2026 June 25/ 02:45: 00pm

धुलिखेल/कोरोना संक्रमण फैलदै जाँदा विभिन्न प्रयोजनका लागि विदेशिएका जिल्लाबासी नागरिकहरुलाई सुरक्षित घर फर्काउन स्थानीय तहहरुले जिल्ला स्तरीय क्वारेन्टाई निर्माण गर्न एकद्वार प्रणाली लागु गरेका छन् ।
जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रको बैठकमा स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधिहरुले उक्त निर्णय गरेका हुन् । बैठकको अध्यक्षता गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले काभ्रे जिल्लाबाट भारत लगायतका अन्य मुलुकमा रहेका नागरिकहरुको तथ्याङ्क प्रारम्भिक रुपमा ११ हजार ५ सय ८७ रहेको जानकारी गराउनुभयो । जसअनुसार भारतमा मात्रै १ हजार १ सय २५ जना रहेका छन् । जसमध्ये महिला ३ सय १० जना र पुरुष ८ सय १५ जना छन् । पालिकास्तरमा विदेशिएका नागरिकहरुको संख्या धुलिखेलमा ९ सय ९४, बनेपा ७ सय ३१, पनौती ५ सय ६४, पाँचखाल १ हजार ३ सय २५, नमोबुद्ध १ हजार २ सय १२, मण्डनदेउपुर नगरपालिका १ हजार ३ सय ६९, रोशी गाउँपालिका ४ सय ९३, तेमाल गाउँपालिका ४ सय १७, भुम्लु गाउँपालिका ६ सय ३७, चौरी देउराली १ हजार ८१, महाभारत गाउँपालिका ५ सय ९७, खानीखोला गाउँपालिका २ सय १२ र बेथान्चोक गाउँपालिका ८ सय ३० जना छन् । एकैपटक सबै नेपाल नफर्किए पनि भारतबाट फर्कनेहरुको संख्या एकैपटक हुन सक्ने अनुमान स्थानीय सरकारले गरेका छन् ।
बैठकले नेपाल भित्रका संक्रमित जिल्लाबाट पालिकामा फर्कने ब्यक्तिहरु समेतका लागि जिल्लामा ल्याई पिसिआर परिक्षण गराउने र परिक्षणको रिपोर्ट प्राप्त भएपछि सम्वन्धित पालिकाले बुझेर लैजाने सहमति भएको छ । पालिकाहरुले धुलिखेल नगरपालिकाको खातामा नगरपालिकाहरुको हकमा ५ लाख र गाउँपालिकाको हकमा ३ लाख रुपैयाँ जम्मा गर्ने र त्यहि रकमबाट धुलिखेल र बनेपामा ३÷३ सय बेडको थप क्वारेन्टाईन बेड तयार गर्ने निर्णय गरेको छ । अन्य पालिकाहरुको हकमा भएका क्वारेन्टाईनहरुको संख्या बढाई अनिवार्य रुपमा १ सय बेडको बनाउने निर्णय गरेको छ । जिल्लामा ३ सय ४२ बेडको क्वारेन्टाईन तयारी अवस्थामा छ ।
त्यस्तै बैठकले क्वारेन्टाईनमा विरामी कुरुवाका लागि अलग्गै २५ बेडको क्वारेन्टाईन तयार गर्ने निर्णय गरेको छ । धुलिखेल अस्पताललाई ५० शैयाको आईसोलेसन वार्ड बनाउने, प्रस्तावित उक्त आईसोलेसन बेडको भौतिक तथा आर्थिक ब्यवस्थापनका लागि नेपाल सरकार, बागमती प्रदेश सरकार र जिल्ला स्थित स्थानीय सरकारहरुसँग समन्वय गर्ने निर्णय गरेको संयोजक प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिनुभयो । त्यस्तै धुलिखेल अस्पतालमा हप्ताको दुई दिनमात्रै स्वाब संकलन गरिदै आएकोमा हरेक दिन स्वाब संकलन गर्ने ब्यवस्था मिलाउने साथै क्वारेन्टाईनको ब्यवस्थापनका लागि स्वास्थ्यकर्मीहरुको ब्यवस्थापन स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाको संयोजकत्वमा स्वास्थ्य सेवा ब्यवस्थापनको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको छ ।
बैठकमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, बेथान्चोक गाउँपालिकाका प्रमुख प्रेमबहादुर तिमल्सिना, खानीखोला गाउँपालिकाका प्रमुख कृष्णबहादुर खुलाल, नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ, पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार, सहायक प्रजिअ लक्ष्मी होमागाई खतिवडा, विष्णु दल गणका गणपति प्रमुख सेनानी सुबास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्याल, सशस्त्र प्रहरी बल १५ नम्वर गण हेडक्वाटर काभ्रेका प्रमुख एसपी पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धान काभ्रेका प्रमुख सरोज निरौला, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, धुलिखेल अस्पतालका प्रमुख प्रशासकिय निर्देशक रमेश माकजु, प्रवक्ता सुमन ताम्राकार लगायतको सहभागिता रहेको थियो ।

यस्तो छ तयारी
    धुलिखेल अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक घर भएकी २९ बर्षिया ११ दिनकी सुत्केरी महिलाको कोरोना भाईरसकै कारण निधन भए पछि काभ्रेपलाञ्चोक जिल्लाले संक्रमण फैलन नदिन थप सतर्कता अपनाएको छ । धुलिखेल अस्पताललाई सरकारले कोरोना परिक्षणको प्रयोगशाला बनाए सँगै दैनिक अस्पतालले कोरोना संक्रमण आशंका गरिएका ब्यक्तिहरुबाट संकलन गरिएका स्वाबहरुको परिक्षण गरिरहेको छ । स्वाब संकलनकै कारण स्वास्थ्य मन्त्रालयले गर्ने कतिपय पत्रकार सम्मेलनका सूचनाहरुका कारण जिल्लामा भ्रम समेत उत्पन्न गराएको छ । ‘जिल्लामा स्वाब परिक्षण मात्रै गरिएको हो तर कतिपय अवस्थामा जिल्लाकै नागरिक भनेर समाचार सार्वजनिक हुँदा त्रास फैलन गएको छ’–कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापन समिति कमाण्ड पोष्टका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भन्नुभयो–‘स्वास्थ्य मन्त्रालयललाई यसबारे गम्भिर भएर ब्यक्तिको पहिचानका आधारमा बसोबास गरिरहेको स्थायी, अस्थायी ठेगाना वा अन्य केहि भएमा समेत जानकारी लिएर मात्रै सार्वजनिक गर्न अनुरोध गरेका छौं ।’ छिमेकी जिल्लामा भएको घटनाले जिल्लालाई थप सचेत र सजग गराएको प्रजिअ तिमल्सिनाले बताउनु भयो । मंगलबार साँझसम्म जिल्लामा कुनै नागरिक कोरोनाको संक्रमणमा नपरेको उहाँले बताउनु भयो । 
    कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लाबाट विभिन्न पहलकदमी तथा प्रयासहरु निरन्तर भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो । प्रजिअ तिमल्सिनाका अनुसार सुरक्षा निकाय, स्वास्थ्य कार्यालय काभ्रे, सबै स्थानीय तहहरु, राजनैतिक दलहरु, उद्योगी, व्यवसायी, यातायात व्यवसायी, संचारकर्मी, विभिन्न संघसंस्था सबैको एकिकृत प्रयासमा जिल्लालाई सुरक्षित बनाउने प्रयास गरिएको छ । अत्यावश्यक वस्तु तथा आपूर्ति सेवा सञ्चालनमा रहेको, अन्य क्षेत्रमा लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन भएको उहाँले बताउनु भयो । नेपाल सरकारबाट जेठ २० गते मङ्गलबार मध्यरातसम्म पुन लकडाउनको अवधी थप गरेकाले सोको कार्यान्वयन प्रभावकारी रुपमा गर्ने जिल्ला सुरक्षा समितिबाट निर्णय गरिएको छ । भारत लगायत अन्य देशबाट जिल्लामा आएका व्यक्तिहरुको विवरण सम्बन्धित स्थानीय तहबाट अद्यावधिक गर्ने र निजहरुको स्थानीय तहको प्राथमिक स्वास्थ्य केन्द्रमा भएको आरडिटी परिक्षणलाई निरन्तरता दिने आरडिटी परिक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएमा तत्काल पिसिआर परिक्षणका लागि धुलिखेल अस्पताल पठाउने ब्यवस्था गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । 
