कोरोना छल्दा आत्महत्या, ३४ महिनामा ३ सय ३२
मोतीराम तिमल्सिना
धुलिखेल
कोरोनाले २ महिनामा ३ जनाको ज्यान लिँदा पछिल्ला तीन वर्षमा जिल्लामा विभिन्न कारण देखाउँदै ३ सय ३२ जनाले ज्यान गुमाएका छन् । बार्षिक एक सय भन्दा धेरैले अनाहकमा ज्यान गुमाउने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
छिमेकी जिल्ला सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा २९ बर्षीया सुत्केरी महिलाको निधन भएको खबरले मुलुकभर त्रास फैलियो । छिमेकी जिल्ला सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका नागरिकहरु सन्त्रासमा रहे । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीहरु बीच पनि उक्त घटनाले सन्नाटा छायो । तर दैनिक आत्महत्याबाट मर्नेहरुका बारेमा कसैको चासो, चिन्ता, सन्नाटा र अभियान रोक्ने विषयमा छलफल हुन सकेन ।
‘मुलुकभर हिजो बुधबारसम्म कोरोनाका कारण ३ जनाको ज्यान गएको छ, केहि संक्रमित छन्, केहि निको भएर घर फर्किसकेका छन् । कोरोनाको महामारी भित्र लुकेको आत्महत्या न्यूनिकरण गर्न जुट्ने बेला भएको छ’–जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले भन्नुभयो–‘कोरोनाले तीनजना ब्यक्तिको निधन हुँदा जति चिन्ता र चासो छ आत्महत्या न्युनिकरण गर्न चासो कम भयो ।’ स्थानीय सरकार, नागरिक समाज, सुरक्षाकर्मी, विभिन्न सामाजिक संघ संस्थाको दायित्व आत्महत्या न्यूनिकरण गराउन लाग्नु पर्ने पौडेलको भनाई छ । लकडाउन अवधीको दुई महिना चैत्र ११ देखि जेष्ठ १० गतेसम्म २७ जनाले ज्यान गुमाएका छन् । चालु वर्षको १० महिनामा १ सय ७ जनाले ज्यान गुमाईसकेका छन् । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ सय २ जनाले ज्यान गुमाएका छन् । १० महिनामा १ सय ७ जनाले ज्यान गुमाउनु अघिल्लो वर्षको तथ्याङ्कमा अधिक हो । आर्थिक वर्ष २०७४÷०७५ मा भने १ सय २३ जनाले ज्यान गुमाएका थिए । २१ जना कम रहेको अघिल्लो वर्षको तथ्याङ्कलाई यो वर्ष १० महिनामै उछिनिसकेको छ ।
प्रहरी प्रमुख एसपी पौडेलले महिनाका आधारमा सबैभन्दा धेरै बैशाखमा आत्महत्या गरेको जानकारी दिनु भयो । बैशाख पछि श्रावण महिना आत्महत्या धेरै गर्नेमा पर्छ । चालु वर्षको बैशाखमा १५ जनाले आत्महत्या गरेका छन् भने अघिल्लो आर्थिक वर्षको बैशाखमा १३ र २०७४÷०७५ मा १६ जनाले आत्महत्या गरेका थिए । चैत्र, कार्तिक, मंसिर महिनामा पनि आत्महत्या गर्नेहरुको संख्या थपिएको छ । पुष र माघ महिनामा हरेक वर्ष आत्महत्या कम हुने गरेको तथ्याङ्क छ । पुष महिनामा ८ जना र माघ महिनामा ६ जनाले आत्महत्या गरेका छन् । समयका आधारमा विहान ६ बजे देखि १२ बजेसम्म आत्महत्या गर्नेहरुको संख्या छ । लिङ्गका आधारमा पुरुष ५४, महिला ४३, बालक ४ र बालिका ६ जनाले चालु वर्षको १० महिनामा आत्महत्या गरेका छन् । महिला भन्दा धेरै पुरुष आत्महत्या गर्न उत्प्रेरित भएका छन् ।
