१३७ को बीमा, ५२ को परिक्षण
बनेपा/कोभिड–१९ महामारीमा अग्रपक्तिमा रहेर जिम्मेवारी निर्वाह गरिरहने जिल्लाका संचारकर्मीहरुको कोरोना बीमा र कोरोना परिक्षण गरिएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सचिव नगेन्द्र अधिकारीका अनुसार जिल्लामा कृयाशिल १ सय ३७ जना सदस्यहरुको १ लाख रुपैयाँको बीमा महासंघले गरेको छ भने केहि संचारकर्मीहरुको अन्यत्र बीमा गरिएको छ । महासंघले बीमाका लागि गैसस महासंघसँग समन्वय गरेको छ । प्रति पत्रकार ६ सय रुपैयाँमा १ लाख रुपैयाँको बीमा गरिएको छ । बीमा कम्पनी, गैसस महासंघले नेपाल पत्रकार महासंघको उक्त अभियानलाई सहयोग पु¥याएका छन् । बीमाका लागि जिल्लामा रहेको सिविक फोरमको तर्फबाट प्रति व्यक्ति ६ सयको दरले ३० जना पत्रकारहरुका लागि १८ हजार रुपैयाँ उपलब्ध गराएको छ । कार्यकारी निर्देशक बसन्त कुँवरले नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना र गैसस महासंघ काभ्रेका अध्यक्ष टोम सापकोटालाई उक्त चेक हस्तान्तरण गर्नु भएको थियो ।
यसअघि विन्धबासिनी सहकारीले उपलब्ध गराएको ३० हजार रुपैयाँ पनि बीमाका लागि खर्च गरिने सचिव नगेन्द्र अधिकारीले जानकारी दिनुभयो । १ सय ३७ मध्ये २७ जना महासंघमा सदस्य नरहेर पनि कृयाशिल संचारकर्मीहरु हुनुुहुन्छ । युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका शाखा प्रवन्धक जितलाल श्रेष्ठले सबै सदस्यहरुको महासंघ काभ्रे शाखा मार्फत कोरोना बीमा गरिएको बताउनु भयो । यसअघि महासंघले स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाको समन्वयमा जिल्लाको बनेपा, धुलिखेल, पनौती, नमोबुद्धमा पत्रकारहरुको कोरोना परिक्षण गरिएको थियो ।









