बालबालिकाहरुका लागि रेडियो ‘पाठशाला’
बनेपा/काभ्रेमा रहेको प्राइम एफएम १०४ दशमलव ५ मेगाहर्जले रेडियो कक्षा सञ्चालन गरेको छ । धुलिखेल र बनेपा नगरपालिकाको संयुक्त कार्यक्रम रेडियो पाठशाला असार १ गते देखि शुरु भएको छ । जेठ १५ गते देखि धुलिखेल नगरपालिकाले शुरु गरेको रेडियो पाठशाला त्यस अघि बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले युनेस्को काठमाडौंको सहकार्यमा सम्पन्न गरेको थियो ।
हरेक दिन विहान ९.३० देखि १२ बजेसम्म कक्षा देखि १० सम्म अंग्रेजी, नेपाली, विज्ञान, सामाजिक र गणित विषयको अध्ययन प्राईम एफएम मार्फत भईरहेको छ । कोरोना भाइरसका कारण विद्यालय सञ्चालन हुन नसकेको विषम परिस्थितिमा धुलिखेल र बनेपा नगरपालिकाले प्राईम एफएम १०४.५ मेगाहर्ज कार्यक्रम “रेडियो पाठशाला” सुरु गरेको हो । रेडियो कक्षामा ६ देखी १० कक्षासम्मको सामाजिक अध्ययन, अंग्रेजी, नेपाली, गणित र विज्ञान विषय गरी पाँच वटा विषय अध्यापन हुने गरेको छ । कक्षा १० को बिहान ९ः३० देखी १० बजेसम्म, कक्षा ९ को १० बजे देखि १०ः३० सम्म, १०ः३० देखी ११ः०० बजेसम्म कक्षा ८, ११ः०० बजेदेखी ११ः३० सम्म कक्षा ७ र ११ः३० बजेदेखी १२ बजेसम्म कक्षा ६ को कक्षा सञ्चालन हुने गरेको छ । देशका ४० भन्दा बढी जिल्लामा पहुँच रहेको प्रदेशस्तरीय रेडियो मार्फत सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी हुने एफएमले विश्वास लिएको छ । अडियो, भिडियो मार्फत सञ्चालित कार्यक्रम चाहेको बेलामा जुनसुकै ठाउँमा रहेर पनि हेर्न तथा सुन्न सकिनेछ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड– १९ को संक्रमणबाट बच्न सरकारले देशभर लकडाउन गरेको थियो ।
बन्दाबन्दी लम्बिँदै जाँदा कक्षाहरु नियमित शुरु हुने सम्भावना नभए पछि रेडियो कक्षा सुरु गरिएको नगरपालिकाकाहरुले जनाएका छन् । लकडाउनका कारण ७० लाख बालवालिका विद्यालय खुल्ने प्रतिक्षामा छन् भने ४ लाख ८२ हजार ७ सय ७ जना एसईई को पर्खाइमा थिए । सरकारले एसईई खारेज गरे सँगै कक्षा ११ र त्यस पछिको परिक्षाहरुको अन्योलता बढेको छ । लकडाउन नभएको भए यो समयमा भर्ना अभियान लगभग सकिएर विद्यार्थी नियमित रुपमा विद्यालय शिक्षा लिइरहेका हुने थिए । तर अहिले सबै शैक्षिक संस्था बन्द छन् । यो क्रम कहिलेसम्म रहन्छ भन्ने टुंगो छैन । कतिपय विद्यालयले अनलाइन कक्षा पनि सञ्चालन गरेका छन् । तर सबै ठाउँमा इन्टरनेटको पहुँच नपुगेको, शिक्षक, अभिभावक र विद्यार्थी नयाँ प्रविधिमा पोख्त नभएको लगायतका कारण अनलाइन कक्षा सोचेजती प्रभावकारी बन्न सकेको छैन । तर सबैको सहज पहुँच पुग्ने रेडियो कक्षा भने आम विद्यार्थीको लागि सबैभन्दा उपयोगी हुने विश्वास गरिएको छ ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले लकडाउनका कारण आम विद्यार्थी, अभिभावकमा परेको मनोवैज्ञानिक असर कम गर्न वैकल्पिक माध्यमको रुपमा रेडियो तथा अनलाइन मार्फत कक्षाहरु सञ्चालनमा ल्याईएको बताउनु भयो । विद्यालयहरु लामो समयदेखी बन्द रहेको र अब कहिले खुल्छ भन्ने समेत टुंगो नहुँदा वैकल्पिम माध्यमहरु अघि नसार्ने हो भने विद्यार्थीहरुमा अबको भविष्य के हुने, कसरी सिकाई गर्ने, कस्तो तयारी गर्ने भन्ने विषयले मनोवैज्ञानिक असर पर्नसक्ने भएकाले कक्षाहरु शुरु गरिएको बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो ।