लकडाउन अवधिभर औषधी, स्वास्थ्य सामग्री जस्ता अत्यावश्यक सेवाको उत्पादन तथा बिक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्री वितरण, विकास आयोजनाहरुको सञ्चालन, आवश्यक निर्माण सामग्रीको ढुवानी र न्युनतम बैङ्किङ तथा वित्तीय सेवालाई सूचारु गर्न केन्द्रिय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेश स्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग जिल्लास्तरिय क्राइसिस म्यानेजमेन्ट सेन्टर काभ्रेले आवश्यक समन्वय गरी सुरक्षाका मापदण्ड पुरा गरी, सामाजिक दुरी कायम गरी, संक्रमणको जोखिमको अवस्था मुल्याङ्कन गरी सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनु भयो । न्युन आय भएका दैनिक ज्यालादारीमा काम गर्ने घरपरिवारहरुलाई हालसम्म जिल्ला स्थित स्थानीय तहहरुबाट २० हजार ४ सय २८ घरपरिवारलाई प्याकेजमा राहत उपलब्ध गराइएको छ । आईतबार साँझसम्म बिदेशबाट आएका समेतको गरी १ हजार ५ सय १८ जना व्यक्तिहरुको आरडिटीबाट परिक्षण भएको र जम्मा १ हजार ९ सय २ जनाको पिसिआरबाट परिक्षण भइरहेकोमा १ सय ७२ जना जिल्लाका र १ हजार ७ सय ०८ जना शुक्रराज ट्रपिकल अस्पताल टेकुबाट पठाइएका र २० जना अन्य जिल्लाका व्यक्तिहरुको स्वाबको परिक्षण भएकोमा २६ स्वाबको परिक्षण कार्य भइरहेको, ३७ जनाको पोजेटिभ रिपोर्ट प्राप्त भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । 
जिल्लाको धुलिखेल अस्पतालमा ८ बेड, बनेपा स्थित शिर मेमोरियल अस्पतालमा ५ वेड र बनेपा न.पा. स्थित नेपाल रेडक्रस सोसाइटी, काभ्रेमा ५ वेड गरी जम्मा १८ बेडको आइसोलेसन कक्ष रहेको छ साथै धुलिखेल न.पा. ७ स्थित सञ्जीवनी माध्यमिक विद्यालयमा ६५ शैयाको क्वारेन्टाइन वेड, बनेपा न.पा. ६ स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा ५० शैयाको क्वारेन्टाइन वेड, पनौती न.पा.मा १० शैयाको क्वारेन्टाइन वेड, नमोबुद्ध न.पा. मा १८ शैयाको क्वारेन्टाइन वेड, पाँचखाल न.पामा ११ शैयाको क्वारेन्टाइन वेड., रोशीगा.पा. मा १० शैयाको क्वारेन्टाइन वेड, महाभारत गा.पा. मा ३५ शैयाको क्वारेन्टाइन वेड, मण्डनदेउपुर न.पा. मा १५ शैयाको क्वारेन्टाइन वेड, चौरीदेउरालीगा.पा. मा १५ शैयाको क्वारेन्टाइन वेड, भुम्लु गा.पा. मा ३० शैयाको क्वारेन्टाइन वेड, वेथानचोक गाउँपालिका १० शैयाको क्वारेन्टाइन वेड, तेमाल गाउँपालिका ६ शैयाको क्वारेन्टाइन वेड, खानीखोलागाउँपालिका १५ शैयाको क्वारेन्टाइन वेड र धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनको लागि ५२ बेडको क्वारेन्टाइन बेड सहित जम्मा  सय ४२ शैयाको क्वारेन्टाइन वेड तयारी अवस्थामा रहेको विष्णु दल गण धुलिखेलका गणपति प्रमुख सेनानी सुबास खड्काले जानकारी दिनुभयो ।