2026 June 25/ 04:08: 22pm

जो ‘कोरोना’ रोक्न भूमिका खेलिरहेका छन्
धुलिखेल/छिमेकी देश चीन र भारतमा कोरोना भाईरसको संक्रमण बढेसँगै नेपालमा पनि कोरोना संक्रमण फैलन नदिन नेपाल सरकारले २०७६ चैत्र ११ गते देखि लकडाउन गर्ने निर्णय ग¥यो । त्यस अघि नै काभ्रेपलाञ्चोक जिल्लामा कोभिड १९ को महामारी रोक्न स्थानीय सरकारहरुले आफ्नो इलाका भित्र लकडाउन गर्ने निर्णय गरेका थिए । 
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको संयोजकत्वमा कोभिड १९ को रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि कमाण्ड पोष्ट गठन गरिएको थियो । कमाण्ड पोष्टमा प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य कार्यालय र धुलिखेल अस्पतालका प्रतिनिधिहरुलाई सदस्यमा मनोनित गर्नु भएको थियो । सदस्यहरुमा विष्णु दल गण धुलिखेलका प्रमुख सेनानी सुवास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडेल, शशस्त्र प्रहरी बल नेपाल १५ नम्वर गण हेडक्वाटर पाँचखालका प्रमुख एसपी पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काभ्रेका प्रमुख अनुन्धान अधिकृत सरोज निरौला, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झा, धुलिखेल अस्पतालका डा. सुमन ताम्राकार र सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडा रहनु भएको छ । कमाण्ड पोष्टको सदस्य सचिवमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झा रहनु भएको छ । 
कोरोना भाईरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि कमाण्ड पोष्ट सँगै जिल्ला स्तरीय स्वास्थ्य संकट ब्यवस्थापन केन्द्र गठन गर्ने निर्णय भएको थियो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको संयोजकत्वमा कमाण्ड पोष्ट र स्वास्थ्य आपतकालिन समिति गठन भएको छ । जसमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी र नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु सल्लाहकार रहनु भएको छ भने जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख र धुलिखेल अस्पतालका प्रतिनिधि सदस्य रहेका छन् । स्थानीय तहमा गठन भएका उक्त समितिले आवश्यकता अनुसार स्थानीय स्तरमा स्वंयसेवकहरु परिचालन गर्ने र सामाजिक दुरी कायम राखी नागरिकहरुलाई सुरक्षित राख्न, अत्यावश्यक बस्तुहरुको अभाव हुन नदिन र जिल्लामा रहेको समितिसँग समन्वय गरी कार्य गर्ने कार्यादेश प्राप्त गरेको छ । सोहि अनुसार कार्य भईरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो । 
 जिल्ला स्तरीय कमिटी सँगै पालिका स्तरमा समेत प्रमुख÷अध्यक्षको संयोजकत्वमा स्वास्थ्य संकट ब्यवस्थापन केन्द्र गठन भएको छ । समितिमा पालिका प्रमुख÷अध्यक्ष संयोजक रहने ब्यवस्था छ भने प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य संयोजक र सुरक्षा निकायका प्रतिनिधि रहेका छन् । महामारी नियन्त्रणका लागि कमाण्ड पोष्टले सर्वदलिय बैठक, स्थानीय सरकारका प्रमुखहरुसँगको निरन्तर छलफल, उद्योग बाणिज्य संघ, उद्योगी ब्यवसायी, नागरिक समाजका प्रतिनिधिहरुसँग निरन्तर छलफल गरिरह्यो । जसका कारण बैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुको परिक्षण, होम क्वारेन्टाईन, जिल्ला जिल्लामा फर्कने चाहने र आउन चाहनेहरुको उद्धार तथा ब्यवस्थापन, खाद्य बस्तुको संकट हुन नदिन निरन्तरको ब्यवस्थापन गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिनु भयो । जिल्लाबासीहरु सँगको सहकार्य र एकताले कोभिड १९ को महामारी जिल्लामा फैलन नपाएको उहाँले बताउनु भयो । आरडिटी परिक्षणमा कोरोना संक्रमणको आशंका गरिएकाहरुलाई पनि पिसिआर परिक्षणमा कोरोना देखिएको छैन । देखिएका पाँच जना पनि निको भएर घर फर्किसकेका छन् । