2026 June 25/ 04:08: 47pm

धुलिखेल/आगामी आर्थिक वर्ष २०७७/२०७८ का लागि स्थानीय सरकारले प्रस्तुत गरेको बजेट कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनसँगै स्थानीय आवश्यकता अनुसारको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ । 
धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिकाले प्रस्तुत गरेको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सिपमुलक कार्यक्रममा बजेट विनियोजन गरेका छन् । त्यस्तै बेथान्चोक, खानीखोला, भुम्लु, रोशी, महाभारत गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । चौरीदेउराली गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ भने बजेट नीति तथा कार्यक्रमको छलफल पश्चात प्रस्तुत गर्नेछ । तेमाल गाउँपालिकाको सभाका लागि सदस्यहरु बीच साँझसम्म सहमति जुट्न सकेको थिएन । अधिकांश पालिकाहरुले कोरोनाबाट मुक्त हुन स्थानीय क्षेत्रमा स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् । विद्यालयको पठनपाठन नभएको अवस्थामा बालबालिकाहरुको शिक्षाका लागि स्थानीय सरकारले फरक फरक खालको कार्यक्रम मार्फत अध्ययन सूचारु गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । 
धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले कोरोना भाईरसले थला पारेको नागरिकहरुको जीवन सहज र सरल बनाउने नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको बताउनु भयो । नगर प्रमुख अशोककुमार ब्याञ्जूले कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, पूर्वाधार र गरिवी निवारणलाई प्राथमिकता दिएको बताउनु भयो । आगामी आर्थिक वर्षका लागि नगरपालिकाको १ अर्व ११ करोड ११ लाख ११ हजारको बजेट प्रस्तुत गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । बजेट सीमाबाट चालू खर्च ५१ करोड ४ लाख ४० हजार अर्थात ४५.९४ प्रतिशत र पूजिगत तर्फ ६० करोड ६ लाख ७१ हजार अर्थात ५४.०६ प्रतिशत हुने गरी बाँडफाँड गरिएको छ । मेयर गरिवी निवारण कार्यक्रम, प्रत्येक नगरबासीको घरमा एकघर एकधारा, उपमेयर महिला उत्थान कार्यक्रम, उपमेयर सुत्केरी प्रोत्साहन कार्यक्रम, धुलिखेलको आवाजः छुवाछुत मुक्त समाज, विद्यार्थी शिक्षक साप्ताहिक भेटघाट, मेयरसँग विद्यार्थी, बालमैत्री नगर घोषणा, पूर्ण स्वस्थ शहर अभियान, १५ शैयाको सरुवा रोग सम्वन्धी अस्पताल स्थापना, मृगौला विरामीका लागि डाईलोसिस सेवा विस्तार, कोभिड कोषमा जम्मा भएको १ करोडमा थप ५० लाख, एक वडा एक उत्पादन, एक वडा एक नमुना सहकारी, एक सहकारी एक उत्पादन कार्यक्रम, एक खेलमैदान, एक पोखरी, एक नर्सरी र एक बाल उद्यान, मिडिया सेन्टरको स्थापना लगायतका महत्वपूर्ण कार्यक्रमहरु बजेटमा समेटिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । 
