धुलिखेल/हेल्लो एम्बुलेन्स । सम्भव छैन । आउन सकिँदैन । अहिले अन्यत्र छु । अर्काेलाई फोन गर्नुस् । एम्बुलेन्स आवश्यकता परेर फोन गर्ने जो कोहिले प्राप्त गर्ने जवाफ हो यो । सबैले भोग्ने एउटै उत्तरबाट नागरिकको आवश्यकता पूरा हुन नसके पछि कोरोना भाईरसको महामारीबाट जोगाउन जिल्लामा संचालित एम्बुलेन्सहरुलाई कसिलो बनाउँदै जिपिएस प्रणाली जडान गरिएको छ । १६६०११२२००० मा फोन गर्नुस् सहज ढंगले प्राप्त गर्नुस् ।
विरामीलाई सहि समयमा सेवा प्रदान गर्ने उद्देश्यले जिल्लामा रहेका एम्बुलेन्सहरुमा जिपिए डिभाईस जडान गरी मनिटरिङ्ग शुरु गरिएको छ । ३५ वटा एम्बुलेन्स मध्ये ३० वटा एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी अस्पताल पूर्व सेवाका प्रमुख भोजराज ओझाका अनुसार जिल्लामा रहेका ३५ मध्ये ३० वटा एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । ‘धुलिखेल अस्पतालमा रहेका दुईवटा एम्बुलेन्समा पहिल्यै जिपिएस जडान गरिएको थियो भने नेपाल रेडक्रस सोसाईटी मार्फत हस्तान्तरण गरिएका चौरीदेउराली र बेथान्चोक गाउँपालिकामा रहेका दुई गरी चारवटा एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएको छ’– ओझाले भन्नुभयो–‘बाँकी ३१ मध्ये पाँचवटा एम्बुलेन्स सम्पर्कमा नगएको, नियमित नविकरण नगरेको तथा कागजपत्र समेत नभएको भन्दै जिपिएस प्रणाली जडानमा सहभागि भएका छैनन् ।’ एम्बुलेन्स सेवाका लागि हटलाईन १६६०११२२००० नम्वरमा फोन गर्न सकिने ब्यवस्था मिलाईएको छ ।
जिपिएस प्रणालीमा जडान भएको एम्बुलेन्सका बारेमा धुलिखेल अस्पतालमा रहेको मनिटर तथा सम्वन्धित गाउँपालिका तथा नगरपालिका र एम्बुलेन्स ब्यवस्थापन समितिले संचालन गरेको मोवाईलमा रेकर्ड रहनेछ । हरेक दिनको रेकर्ड वा बार्षिक तथा चाहेको समयावधीको रेकर्ड लिन सकिने गरी जिपिएस प्रणाली जडान गरिएको छ । जिपिएस प्रणाली मार्फत एम्बुलेस भएको अवस्थामा छैन भन्ने र जान नमान्ने अवस्थामा समेत सहजिकरण हुनेछ भने विरामीको स्थान नजिकै भएको एम्बुलेन्सलाई पहिलो प्रथामिकता राखी पठाईनेछ । एम्बुलेन्सको दुरुपयोग समेत नहुने विश्वास रहेको ओझाले बताउनु भयो । जिल्लामा ‘ख’ बर्गका चारवटा एम्बुलेन्सले २४ सै घण्टा सेवा दिनेछन् भने ‘ग’ वर्गका ३१ वटा एम्बुलेन्स छन् । छिमेकी जिल्ला सिन्धुपाल्चोकमा २७ वटा एम्बुलेन्स मध्ये तीनवटा एम्बुलेन्समा जडान गरिएको जिपिएस धुलिखेल अस्पतालमै केन्द्रित गरिएको छ । बाह्रविसे, जलविरे र मेलम्चीमा रहेका एम्बुलेन्समा प्रविधि जडान गरिएको ओझाले बताउनु भयो । स्वास्थ्य कार्यालय काभ्रे, धुलिखेल अस्पताल, नेपाल रेडक्रस सोसाईटी समेतको सहकार्यमा पालिकाहरुको सहयोगमा उक्त प्रविधि जडान गरिएको छ । प्रविधि जडान गरे बापत पालिकाहरुले ५ वर्षको डिभाईसको १२ हजार ५ सय र इन्टरनेट खर्च बापत मासिक ५ सय रुपैयाँ तिर्नु पर्नेछ ।









