बजेटको तयारीमा धुलिखेल, संघीयताका पूर्ण अभ्यास
धुलिखेल/स्थानीय सरकारको निर्वाचन पछि भएका प्रदेश र संघ सरकारको निर्वाचनबाट गठित सरकारले विकासको गति तिब्र बनाईरहेका बेला स्थानीय सरकारको निर्वाचन भएको हिजो बुधबार तीन वर्ष पूरा भएको छ । निर्वाचन भएको लामो समय ऐन, नियम, कानुन र कर्मचारी अभावकै बीच कार्य प्रारम्भ गरेका स्थानीय सरकारले कोरोना महामारी नियन्त्रणमा उलेख्य योगदान पु¥याएका छन् ।
‘कोरोना भाईरसको नियन्त्रण, ब्यवस्थापन, रोकथाम तथा स्थानीय नागरिकलाई सेवा प्रभाव गर्ने कुरामा स्थानीय सरकार अब्बल सावित भए’–नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘सरकारको महत्व बढ्यो र जिम्मेवारी पनि पूरा गरे तर स्थानीय सरकारले अझै गर्न बाँकी धेरै कुरा देखियो ।’ आफ्नो पालिका भित्र कुन वर्गका ब्यक्तिहरु कति छन् ? कुन कुन ब्यवसायमा संलग्न छन् ? पूर्ण तथ्यांक नभएकै कारण राहत वितरणमा अन्योलता बढेको छ । भुकम्पमा जस्तै राहत वितरण हुँदा लिन आउनेहरु दोहोरो, तेहोरो र सम्पन्न भएका ब्यक्तिहरु परेको गुनासो सार्वजनिक भएको छ । घर हुनेहरुले राहत पाउँदा परिचयपत्र नभएकै कारण राहत पाउन नसकेको गुनासो आयो । जनप्रतिनिधिहरुले न्यायका आधारमा भन्दा मतदाताका आधारमा राहत वितरण गरेका खबरहरु पनि प्राप्त भए । जे भए पनि स्थानीय सरकारले विपत्तिका लागि ग्रामिण भेगसम्म पु¥याएको जनतेतनामूलक अभियान सहनीय रहेको बताईएको छ ।
स्थानीय तहहरुले कानून निर्माणमा केहि समय खर्च गरेका छन् । माथिल्ला सरकारहरुले कानून निर्माण नगरी तल्लो सरकारले कानून निर्माण गर्न सम्भव थिएन । केहि कानूनहरु तीन तहका लागि एउटै छन् । कार्याविधि र कानून निर्माण गरी सरकारहरुले गरेका काम प्रभावकारी बनाउन प्रयास भए पनि पुरानो संरचना, कर्मचारी अभाव जस्ता विषयले ओझेलमा पारेका छन् । जति कार्य सम्पन्न भए ति महत्वपूर्ण कार्य भए । श्रोत साधनको परिचालन गर्ने देखि नागरिकहरुलाई सेवा दिने विषयले स्थानीय सरकारको प्रभावकारीता बढेको महसुस भएको नागरिकहरुले बताएका छन् । बाँकी दुई वर्ष मध्ये एक वर्ष विकासको वर्ष र अर्काे वर्ष चुनावी वर्ष भएकाले जनप्रतिनिधिहरुले आफुले शुरु गरेको आधार वर्षलाई आगामी दिनमा पनि निरन्तरता दिने गरी योजना बनाई दीर्घकालीन विकासमा जोड दिनुपर्छ । यसले मात्रै दिगो विकास लक्ष्यका आधारहरु पूरा गर्न मद्दत गर्दछ । कोरोना भाईरसका कारण दिगो विकासका लक्ष्यहरु पनि ओझेलमा पर्ने सम्भावनालाई स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने नागरिक समाजका प्रतिनिधिहरुले बताएका छन् ।
धुलिखेलमा बजेटको तयारी
संघ सरकारले जेष्ठ १५ गते प्रस्तुत गर्ने बजेटका बारेमा छलफल चलिरहँदा धुलिखेल नगरपालिकाले चालु वर्षमा भएको बजेट खर्चको अवस्था तथा आगामी वर्षको बजेटको तयारी शुरु गरेको छ । नगरपालिका प्रवक्ता पुष्पराज राउतका अनुसार नगरपालिकाले आगामी वर्षको बजेट तयारीका लागि छलफल शुरु गरेको बताउनु भयो ।