चालु वर्ष आ.व.२०७६/०७७ को संसोधित अनुमान ९१ करोड १३ लाख ३२ हजार बजेट मध्ये आय ६३ करोड ६५ लाख ९९ हजार र व्यय ४८ करोड ५ लाख ८३ हजार रुपैया रहेको उपप्रमुख विमला शर्मा चौलागाईले सभामा प्रस्तुत गरेको स्थिती समिक्षामा उल्लेख गरिएको छ । कोरोना भाईरसका बीच ५२.७४ प्रतिशत प्रगति भएको उपप्रमुख चौलागाईले बताउनु भयो । कोरोना रोगको जोखिमलाई मध्यनजर गरी ७० वर्ष माथिका सवै ज्येष्ठ नागरीक १५८४ जना, ६० वर्ष माथिका  दलित ज्येष्ठ नागरीक ८५ जना र पूर्ण अपाङ्गता भएका व्यक्ति ७७ जना गरी जम्मा  १७४६ जनाको रु ५० हजार बराबरको र नगरपालिका भित्र सरसफाइको लागि काम गर्ने २० जना सरसफाईकर्मीको १ लाख बराबरको कोरोना विमा गरिएको, नगरपालकाले लिने सवै प्रकारका व्यवसाय करमा लकडाउन अवधीभरको राजश्वमा दामासाहीले छुट दिईएको, नगरपालिकालाई तिर्न बुझाउन पर्ने सवै प्रकारका कर बक्यौता २०७७ आषाढ मसान्त सम्म बुझाएमा बक्यौतामा लाग्ने हर्जाना र जरिवाना शतप्रतिशत छुट दिइएको उहाँले बताउनु भयो । नगरपालिकामा ५ करोड लगानीमा ६ सय सिट क्षमताको सभा हल निर्माण तथा रु २ करोड लागतमा पर्यटकीय दृष्टिले महत्वपुर्ण देविस्थान पार्कको निर्माण तथा धुलिखेल मुख्य वजारमा सपिङ्ग कम्प्लेक्स निर्माण कार्य निर्माण भएको तथा धुलिखेल मनोरञ्जन पार्कमा कोशेलीघर तथा पसल कवल निर्माण गरिएको उहाँले बताउनु भयो । शैक्षिक हव, स्वस्थ शहर, बालमैत्री नगर जस्ता महत्वपूर्ण कार्यक्रममा नगरपालिकाले ध्यान दिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । सभामा आव २०७५/०७६ को यथार्थ तथा २०७६/०७७ को शंशोधित स्थिती समिक्षा प्रगति प्रतिवेदन र धुलिखेल नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को आर्थिक विधेयक, विनियोजन विधेयक उपप्रमुख विमला शर्मा चौलागाईले प्रस्तुत गर्नु भएको थियो भने बार्षिक नीति तथा कार्यक्रम र बजेट नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गर्नु भएको थियो । नगरको छैटौ सभामा प्रस्तुत भएको बन सम्वन्धी विधेयक समितिका संयोजक पुष्प राउतले प्रस्तुत गर्नु भएको थियो । उक्त विधेयक शंशोधन सहित पास भएको छ । उत्त विधेयक पास गरेसँग छैटो सभा सम्पन्न गरिएको थियो । 
त्यस्तै बनेपा नगरपालिकाको छैठौ नगर सभाबाट १ अर्ब १५ करोड ६३ लाख ७१ हजारको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख लक्ष्मीनरसिं बादेले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने उपप्रमुख रेखा सापकोटा दाहालले आर्थिक वर्ष २०७७/०७८ को बजेट, विनियोजन विधेयक, आर्थिक विधेयक प्रस्तुत गर्नु भएको थियो । 
नगर प्रमुख लक्ष्मी नरसिं बादेले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम र उपप्रमुख रेखा सापकोटा दाहालले प्रस्तुत गर्नु भएको विधेयक तथा बजेट सर्वसम्वतीले पास गरेको छ । नगरपालिकाले आगामी वर्ष कोभिड १९ को महामारी नियन्त्रण गर्न नगरको सम्पूर्ण ध्यान केन्द्रित गर्दै आवश्यक बजेट विनियोजन गरेको छ । त्यस्तै शिक्षा, पूर्वाधार, कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको नगर प्रमुख बादेले बताउनु भयो । भवन जस्ता भौतिक संरचना निमार्ण गर्दा भुमिगत जल सिंचित गर्ने कुरालाई जोड दिने, आधारभुत तहमा हाम्रो बनेपा हाम्रो गौरब विषयमा स्थानिय पाठ्यक्रम विकास तथा कार्यन्वयन गर्ने, विश्वमा देखिएको कोभिड १९ संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न क्वारेन्टाईन सञ्चालन निरन्तरता, स्वास्थ्योउपचारका लागी विशेष बजेटको ब्यबस्था गरिएको छ । परम्परागत पेशालाई आधुनिकिकरण र ब्यबसायीकरण गर्ने, परम्परागत र