धुलिखेल/महामारीको संक्रमण बढ्दै जाँदा दैनिकीहरु कष्टकर बनिरहेका छन् । बालबालिकहरु विद्यालय जान पाएका छैनन् । विद्यालय नगएका बालबालिकाहरुको मानसिकता परिवर्तन हुन थालेको छ । हरेक क्षेत्र प्रभावित भएका छन् । शैक्षिक क्षेत्र, तालिम तथा प्रशिक्षण केन्द्र, गैह्खाद्य बस्तु विक्री गर्ने ब्यवसायीक मल, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क लगायतका सार्वजनिक स्थलहरु अझै खुल्न सकेका छैनन् । सबै सरकारी कार्यालयहरु मार्फत सेवा दिने गरी सूचारु भएका छन् ।
सार्वजनिक जमघट, धार्मिक स्थलहरु (मन्दिर, गुम्बा, मस्जिद, चर्च, गुरुद्धार आदी) मा भेला भई ब्यक्तिहरु रमाउन पाएका छैनन् । रंगशाला, खेलकूद स्थल, फुटसल, शारिरीक सुगठन गर्ने स्थल तथा जिमखाना, फिटनेश सेन्टर, कपाल काट्ने सैलुन र ब्युटिपार्लरहरु अझै खुल्ने सम्भावना छैन । यस्ता क्षेत्रमा धेरै जमघट हुने भएकाले ब्यक्तिहरुमा संक्रमण फैलन सक्ने सम्भावना छ । घर घर गएर सेवा दिने र लिने ब्यक्तिहरु पनि छन् । घरमा बस्दा दिक्क मान्नेहरु दैनिक साँझ र विहान दौडमा निस्किनेहरु पनि छन् । योग मार्फत आफुलाई स्वस्थ बनाउनेहरु पनि छन् । अझै कतिसमय यो महामारी रहन्छ भन्ने एकिन नभएकाले मुलुकको ध्यान नै रोग नियन्त्रण गर्नेतर्फ केन्द्रित भएको छ । होटल, बार रेस्टुरेन्टहरु अझै बन्द छन् । जिल्लाका केहि रेस्टुरेन्टहरुले घर घर सेवा दिन थालेका छन् । होटलहरु ६ महिना बन्द गर्ने घोषणाले श्रममा आश्रित ब्यक्ति र परिवारलाई थप संकट निम्त्याएको छ । यात्रुबाहक सबै सवारी साधनहरु पूर्ण रुपमा निषेध गरिएको छ । यस्ता सवारी साधनहरु तत्काल संचालनमा आउने सम्भावना छैन । १२ वर्ष मुनीका बालबालिकाहरु, अशक्त भएका ब्यक्ति, विरामी, ७० वर्ष पूरा भएका जेष्ठ नागरिक, गर्भवती महिलाहरुको आवतजावतमा पूर्ण रुपमा निषेध गरिएको छ । जो महामारीको संक्रमणमा जोखिममा रहेका ब्यक्तिहरु हुन् ।
कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्वन्धी जिल्लास्तरीय संकट ब्यवस्थापन केन्द्रको आयोजनामा बसेको जिल्ला स्तरीय छलफलमा संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले नेपाल सरकारले गरेको निर्णय र जिल्लाको ब्यवस्थापनका बारेमा जानकारी गराउनु भएको थियो । सुरक्षाका मापदण्ड पूरा गरी, सामाजिक दूरी कायम राखी संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी कृषि तथा पशुपंक्षीजन्य बस्तुहरुको ओसार पसार, विक्री वितरणलाई अत्यावश्यक सेवाका आधारमा सहज बनाईएको छ । सबै अस्पतालहरु, एग्रोभेट र भेटेरिनरीहरुको संचालन, ढुवानी सम्वन्धी सबै सेवाहरु, विकास आयोजनाका सबै क्षेत्रहरु संचालन भएका छन् । सार्वजनिक सेवा बंैक तथा वित्तिय सेवा, विद्युत, खानेपानी, फोहोरमैला ब्यवस्थापन, संचारका सबै क्षेत्रहरु संचालनका लागि सहजीकरण गरिएको छ । औद्योगिक उत्पादन सम्वन्धी चामल, दाल, चिउरा, पाउरोटी तथा पिठोजन्य उद्योगहरु, ग्याँस, घरेलु तथा साना उद्योगहरु सबै संचालनका लागि वातावरण तयार गरिएको छ । सवारी साधनहरुको वर्कशप, प्लम्विङ्ग, इलेक्ट्रिकल सेवा तथा पेट्रोल पम्प संचालन गर्ने निर्णय भएको छ । कोरोना भाईरसका कारण बन्द भएका र खुल्ला भएका दुबै उद्योग तथा सेवा क्षेत्रहरुले संकट निम्त्याउने खतरा छ ।