बैशाख २३ गते नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको बैठकले नगर भित्र संचालित विभिन्न योजनाहरुको अवस्थाका बारेमा जानकारी गराईएको थियो । संघ, प्रदेश र स्थानीय सरकारले शुरु गरेका नगर स्तरीय र वडा स्तरीय योजनाहरुको समिक्षा गरिएको थियो । ४९ प्रतिशत योजनाहरु पूर्ण रुपमा सम्पन्न भईसकेकाले बाँकी योजनाहरु मध्ये २५ प्रतिशत चालु अवस्थामा रहेको र २५ प्रतिशत शुरु हुने चरणमा रहेका छन् । केहि योजनाहरु सम्पन्न नहुने र शुरु गर्न नसकिने अवस्था आएमा त्यस्ता योजनाहरुलाई आगामी वर्षको बजेटमा समेट्ने सुझाव प्राप्त भएको वडा अध्यक्ष एवं प्रवक्ता पुष्पराज राउतले बताउनु भयो । स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन, विपद ब्यवस्थापनमा नगरपालिकाले खेलिरहेको भूमिका महत्वपूर्ण रहेको र अझै यो क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्नेमा जनप्रतिनिधिहरुको सुझाव थियो ।
त्यस्तै स्थानीय सरकारले असार १० गते अगावै ल्याउने बजेटका बारेमा पनि छलफल शुरु भएको छ नगरपालिकाले विषयगत समितिहरुको छलफल तालिका बनाएरै शुरु गरेको हो । बैशाख २८ गते स्वास्थ्य समितिको छलफल सम्पन्न भएको छ । बैठकमा १२ वटै वडामा रहेका स्वास्थ्य चौकीहरुको सुधार, स्वास्थ्यकर्मीहरुको स्तरोन्नति र पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्न सुझाव प्राप्त भएको छ । पर्याप्त स्वास्थ्य सामाग्रीहरुको ब्यवस्थापन, संकट टार्ने उदेश्यले स्वास्थ्य क्षेत्रका विपद्हरुको समाधान गर्न वडा स्तरीय विपद् कोषको मजबुती लगायतका विषयमा ध्यान दिनुपर्ने सुझाव प्राप्त भएको छ । बैशाख २९ गते शिक्षा समितिका छलफल भएको छ । स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिईएको छ । पूर्वाधार विकास समितिको बैशाख ३० गते, कृषि र पशुपंक्षी विकास समितिको बैशाख ३१ गते, वातावरण, विपद्, सुशासन र क्षमता विकास सम्वन्धी समितिको जेष्ठ १ गते, महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग दलित, युवा र आदिबासी समितिको जेष्ठ २ गते बैठक आयोजना गरिएको छ । उक्त बैठकहरुमा प्राप्त सुझावका आधारमा बजेटको तयारी गरिनेछ । त्यस्तै वडा स्तरीय छलफल, भेला, गोष्ठी र बैठकबाट प्राप्त योजनाहरुलाई प्राथमिकतामा राखेर बजेट तयार गरिने छ । कोरोना भाईरसको महामारीबाट प्रभावित क्षेत्रहरुलाई ध्यान दिदै उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन र कृषकहरुलाई अनुदान दिन, पर्यटन क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि बढाउन सहुलियत प्रदान गर्ने गरी कार्यक्रम ल्याउने नगरपालिकाले जानकारी दिएको छ । नगर प्रमुख अशोक ब्याञ्जुका अनुसार चालु वर्षका योजनाहरुको कार्यान्वयन र आगामी वर्ष बजेटको प्राथमिकता र तयारीका कारण विषयगत समितिका छलफलहरु शुरु गरिएको हो ।
किसानलाई अनुदान
