्ला स्थायी घर भएका ब्यक्ति १ जनामा संक्रमण देखिएको छ ।









