2026 June 25/ 04:08: 11pm

७ सय ७२ लाई थप ५० हजार
धुलिखेल/जोखिम वर्गमा सूचिकृत भएका भुकम्प प्रभावित परिवारलाई सरकारले ५० हजार थप अनुदान उपलब्ध गराउने भएको छ । २०७७ सालमा भुकम्पबाट प्रभावित लाभग्राही पहिचान सम्वन्धी कार्यविधि मार्फत जोखिम वर्गमा परेका पीडितहरुले नीजि आवास पुनर्निर्माण गर्न नसकेकाहरुको हकमा थप ५० हजार दिने निर्णय भएको हो । जोखिम वर्गमा परेका मध्ये जिल्लामा ७ सय ७२ घर परिवारको आवास पुनर्निर्माण गर्न बाँकी छ । जोखिमवर्गका परिवारले ३ लाख ५० हजार प्राप्त गर्नेछन् । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जिल्लामा भएको पुनर्निर्माणका सम्वन्धमा जानकारी गराएको छ । आयोजना प्रमुख शिवप्रसाद लम्सालका अनुसार पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगे पनि ६२ प्रतिशत मात्रै पुनर्निर्माण भएको छ । पहिलो किस्ता लिने ७७ हजार २ सय ५ परिवार मध्ये ६२ हजार १ सय ८८ घर परिवारले दोश्रो किस्ता बापतको रकम लिईसकेका छन् । तेश्रो किस्ता लिने ५२ हजार ७ सय ५ घर परिवार छन् । लाभग्राहिमा परेका ८४ हजार ५ सय ७० घर परिवार मध्ये १ सय ६६ जनाले रकम फिर्ता गरिसकेका छन् । चालु आर्थिक वर्ष भित्रै थप ७७२ घर परिवारलाई ५० हजार उपलब्ध गराउन सकिने गरी निर्णय भएको आयोजना प्रमुख लम्सालले जानकारी दिनु भयो । पुर्व मन्त्री गोकुल बास्कोटाको अध्यक्षतामा बसेको बैठकले २७ जना भुमिहिनलाई बसिरहेको स्थानमा घर बनाउन नदिने निर्णय भएको छ । त्यस्तै भुमिहिन र जोखिमयुक्त परिवारलाई पुनर्निर्माण गर्न सहजिकरण गर्ने निर्णय गरेको छ । सूचना अधिकारी गणेशप्रसाद घिमिरेका अनुसार पुनर्निर्माणसँगै स्थानाीय पूर्वाधारका सडक र पुल निर्माणको कार्य भईरहेको छ । 
पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रभावित सबै जिल्लाका नागरिकहरुका लागि यो सुविधा उपलब्ध गराएको हो । पहिलो किस्ता लिईसकेका, दोश्रो किस्ता लिएर घर निर्माण गर्न नसकेका जोखिम वर्गमा परेका परिवारका लागि थप ५० हजार रुपैया उपलब्ध गराएर निर्माण सम्पन्न गर्ने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शुशिल ज्ञवालीले बताउनु भयो । जिल्ला आयोजना कार्यान्वयन इकाईले जोखिम वर्गमा सूचिकृत भई निजी आवास पुनर्निर्माणको लागि यस अघि तेश्रो किस्ता रकम लिईसकेका तथा साझेदार संस्थाको सहयोगमा समेटिएका लाभग्राहीहरु यस्तो थप अनुदानका लागि नसमेटिने गरी र सो बाहेकका लाभग्राहीहरुलाई थप अनुदानका लागि सम्भाब्य लाभग्राहीको रुपमा जिल्ला सहजीकरण समितिबाट पहिचान गर्नु पर्ने निर्णय गरेको थियो । स्थानीय सरकारका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुसँग पनि आयोजनाले छलफल गरेको छ । 
बैठकमा जोखिम वर्गमा परेका ब्यक्तिहरुको विवरणका बारेमा छलफल भएको छ । १ हजार ६ सय ५५ घर परिवार उक्त वर्गामा परेका छन् । जस मध्ये १ सय ५५ परिवारको साझेदार संस्थाले घर निर्माण गर्न सहयोग गरेका छन् । जोखिम वर्गमा परेका ७ सय ७२ घर परिवारले ५० हजार रुपैया थप पाउने भएका छन् । जसले अझै घर निर्माण गर्न सकेका छैनन । जिल्लामा सबै भन्दा धेरै पनौती नगरपालिकामा १ सय २२, बनेपा नगरपालिकामा १ सय १५, बेथान्चोक गाउँपालिकामा ३५, भुम्लु गाउँपालिका ४१, चौरीदेउराली गाउँपालिका ३६, धुलिखेल नगरपालिका ७३, खानिखोला गाउँपालिका १३, महाभारत गाउँपालिका ५, मण्डनदेउपुर नगरपालिका ६२, नमोबुद्ध नगरपालिका ८४, पाँचखाल नगरपालिका ८५, रोशी गाउँपालिका ५५ र तेमाल गाउँपालिकामा ४६ जना जोखिम वर्गमा परेका परिवारको नीजि आवास पुनर्निर्माण हुन सकेको छैन । जोखिम वर्गका लाभग्राहीलाई दोश्रो किस्ता उपलब्ध गराउँदाका बखत तेश्रो किस्ताको रकम ५० हजार रुपैया अनुदान थप उपलब्ध गराउने छ । दोश्रो किस्ता लिएका लाभग्राहीका हकमा तेश्रो किस्ता रकम उपलब्ध गराउँदाका बखत तेश्रो किस्ता रकममा ५० हजार रुपैया थप उपलब्ध गराउने ब्यवस्था गरिएको छ । तेश्रो किस्ता लिईसकेका तथा साझेदार संस्थाबाट ५० हजार रुपैया थप अनुदान रकम दिएको वा घर निर्माण गरि दिएको अवस्थामा उपलब्ध हुने छैन । 
जिल्लामा ९८ हजार १९ जनाको सर्भे गरिएको थियो । ७८ हजार ७ सय ७७ घर परिवार लाभग्राही भएकोमा ७३ हजार ८ सय ९९ घर परिवारले सम्झौता गरी पहिलो किस्ता लिएका थिए । ६२ हजार १ सय ६५ जनाले दोश्रो किस्ता लिएका छन् भने ५२ हजार ७ सय ५ जनाले तेश्रो किस्ता लिएका छन् । १ सय ६६ घर परिवारले लिएको रकम फिर्ता गरेका छन् ।