दादुरा रुवेला खोप अभियान जिल्लामा सम्पन्न भएको छ । दुई चरणमा सम्पन्न भएको दादुरा रुबेला खोप कोरोना भाईरसका महामारीका बीच पनि संचालन भई सम्पन्न भएको छ । लकडाउन भित्र पनि बालबालिकाहरुलाई सुरक्षित तरिकाले दादुरा रुबेला खोप लगाईएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार जिल्लामा लक्ष्य अनुसार ८३.२३ प्रतिशत बालबालिकाहरुले दादुरा रुवेला खोप लगाएका छन् । २५ हजार ७ सय ३५ बालबालिकाहरु कोरोना माहामारीका बीच पनि खोप केन्द्र पुगेका थिए । सुरक्षित रुपले सामाजिक दुरी कायम गरी दोश्रो चरणको खोप सेवा संचालन गरिएकाले असहज परिस्थिती सिर्जन नभएको डा. झाले बताउनु भयो । पहिलो चरण २०७६ चैत्र २ गते देखि १० गतेसम्म चार नगरपालिका र ४ गाउँपालिकामा संचालन भएको थियो भने दोश्रो चरणमा दुई नगरपालिका र ३ गाउँपालिकामा संचालन भएको थियो । लकडाउनको अघिल्लो दिन पहिलो चरणको खोप सेवा सम्पन्न भए पनि दोश्रो चरणको चैत्र १४ देखि २२ गतेसम्म संचालन गर्ने तयारी थियो । २०७७ जेठ ११ गते देखि २० गतेसम्म रोकिएको चरणको खोप सेवा संचालन गरिएको डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।
खोप अभियान अन्र्तगत धुलिखेलमा २५ सय ९९, नमोबुद्ध २ हजार २५, पाँचखाल २७ सय ४०, मण्डनदेउपुर २४ सय २५, रोशी १७ सय १५, भुम्लु गाउँपालिका १ हजार १६, चौरीदेउराली ८ सय १६, तेमाल १ हजार ३८, बनेपा ४ हजार ५५, पनौती नगरपालिकामा ३३ सय १०, बेथान्चोकमा १४ सय ६९, महाभारतमा १३ सय ६९ र खानिखोलामा ११ सय ४८ जना बालबालिकाहरुले खोप लगाएका छन् । प्रतिशतका आधारमा सबै भन्दा धेरै नमोबुद्ध नगरपालिकामा ९९.६६ प्रतिशत बालबालिकाहरुले खोप लगाएका छन् । धुलिखेल नगरपालिकामा ९४.१७ प्रतिशत, मण्डनदेउपुर नगरपालिका ९३.४५ प्रतिशत, बेथान्चोक गाउँपालिका ९२.७३ र खानीखोला गाउँपालिकाले ९२.३६ प्रतिशत सफलता प्राप्त गरेका छन् । ९२ प्रतिशत भन्दा धेरै खोप लगाएका दुबै पालिकाहरुमा बालबालिकाहरुको उत्साहपूर्ण सहभागिता थियो । बेथान्चोक गाउँपालिकाले बालबालिकाहरु कोहि नछुटाई खोप लगाएको स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सिनाले जानकारी दिनु भयो । निमन्त्रणा वितरण गर्दा संकलन गरिएको पछिल्लो चैत्र महिनाको तथ्याकंका आधारमा शतप्रतिशत बालबालिकाहरुले खोप लगाएका छन् । सरकारी तथ्याङ्क लक्ष्यका आधारमा गरिने भएकाले मात्रै ९२.७३ प्रतिशत देखिएको उहाँले बताउनु भयो । जिल्ला भरी ७७.९४ प्रतिशत बालबालिकाहरुले खोप लगाएको तथ्याङ्क भए पनि केहि बाहेक अधिकांश बालबालिकाहरु खोपको पहुँचमा पुगेका छन् । जिल्ला खोप समन्वय समिति काभ्रेले दुबै चरणमा सम्पन्न हुने खोप अभियानलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको थियो । पहिलो चरणमा भुम्लु, चौरीदेउराली, तेमाल र रोशी गाउँपालिका, मण्डनदेउपुर, धुलिखेल र नमोबुद्ध नगरपालिकामा संचालन गर्ने निर्णय गरेको थियो भने दोश्रो चरणमा बनेपा र पनौती नगरपालिका, बेथान्चोक, खानीखोला र महाभारत गाउँपालिकाका भित्र रहेका ९ महिना देखी ५ वर्ष मूनीका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाई नेपालबाट यि रोग उल्मुलन गर्ने निर्णय गरेको थियो । खोपको यो पाँचौ राष्ट्रिय अभियान हो । जिल्लामा यो समुहमा ३० हजार ९ सय २० बालबालिका थिए । बालबाकिलाहरुका लागि जिल्लामा ९ सय ६२ खोप केन्द्र तय भएका थिए भने १ हजार ९ सय २४ स्वयंसेवीका र १ हजार ८७ जना खोप कार्यकर्ता परिचालन गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । राष्ट्रिय अभियानहरु पहिलो २००४, दोश्रो २००८, तेश्रो २०१२, चौथौ २०१६ मा आयोजना गरिएको थियो । हरेक चार÷चार वर्षमा गरिने अभियान यो अन्तिम चरणको हो । यो खोप लगाउने बालबालिकाहरुलाई उक्त रोगको अलावा झाडापखाला र विफरका रोगबाट समेत बचाउन सकिन्छ । २०२३ भित्र नेपाललाई पोलियो र दादुरा रुवेला उल्मुलन गरिसक्ने लक्ष्य अनुसार बालबालिकाहरुलाई महामारीको बीच पनि खोप लगाउने अभियान शुरु गरिएको झाले बताउनु भयो । विशेषगरी इट्टाभट्टामा काम गर्ने तथा श्रममा जाने मजदुरका सन्तानहरु नछुटुन् भन्ने उद्देश्यले हरेक खोप केन्द्रहरुमा त्यो उमेर समुहका बालबालिकाहरु ल्याउने गरी स्थानीय सरकारका प्रतिनिधिहरु तथा विभिन्न सरोकारवाला ब्यक्तिहरुलाई अनुरोध गरिएको थियो ।
बाग्मती प्रदेशमा नुवाकोट बाहेक सबै जिल्लाहरुलाई पूर्णखोप जिल्ला घोषणा गरिएको छ । अझै केहि बालबालिकाहरु खोप लगाउन नियमित खोप केन्द्र जाने नगरेको तथ्याङ्कले देखाएको छ ।