निर्वाहमुखी कृषि प्रणलीलाई ब्यबसायीकरण गर्ने, बालि विमा कार्यक्रम सञ्चालनका लागी बढावा दिने, चण्डेश्वरी बनलाई ब्यबस्थित पिकनिक स्पटको रुपमा विकास गर्ने, काष्ठकला, हाते उधेग, पर्यटक समाग्री उत्पादन गर्ने उधेग र लधु तथा साना उधेगलाई प्रोत्साहन गर्ने, सहकारी उधेग ब्यबसाय प्रर्वद्धन अन्र्तगत स्थानिय स्रोत र कच्चा पदार्थमा आधारीत सहकारी उधेग स्थापना गर्दा कर छुट दिने, सवारी साधन पाटी प्यालेस कारखाना उधोग आदिबाट निस्कने ध्वनी प्रदुषणलाई ब्यबस्थापन गर्ने, फोहोर ब्यबस्थापन गर्न आधुनिक प्रविधी स्थापना गर्ने, दीर्घकालीन रुपमा ठोस फोहोरको ब्यस्थापनाको लागी निजी क्षेत्र सगं समन्वय गर्ने, बनेपाको भंगिनी सम्बन्ध भएको जनबादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र स्थित सिगात्से नगरपालिका संगको सम्बधलाई थप मजबुत, प्रगाढ एब उपयोगी बनाउने लगायतका कार्यक्रम समेटिएको छ । 
सबै वडाका मुल सडक स्तरोन्ती र कालोपत्रे, बसपार्कमा बहुदेश्यिय ब्यापारिक भवन निमार्ण, पुण्यमाता करिडोर र खोलाको दायाँ बायाँ हरित बेल्ट सहित करिडोर निमार्ण, नगर क्षेत्र समेटिने गरी रिङरोड निर्माण सम्भाब्यता अध्ययन, सुविधा सम्पन्न सभा हल र अतिथी गृह निमार्ण गर्न सम्भाब्यता अध्ययन, आधारभुत तहको शिक्षा अनिवार्य र निशुल्क भएको नगर घोषणा गर्ने, नेपाल बहुप्राविधिक महाविद्यालयमा कृषि तथा पशुपालनका विषयहरु समाबेश गर्ने, मोतियाविन्दुका विरामी न्युनिकरण गर्दै निशुल्क शल्यक्रिया गर्ने, हरेक वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना, एक घर एक धारा अभियान, पुर्ण सरसफाई मुक्त नगर घोषणा, महिलासँग उपमेयर कार्यक्रम, सडक बालबालिका मुक्त शहर, जेष्ठ नागरीकलाई निशुल्क स्वास्थ्य परिक्षण गर्ने, एक वडा एक खेल मैदान निमार्ण गर्ने, वडा वडामा कृषि उत्पादन संकलन केन्द्र निमार्ण गर्ने, चण्डेश्वरी देखि गोसाईकुण्ड, भ्युटावर सम्म १४ सय सिँढी निर्माण गर्ने लगायतका कार्यक्रमहरुलाई प्राथमिकिकरण गरी बजेट विनियोजन गरेको उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो । सभामा चालु वर्षको समिक्षा र आगामी वर्षका योजनाहरुलाई अझै प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेका उपप्रमुख सापकोटा दाहालले बताउनु भयो । त्यस्तै पनौती नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्व ३२ करोड २८ लाख ७७ हजारको बजेट प्रस्तुत गरेको छ । कोभिड १९ रोकथामसँगै नगर भित्रका सांस्कृतिक महत्वको १२ वर्षे मकर मेलालाई ब्यबस्थिथ बनाउन, काभ्रे उपत्यका खानेपानि आयोजनाको पानी वितरण गर्न, १५ शैयाको नगर अस्पताल निमार्ण गर्ने लगायतका कार्यक्रम प्राथमिकतामा परेका छन् । कोभिड १९ ले पारेको प्रभाबबाट संस्थागत सामथ्र्यका आधारमा सम्पति कर, घरबहाल कर, आय ठेक्का, ब्यबसाय कर, ब्यबसाय दर्ता, नविकरण र रोयल्टीमा छुट दिने नगर सभाले निर्णय गरेको छ । वाँझो जमिनलाई वडागत एकत्र गर्ने, संस्थागत सुत्केरीलाई प्रोत्साहित गर्दै शुन्य होम डेलिभरी युक्त नगर बनाईने, नगरपालिकालाई पुर्ण खोपयुक्त नगर बनाईने, समुदायका विपन्न महिलाहरुको नेतृत्व तथा क्षमता बुद्धि गराई आर्थिक सामाजिक सास्कृतिक राजनैतिक विकासमा अग्रणी भुमिका निर्वाहमा सहयोग गर्ने निर्णय भएको नगर प्रमुख भिम न्यौपानेले जानकारी दिनु भयो । 
