2026 June 26/ 05:04: 07pm

धुलिखेल/नेपाली सेना विष्णु दल गण धुलिखेल, धुलिखेल अस्पताल र नेपाल रेडक्रस सोसाईटीले कोरोना संक्रमणका आशंका भएका ब्यक्तिहरुको उद्धार, उपचार र ब्यवस्थापनका बारेमा गरेको तयारीका बारेमा जिल्लामा रहेका १३ वटा स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखाका प्रमुखहरुलाई अभिमुखीकरण गराएको छ ।
एम्बुलेन्स चालकहरुलाई ट्राफिक सचेतनाका बारेमा जानकारी गराईएको छ । महामारीका बेला जिम्मेवारी अनुसारको दायित्वका बारेमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाली सेना विष्णु दल गण धुलिखेलका गणपति सुवास खड्का, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल लामा, धुलिखेल अस्पतालका विशेषज्ञहरुको टोलीले अभिमुखिकरण गराएको थियो । नेपाली सेना र धुलिखेल अस्पतालको टोलीले तयारीका सम्वन्धमा नमुना प्रर्दशन गरेको थियो ।गणपति कर्णेल सुबास खड्काले नेपाली सेनाको विष्णु दल गणले कोरोना संक्रमण फैलन नदिन जनचेतना मुलक कार्यक्रमका साथै कोरोना संक्रमण आशंका भएका ब्यक्तिहरुको तत्काल उद्धार र उपचार, उपचार पछिको अवस्थाका बारेमा समेत तयारी गरेको जानकारी दिनु भयो । गणले आफ्नै ब्यारेकमा भएको बुलेरो गाडी र एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । चालकहरुको सुरक्षाका लागि पिपिई सेट, सर्जिकल मास्क सेनिटाईजर, एम्बुलेन्समा आवश्यक पर्ने प्राथमिक उपचारका सबै सामाग्री, अक्सिजन सिलिण्डर, विरामीको श्वास समेत चालकसम्म पुग्न नसक्ने गरी एम्बुलेन्स र बुलेरो गाडीको ब्यवथापन गरेको कर्णेल सुबास खड्काले जानकारी दिनु भयो । नमुना प्रर्दशनी जिल्ला स्थित कमाण्ड पोष्ट तथा आपतकालिन ब्यवस्थापन कमिटीका सदस्यहरु, सल्लाहकारहरु, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    नमुना प्रर्दशनीमा नेपाली सेनाले एम्बुलेन्स देखि अस्पताल र शव अन्त्येष्टी सम्मको तयारी गरेको छ । रोग फैलन नदिन नेपाली सेनाले किटनासक औषधी छर्ने देखि ब्यक्तिको सुरक्षा र विरामीको सुरक्षाका लागि विशेष ध्यान दिएको छ । शंकास्पद ब्यक्तिको उद्धारमा जाँदा सुरक्षा, एम्बुलेन्सको अवस्था, विरामीका परिवारलाई दिईने सल्लाह, विरामी उपचार गराउन ल्याउँदा ध्यान दिनुपर्ने विषय र अस्पतालसम्म पु¥याउने र अस्पताल पु-याए पछिको बारेमा समेत तयारी गरेको छ ।