कोरोना भाईरसका कारण मुलुकको अर्थतन्त्रमा संकट निम्त्याएको अवस्थामा स्थानीय सरकारले आत्मनिर्भर, रोजगार र उत्पादनमुखी कार्यक्रममा जोड दिन थालेका छन् । धुलिखेल नगरपालिकाले चालु वर्षमै खर्च गर्ने गरी बजेटलाई कृषकमुखी बनाईएको छ भने आउँदो वर्षको बजेटलाई उत्पादनमुखी, रोजगारमुखी बनाउन छलफल शुरु भएको छ ।
मुलुकको अर्थतन्त्रमा गिरावट आउने र खाद्यान्न अभाव हुने संकेतहरु देखिन थालेपछि धुलिखेल नगरपालिकाले तत्कालीन र दिर्घकालीन योजनाहरु तय गरी कार्यान्वयन शुरु गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि खेतियोग्य जमिनमा खेती गर्न चाहने कृषकहरुका लागि १२ टन खुमलचार धानको विउ कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै १ हजार ५ सय घर धुरीका लागि तत्काल तरकारी खेति गरी आत्मनिर्भर बन्न र ब्यवसायीक प्रयोजनका लागि समेत खेती गर्न सहज हुने गरी तरकारीका विउहरु निःशुल्क वितरण गरिएको छ । कृषि प्रणालीलाई आधुनिकीकरण गर्न नगरपालिकाले यसअघि दिएका औजारहरुको भरपुर उपयोग गर्न र थप औजारहरु मागका आधारमा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने निर्णय गरेको छ । भएको जनशक्तिलाई कृषि तथा पशुपालनमा आकर्षण गर्ने गरी वडा वडामा कृषि प्राविधिकको ब्यवस्थापन गर्ने निर्णय गरेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो । नगर प्रमुख अशोक कुमार ब्याञ्जुको अध्यक्षतामा बसेको बैठकले आगामी बर्षको बजेट तथा कार्यक्रम र स्वास्थ्य, शिक्षा, कृषि जस्ता प्राथमिकताको क्षेत्रमा गरिने कार्यक्रमको मोडालिटी सम्बन्धमा सम्बन्धित समिति प्रमुख तथा शाखा प्रमुखसँग छलफल गरेको छ । चालु आर्थिक वर्षको योजना र आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजनामा तथा नीति कार्यक्रममा भिन्नता आउने भन्दै नगरपालिकाले छलफललाई प्राथमिकता दिएको हो । नगर प्रमुख ब्याञ्जुले आगामी वर्षको बजेट तथा कार्यक्रम कोरोना महामारी पछि आम नगरबासीले भोगेको समस्या र समस्या समाधानमा केन्द्रित हुने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । चालु आर्थिक वर्षमा चालु रहेका कतिपय योजनाहरु फेरबदल हुन सक्ने बताउँदै नागर प्रमुख ब्याञ्जुले विकास निर्माणका योजनाहरु आगामी वर्षमा दोहोरिए पनि रुपरेखा बदलिन सक्ने बताउनु भयो । ‘कोरोना महामारी पछि पर्यटन, कृषि, शिक्षा लगायतका क्षेत्र निकै नराम्रोसँग प्रभावित भएका छन्’– नगर प्रमुख ब्याञ्जुले भन्नुभयो – ‘महामारी पछि सञ्चालन गर्ने विकास निर्माणको बजेट तथा नगरले अबको समयमा लिनुपर्ने नीति कार्यक्रमकाबारे छलफल सुरु गरेका हौँ ।’
कोरोना महामारीपछि देशले ठूलो आर्थिक क्षति ब्यहार्नु पर्ने र त्यसलाई सम्बोधन गर्न सकिने विविध उपायका बारे छलफलको दायरालाई ब्यापक बनाउनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । ‘अबको चुनौती निकै ठूलो हुनसक्छ’– नगर प्रमुख ब्याञ्जुले भन्नुभयो– ‘हरेक स्थानीय तहहरुले आगामी दिनलाई हेरेर नीति, कार्यक्रम र बजेट बनाउन जरुरी छ तथा नागरिकको दैनिक समस्यालाई समाधान गर्दै नागरिकलाई सुसूचित गराउन आवश्यक छ ।’









