2026 June 25/ 04:08: 13pm

बनेपा/कुवेतबाट घर फर्किएकी २४ बर्षिया युवतीमा कोरोना संक्रमण देखिएको छ । जेठ २९ गते कुवेतबाट नेपाल फर्किएकी युवती बनेपा नगरपालिकाले तयार गरेको क्वारेन्टाईनमा १४ दिन बसेर अस्पतालको परिक्षणमा पिसिआर नेगेटिभ आएको भन्दै असार १६ गते घर पठाईएको थियो । विदेशबाट फर्किएको २१ दिन पछि उनीमा कोरोना देखिएको थियो । 
    ‘धुलिखेल अस्पतालले पिसिआर परिक्षण गरी कोरोना संक्रमण नभएको लिखित जानकारी गराए पछि क्वारेन्टाईनबाट घर पठाएका हौं’–एक कर्मचारीले भने–‘विदशेबाट फर्किएको १४ दिन पुरा भएको, पिसिआर परिक्षणमा समेत नेगेटिभ रिपोर्ट आएकाले युवतीका बुबालाई बुझाएर पठाएका हौं ।’ बनेपा नगरपालिका वडा नम्वर १० घर भएकी युवती बैदेशिक रोजगारका क्रममा कुवेत गएकी थिईन् । कुवेतबाट फर्किएर उनि सिधै क्वारेन्टाईनमा बसिरहेकी थिईन् । ११ औ दिनमा उनको आरडिटी परिक्षण गरिएको थियो । आरडिटी परिक्षणमा शंकास्पद देखिएपछि उनको पिसिआर परिक्षण गरिएको थियो । 
    ‘धुलिखेल अस्पतालले मंगलबार दिएको पिसिआर परिक्षणमा उहाँमा कोरोना नभएको उल्लेख छ’– बनेपा नगरपालिका स्वास्थ्य शाखाका एक कर्मचारीले भन्नुभयो–‘अस्पतालमा पुगेर एक सय रुपैया तिरेर ल्याएको रिपोर्ट गलत रहेछ ।’ अस्पतालले सहज रुपले नाम फरक परेर गलत रिपोर्ट गएको रहेछ भन्ने जानकारी गराएको उहाँले बताउनु भयो । बैदेशिक रोजगारबाट आएकाले उहाँलाई शुरु देखि नै क्वारेन्टाईनमा राखिएको थियो । क्वारेन्टिनबाट घर गएकी महिलामा भोलिपल्टै पोजेटिभ देखिए पछि नगरपालिकाले तत्कालै परिवारलाई नगरपालिकाको क्वारेन्टिनमा राखेको छ भने उनलाई उपचारका लागि टेकु पठाईएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा संक्रमण थपिएको बताउनु भयो । यस अघि ६ जनामा देखिएको संक्रमण निको भई घर फर्किसकेको डा. झाले बताउनु भयो ।  
    बेथान्चोक गाउँपालिकाका युवा कोरोना निको भएर घर फर्किएका छन् । उनि बुधबार डिस्चार्ज भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।