जातजातिका आधारमा जनजाति समुदायका ५० जनाले आत्महत्या गरेका छन् र क्षेत्री समुदायका २८, बाहुन १६, दलित १३ जनाले आत्महत्या गरेका छन् । उमेर समुहका आधारमा आत्महत्या गर्नेहरु १६ वर्ष मुनिका ७ जना छन् । काभ्रेमा ९ बर्षिया बालकले आत्महत्या गरेका छन् । २५ वर्ष उमेर समुहसम्म २६ जना, २६–३५ वर्षसम्मका २१ जना, ३६–४५ उमेर समुहका २० जना, ४६– ६० बर्ष उमेर समुहका २२ जना र ६० वर्ष भन्दा माथी उमेर समुहका ११ जनाले ज्यान गुमाउनु भएको छ । ८४ वर्षीया बृद्धले आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा छ । बारका आधारमा सबैभन्दा धेरै आईतबार आत्महत्या गरेका छन् । बैवाहिक अवस्थाका आधारमा विवाहित ७६ जनाले आत्महत्या गरेका छन् भने अविवाहित ३१ जनाले आत्महत्या गरेका छन् । ९५ प्रतिशत ब्यक्तिहरुमा देखिने मानसिक रोगका कारण आत्महत्या गर्न पुग्ने गरेका छन् । मानसिक रोगको समयमै उपचार नहुँदा दैनिक आत्महत्याका घटना बढेका हुन् ।
जिल्लामा भएका आत्महत्याका घटनाहरुको अनुसन्धानमा प्रहरीले सामाजिक प्रतिष्ठामा आँच आएर, अभिभावक तथा आफन्तहरुबाट सकारात्मक सल्लाहको कमी भएर, आत्मबलमा कमी भएर, अबैध यौन सम्वन्ध तथा गर्भ, प्रेम सम्बन्धमा असफलता, घरेलु हिंसा, पारिवारीक झै–झगडा, गरिबी, उच्च महत्वकांक्षा राख्ने तर असफल हुने, मानसिक तनाव, निराशा, डिप्रेसन भएका विरामीको मद्यपान वा लागुपदार्थ सेवन गर्ने बानी, मानसिक असन्तुलन, मदिरापानको लत, लागुपदार्थको सेवन गर्ने बानी, आर्थिक नोक्सानी, जुवा तास, आत्मग्लानी÷पछुतो, दाईजोको कारण हिंसा, अन्धविश्वास र दीर्घरोग, धेरै पीडा हुने शारिरीक रोग र एचआईभी एड्स लगायतका कारण आत्महत्या बढिरहेको निष्कर्ष निकालेको छ । प्रहरीले आत्महत्या रोकथामका लागि युवा तथा किशोरकिशोरी, सम्बन्ध विच्छेद गरेर एक्लो जीवन बाँचिरहेका ब्यक्तिहरु, तनावयुक्त वैवाहिक जीवन, घरवार बिग्रिएर बसेका ब्यक्तिहरु, घरेलु तथा लैङ्गिक हिंसाबाट प्रभावित ब्यक्तिहरु, यौन शोषण, बलात्कार, सामाजिक लाञ्छना लगायतका विषयमा समाजले विशेष चासो राखी सकारात्मक सोचको विकास, अवसरको सिर्जनामा ध्यान दिनुपर्ने बताएको छ ।
एसपी पौडेलका अनुसार स्थानीय स्तरका सामुदायिक संघसंस्थाहरु र गैससहरुलाई आत्महत्या रोकथामका लागि जागरुक गराई स्थानीय सरकार मार्फत परिचालन गर्न सकिएको अवस्थामा आत्महत्या न्यूनिकरणमा महत्वपूर्ण योगदान हुन सक्ने छ । समाजको विकास ब्यक्ति रहँदासम्म भएकाले ब्यक्तिहरुको जीवनमा ध्यान दिन सरकारका कार्यक्रम र समुदायको सहयोग हुनुपर्नेमा विज्ञहरुले सुझाव दिएका छन् । ‘लकडाउन अवधिमा भएका आत्महत्या तथा अन्य अपराधमा प्रहरीले अनुसन्धानलाई तिब्र बनाएको छ’–एसपी रविकुमार पौड्यालले भन्नुभयो–‘प्रहरीले लकडाउन अवधिमा यसअघि भएका घटनामा संलग्न फरार अभियुक्त तथा अपराध नियन्त्रणमा बढाउनु पर्ने गस्ति र अनुसन्धानलाई तिब्र बनाएको छ ।’
अन्य अपराध न्यून
लकडाउनका अवधिमा अन्य अपराध न्युन भएका छन् । प्रहरी तथ्याङ्कमा सवारी ज्यान ५ वटा, फुटकर ज्यान ७ वटा, झुण्डी मृत्यु २२ वटा, चोरी तथा डाँका कसुर ३ वटा, ज्यान सम्वन्धी लडी मृत्यु २ वटा, लागु औषध गाँजा १ वटा, अभद्र ब्यवहार ८ वटा, डुबी मृत्यु २ वटा, पहिरोमा १ वटा, विष सेवन ५ वटा, हातहतियार खरखजना १ वटा, ज्यान मार्ने उद्योग १ वटा, बालयौन दुरुपयोग १ वटा, बहुविवाह १ वटा, जर्बजस्तिकरणी उद्योग १ वटा, जर्बजस्ति करणी १ वटा गरी ६२ वटा मुद्दा दर्ता भएका छन् । जसमा २४ जना पुरुष संलग्न छन् भने १७ जना महिला सहभागी छन् । १ जना बालक र २ जना बालिका अपराधमा संलग्न भएका छन् । २ महिनामा ४४ जनाले ज्यान गुमाएका छन् । विभिन्न घटनामा २६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना महिला छन् । १६ जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।









