क्वारेन्टिनबाटै स्वाब संकलन
वर्षातका कारण डाँडापारी र कोशिपारी क्षेत्रमा नियमित सडक सञ्चालन हुन नसक्ने भएकाले महाभारत, खानीखोला र चौरीदेउराली गाउँपालिकाका लागि धुलिखेल नगरपालिकाको ब्यवस्थापनमा क्वारेन्टिन निर्माण भएको छ । बैदेशिक रोजगार तथा अन्य क्षेत्रबाट क्वारेन्टिनमा बस्न आउने उक्त पालिकाका नागरिकहरुका लागि सोहि क्वारेन्टिन प्रयोग हुने छ ।
‘विदेशबाट फर्किएका नागरिकलाई गाउँपालिकाको क्वारेन्टिनमा पु¥याउन तथा स्वाब संकलन गरी धुलिखेलसम्म ल्याउन बर्षातका कारण कठिन हुन सक्छ’–प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भन्नुभयो–‘पछि हुने समस्याका लागि अहिल्यै ब्यवस्थापन गरिएको हो ।’ क्वारेन्टिनका लागि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी रहने छन् भने अन्य ब्यवस्थापन धुलिखेल नगरपालिकाले गर्नेछ । नगरपालिकाले तीन गाउँपालिका र धुलिखेल नगरपालिकाका लागि आवश्यक थप क्वारेन्टिन निर्माण गर्ने नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । क्वारेन्टिन ब्यवस्थापनका लागि गाउँपालिकाहरुले धुलिखेल नगरपालिकालाई आवश्यक रकम उपलब्ध गराउने छन् । बैदेशिक रोजगारमा गएका नागरिकहरु धमाधम फर्किन थाले पछि पालिकाहरुले क्वारेन्टिनको क्षमता विस्तार गरिरहेका छन् भने जिल्ला स्थित कमाण्ड पोष्टले राजधानीबाट धुलिखेलसम्म जिल्लाबासी नागरिकलाई ल्याई धुलिखेलबाट सम्वन्धित पालिकाहरुमा रहेको क्वोरिन्टनमा नागरिकलार्य पठाईनेछ । होटलमा बस्न चाहनेहरुका लागि धुलिखेलका होटलहरुले पनि क्वारेन्टिन तयारी गरेका छन् ।
धुलिखेल नगरपालिकाले क्वारेन्टिनमा बस्ने ब्यक्तिहरुको संख्या थपिदै गए पछि क्वारेन्टिनबाट धुलिखेल अस्पतालसम्म ब्यक्तिहरु लैजान कठिन हुने भन्दै क्वारेन्टिन स्थलबाटै स्वाब संकलन गर्न शुरु गरेको छ । स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले नगरपालिका तथा दाताहरुको सहयोगमा क्वारेन्टिन स्थलबाटै स्वाब संकलन गर्न शुरु गरिएको बताउनु भयो । जिल्लामा धुलिखेल नगरपालिकामा ६५, बनेपा नगरपालिकामा ५०, पनौती नगरपालिकामा ६०, नमोबुद्ध नगरपालिकामा ५६, पाँचखाल नगरपालिकामा ११, मण्डनदेउपुर नगरपालिकामा २५ शैयाको क्वारेन्टिन निर्माण भएको छ भने रोशी गाउँपालिकामा ८५, महाभारत गाउँपालिकामा ४६, चौरीदेउराली गाउँपालिकामा ३०, भुम्लु गाउँपालिकामा ३०, बेथान्चोक गाउँपालिकामा ३५, तेमाल गाउँपालिकामा १०५, खानीखोला गाउँपालिकामा २४ शैयाको क्वारिन्टन तयार भएको छ । धुलिखेल अस्पतालमा कर्मचारीका लागि ५२ शैयाको गरी ६७४ शैयाको क्वारेन्टिन तयारी अवस्थामा छन् । पालिकाहरुमा रहेको क्वारेन्टिनमा ६८ जना राखिएको छ । क्वारेन्टिन र आईसोलेसनको संख्या बढाउने जिल्ला स्थित कमाण्ड पोष्टको निर्णय छ । धुलिखेल र बनेपाको शिर मेमोरियल अस्पतालमा भएको आईसोलेसन बेडको क्षमता बढाउने निर्णय भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।
बैठकमा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, खानिखोला गाउँपालिका अध्यक्ष कृष्ण खुलाल, कमाण्ड पोष्टका सदस्यहरु विष्णु दल गणका गणपति सुबास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्याल, सशस्त्र प्रहरी बल काभ्रेका प्रमुख पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धानका प्रमुख सरोज निरौला, कमाण्ड पोष्टका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा लगायतको सहभागिता रहेको थियो ।









