बनेपा/नेकपा माओवादी ‘विप्लव’ समुहका नेता लेखराज गजमेर लकडाउनको अवधीमा प्रहरी हिरासतमा परेका छन् । रामेछाप जिल्ला प्रशासनले गजमेरलाई रिहा गर्ने आदेश दिए लगत्तै गजमेरलाई काभ्रे प्रहरीले पक्राउ गरेको हो ।
विप्लब समुहका नेता लेखराज गजमेरलाई सिन्धुपाल्चोक जिल्ला प्रहरीले २०७६ फागुन ७ गते २५ हजार धरौटीमा रिहा गर्ने आदेश सुनाएको थियो । सिन्धुपाल्चोक जिल्लाबाट छुटे लगत्तै गजमेरलाई दोलखाले पक्राउ गरेको थियो । दोलखा जिल्ला प्रशासन कार्यालयले उनलाई साधारण तारेखमा रिहा गरेको थियो । दोलखा पछि रामेछाप जिल्लाले पक्राउ गरी गजमेरलाई हिरासतमा राखिएको थियो । रामेछापबाट २०७७ बैशाख १७ गते साधारण तारेखमा छुटेका गजमेरलाई सोहि दिन प्रहरीले पक्राउ गरी काभ्रे ल्याएको हो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को दफा १४० र संगठित अपराध निवारण ऐन २०७० अनुसार गजमेरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । गजमेर विरुद्ध काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिमा बम पड्काएको अभियोग दर्ता भएको छ । यसअघि काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकर पक्राउ परेकी थिईन् । अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिए पनि उनी हिरासतमै छिन् ।
को हुन् गजमेर ?
लामो समय देखि तत्कालिन नेकपा माओवादी पार्टीमा आबद्ध भएका गजमेर पार्टी फुटे पश्चात नेकपा बिप्लप निकट भातृ संगठन दलित मुक्ति मोर्चाको सदस्यको रुपमा रही पार्टीको दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्यको रुपमा कार्यरत छन् । दलित वर्गको सामाजिक उत्थान सम्बन्धी कार्यक्रममा सहभागी भई दलितको हक हितको लागी काम गर्दै आएको र जनचेतना फैलाउने काम गर्दै आएका गजमेर काठमाडौमा बस्दै आएका थिए । २०७६ पुष १६ गते मण्डनदेउपुर नगरपालिकामा बम राखेको अभियोगमा पक्राउ परेका हुन् । मण्डनदेउपुर नगरपालिका वडा नम्वर ६ स्थित मेलम्ची एण्ड ईन्द्रावती स्टोन प्रा.लि.को कम्पाउड भित्र बिष्फोटक पदार्थ प्रेसर कुकर बम जस्तो देखिने पदार्थ राखी त्रसित बनाएको अभियोग छ । उक्त विस्फोटक पदार्थलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको थियो । चौरीदेउराली गाँउपालिका वडा नम्वर ५ घर भएका ४० बर्षीय लेखराज गजमेरलाई धुलिखेल प्रहरीले हिरासत राखी अनुसन्धान गरिरहेको छ ।