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लाबाट विभिन्न पहलकदमी तथा प्रयासहरु भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो । प्रजिअ तिमल्सिनाका अनुसार सुरक्षा निकाय, स्वास्थ्य कार्यालय काभ्रे, सबै स्थानीय तहहरु, राजनैतिक दलहरु, उद्योगी, व्यवसायी, यातायात व्यवसायी, संचारकर्मी, विभिन्न संघसंस्था सबैको एकिकृत प्रयासमा जिल्लालाई सुरक्षित बनाउने प्रयास गरिएको तिमल्सिनाले बताउनु भयो । लकडाउन अवधिभर औषधी, स्वास्थ्य सामग्री जस्ता अत्यावश्यक सेवाको उत्पादन तथा बिक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्री वितरण, विकास आयोजनाहरुको सञ्चालन, आवश्यक निर्माण सामाग्रीको ढुवानी र बैङ्किङ तथा वित्तीय सेवालाई सूचारु गर्न केन्द्रिय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेश स्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग जिल्लास्तरिय क्राइसिस म्यानेजमेन्ट सेन्टर काभ्रेले आवश्यक समन्वय गरी सुरक्षाका मापदण्ड पुरा गरी, सामाजिक दुरी कायम गरी, संक्रमणको जोखिमको अवस्था मुल्याङ्कन गरी सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले बताउनु भयो । 
जिल्लामा रहेका एम्बुलेन्सहरुको विवरण संकलन गरी तयारी अवस्थामा राखिएको छ । स्थानीय तह, अस्पताल तथा विभिन्न संघ संस्थाहरु मार्फत संचालन भएका ३५ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको हो । जिल्लामा क श्रेणीमा कुनै पनि एम्बुलेन्स छैनन । ख श्रेणीका चार वटा र ग श्रेणीका ३१ वटा एम्बुलेन्स छन् । ति मध्ये सरकारी १७ वटा, नीजि १६ वटा र गैह् सरकारी संस्थाबाट संचालित २ वटा एम्बुलेन्स संचालन भएका छन् । सुरक्षा निकाय तथा कमाण्ड पोष्टले सबै गाउँपालिका, नगरपालिका तथा नीजि र सरकारी क्षेत्रबाट संचालन भएका एम्बुलेन्स, एम्बुलेन्सका चालकलाई प्रशिक्षण सहित हाईअर्लट गराएको छ । 
    धुलिखेल नगरपालिकामा पहिले सबै भन्दा धेरै ७० शैयाको क्वारेन्टिन तयार गरिएको थियो । वर्षातका कारण तीन पालिका चौरीदेउराली, महाभारत र खानीखोला गाउँपालिकाको पनि क्वारेन्टाईन थप गर्ने निर्णय भएको छ । जिल्लाका अधिकांश पालिकाहरुमा क्वारेन्टिनको संख्या थपिएको छ । भईरहेका आईसोलेसन वार्डको क्षमता विस्तार गरिएको छ । धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा  आईसोलेसन बेड छन् ।
    कोरोना भाईरसको संक्रमण रोक्न जिल्लाका १९ स्थानमा हेल्प डेक्स राखिएको छ । धुलिखेल नगरपालिका वडा नम्वर ७ को चेकप्वाईट, बनेपा नगरपालिका ८ बसपार्क, पनौती नगरपालिका ७ बसपार्क, रोशी गापा ९ मंगलटार, भुम्लु गापा ८ भुम्लुटार, महाभारत गापा ४ बुढाखानी, मण्डनदेउपुर २ नाल्दुम, वडा नम्वर १ को कात्तिके, बेथान्चोक गाउँपालिका पार्टीखर्क, मण्डनदेउपुर नगरपालिका ६ सिपाघाट र खानीखोला गाउँपालिका ६ ताल्ढुंगा लगायतका स्थानमा हेल्प डेक्स राखी नागरिकहरुलाई सहयोग पु¥याईएको छ 
    जिल्लामा लकडाउन कार्यान्वयन गर्न र कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाईएको छ । स्थानीय तहहरु पूर्ण तयारीमा छन् । बजारमा कालोबजारी र अभाव हुन नदिन अनुगमन भईरहेको छ । प्रहरीका सबै युनिटहरु, शशस्त्रले पनि अनुगमन गरेको छ । सेनाको टोलीले क्वारेन्टिन निर्माणमा सहयोग गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको नेतृत्वमा सुरक्षा निकायहरु नागरिकको सुरक्षामा कृयाशिल भएका छन् भने जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी स्थानीय तहका प्रमुखहरुसँगको समन्वयमा स्थानीय सरकारहरुले गर्ने कार्यमा समन्वयको भूमिका निभाईरहनु भएको छ । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु स्थानीय सरकारहरुले नागरिक प्रति खेल्ने भूमिकालाई शशक्त बनाउँदै नागरिकको सुरक्षाका लागि खटिरहनु भएको छ ।