प्रत्येक विद्यालयमा ईन्टरनेटको ब्यबस्था गर्ने, महिला सहकारी समुहहरुलाई कृषि ब्यबसायमा आर्कषित गर्ने, कृषि बाली र पशु विमा कार्यक्रमलाई प्रोत्साहन गर्ने, बालमैत्री विद्यालयका सुचकहरुको सुनिश्चितताका लागी बाल क्लबलाई थप प्रोत्साहन गर्ने, भैसि सुत्केरी भत्तालाई निरन्तरता दिने, बैदेशिक रोजगारीबाट फर्किएका यूवा यूवतिलाई लक्षीत गरी सहकार्यमा २ लाख सम्म अनुदान रकम उपलब्ध गराउने, कृषकलाई ४ सय वटा पाडी वितरण गर्ने, उच्च मुल्यका ब्यबसायीक फलफुल बगैचा स्थापनाका लागी ६० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराउने, आव २०७७÷७८ मा सबै वडालाई बालमैत्री वडा घोषणा गरी नगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्ने, युवा रोजगार कार्यक्रमलाई ब्यबस्थित गरी न्युनतम रोजगारीको प्रत्याभुति गराउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको नगर प्रमुख भिम न्यौपानेले बताउनु भयो । स्थानीय स्तरमा रोजगार बढाउन सक्ने कृषि, पशुपालनमा ब्यवसायीकतालाई प्राथमिकतामा राखएिको छ । नगर प्रमुख न्यौपानेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख गिता बञ्जाराले बजेट र विधेयकहरु प्रस्तुत गर्नु भएको थियो । 
मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवाले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वधारलाई प्राथमिकता दिएको बताउनुभयो । नमोबुद्ध नगरपालिका प्रमुख टंकप्रसाद तिमल्सिना शर्माले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको जानकारी दिनुभयो । पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले राष्ट्रिय गौरवका योजनाको पूर्ण कार्यान्वयन सँगै स्थानीय सरकारले विनियोजन गरेको बजेट कृषि, स्वास्थ्य र शिक्षामा बढी केन्द्रित भएको बताउनुभयो । रोसी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले विदेशबाट फर्किएकालाई स्वरोजगार, स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिएको बताउनुभयो । ५८ करोड ९९ लाख ५६ हजारको बजेट रोशीको दृष्टी, पर्यटन र कृषि भन्ने नारा सहित शुरु भएको अध्यक्ष लामाले बताउनु भयो । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले भौगोलिक विकटता रहेको र यातायात, खानेपानी लगायतका समस्या रहेकाले पूर्वधारसँगै स्वास्थ्य, कृषि र शिक्षालाई प्राथमिकता दिएको बताउनु भयो । बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले कोरोना रोगथाम, रोजगारी, शिक्षा, कृषि लगायत क्षेत्रलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । चौँरीदेउराली गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतमले स्वास्थ्य, कृषि र खानेपानीलाई प्राथमिकता दिएको बताउनुभयो । भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले स्वास्थ्य, कृषि, पशुपालन, खानेपानीलाई प्राथमिकता दिएको बताउनुभयो । तेमाल गाउँपालिकाका प्रवक्ता एवम वडा  न ७ का अध्यक्ष ज्ञानबहादुर तामाङले स्वास्थ्य, पूर्वधार र शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो । खानीखोला गाउँपालिकाका प्रवक्ता एवम् वडा न ६ का अध्यक्ष मानबहादुर गोलेले कोरोना रोकथाम, सडक, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर बजेट निर्माण भइरहेको जानकारी दिनुभयो । 

धुलिखेलका प्राथमिकता
–    मेयर गरिवी निवारण कार्यक्रम
–    प्रत्येक नगरबासीको घरमा एकघर एकधारा
–    उपमेयर महिला उत्थान कार्यक्रम
–    उपमेयर सुत्केरी प्रोत्साहन कार्यक्रम
–    धुलिखेलको आवाजः छुवाछुत मुक्त समाज
–    विद्यार्थी शिक्षक साप्ताहिक भेटघाट 
–    मेयरसँग विद्यार्थी
–    बालमैत्री नगर घोषणा
–    पूर्ण स्वस्थ शहर अभियान
–    १५ शैयाको सरुवा रोग सम्वन्धी अस्पताल स्थापना
–    मृगौला विरामीका लागि डाईलोसिस सेवा विस्तार
–    कोभिड कोषमा जम्मा भएको १ करोडमा थप ५० लाख
–    एक वडा एक उत्पादन
–    एक वडा एक नमुना सहकारी, एक सहकारी एक उत्पादन कार्यक्रम
–    एक खेलमैदान, एक पोखरी, एक नर्सरी र एक बाल उद्यान
–    मिडिया सेन्टरको स्थापना
–    स्थानीय बस्तुको उपभोग र उत्पादनलाई प्रोत्साहन
–    उर्वर जमिन बाँझो राख्न प्रतिवन्ध


बनेपाका प्राथमिकता 
–    सबै वडाका मुल सडक स्तरोन्ती र कालोपत्रे 
–    बसपार्कमा बहुदेश्यिय ब्यापारिक भवन निमार्ण
–    पुण्यमाता करिडोर र खोलाको दायाँ बायाँ हरित बेल्ट सहित करिडोर निमार्ण
–    नगर क्षेत्र समेटिने गरी रिङरोड निर्माण सम्भाब्यता अध्ययन  
–    सुविधा सम्पन्न सभा हल र अतिथी गृह निमार्ण गर्न सम्भाब्यता अध्ययन  
–    आधारभुत तहको शिक्षा अनिवार्य र निशुल्क भएको नगर घोषणा गर्ने । 
–    नेपाल बहुप्राविधिक महाविद्यालयमा कृषि तथा पशुपालनका विषयहरु समाबेश गर्ने
–    मोतियाविन्दुका विरामी न्युनिकरण गर्दै निशुल्क शल्यक्रिया गर्ने 
–    हरेक वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना 
–    एक घर एक धारा अभियान 
–    पुर्ण सरसफाई मुक्त नगर घोषणा 
–    महिलासँग उपमेयर कार्यक्रम 
–    सडक बालबालिका मुक्त शहर 
–    जेष्ठ नागरीकलाई निशुल्क स्वास्थ्य परिक्षण गर्ने । 
–    एक वडा एक खेल मैदान निमार्ण गर्ने । 
–    वडा वडामा कृषि उत्पादन संकलन केन्द्र निमार्ण गर्ने । 
–    चण्डेश्वरी देखि गोसाईकुण्ड, भ्युटावर सम्म १४ सय सिँढी निमार्ण 

पनौतीका प्राथमिकता
–    बैदेशिक रोजगारीबाट फर्किएका यूवा यूवतिलाई २ लाख अनुदान
–    सांस्कृतिक महत्वको १२ वर्षे मकर मेला ब्यवस्थित बनाउने
–    काभ्रे उपत्यका खानेपानी आयोजनाको पानी वितरण गरिसक्ने 
–    १५ शैयाको नगर अस्पतालको निमार्ण गर्ने 
–    सामथ्र्यका आधारमा सम्पति कर, घरबहाल कर, आय ठेक्का, ब्यबसाय कर, ब्यबसाय दर्ता, नविकरण र रोयल्टीमा छुट 
–    वाँझो जमिनलाई वडागत एकत्र गर्ने 
–     सुत्केरी महिलाको स्वास्थ्यका लागि शुन्य होम डेलिभरीयुक्त नगर बनाईने । 
–     पुर्ण खोप युक्त नगर 
–    प्रत्येक विद्यालयमा ईन्टरनेटको ब्यबस्था 
–    महिला सहकारी समुहहरुलाई कृषि ब्यबसायमा आर्कषित गर्ने  
–    कृषि बाली र पशु विमा कार्यक्रमलाई प्रोत्साहन गर्ने 
–    बाल मैत्री विद्यालय र वडा घोषणा गर्ने 
–    भैसि सुत्केरी भत्तालाई निरन्तरता 
–    कृषकलाई ४ सय वटा पाडी वितरण गर्ने ।