2026 June 25/ 01:32: 55pm

धुलिखेल/नयाँ वर्षको अवसर पारी जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका कैदीबन्दीहरुका लागि अंग्रेजी भाषाको कक्षा शुभारम्भ गरिएको छ । कारागार कार्यालय काभ्रेका प्रमुख जेलर जङ्गबहादुर राईका अनुसार ४२ जना विद्यार्थीहरुले उक्त कक्षामा सहभागिता जनाएका छन् । 
    ‘जेल जीवन सकिए लगत्तै समाजमा पुर्नस्थापना हुन सहज होस् भन्ने उदेश्यले साक्षर ब्यक्तिहरुका लागि अंग्रेजी भाषाको कक्षा शुरु गरिएको हो’–जेलर राईले भन्नुभयो–‘जेल भित्रै रहेका कैदी बन्दीहरुबाट दुई जना शिक्षक छनौट गरी ४२ जना विद्यार्थीहरु सहभागी गराई दुई वटा कक्षा शुरु गरिएको छ ।’ कारागार ब्यवस्थापन विभागका महानिर्देशक प्रदिपराज कँडेलले कारागारको अनुगमन गर्दै उक्त कक्षाका बारेमा समेत जानकारी लिनु भएको थियो । कारागार भित्र साक्षर नभएका ब्यक्तिहरुलाई साक्षर बनाउन २०७६ माघ १ गते देखि प्रौढ कक्षा समेत संचालन भईरहेको छ । प्रौढ कक्षामा ३८ जना सहभागी भएका छन् । ४२ मध्ये दुई जना विद्यार्थीहरुका लागि छात्रबृत्ति उपलब्ध गराईएको छ । अन्य विद्यार्थीहरुले मासिक दुई सय रुपैया तिर्नुपर्ने छ । दुई सय रुपैयाँ तिरेर अध्ययन गर्नेहरुको दुई समुह ४० जनाको छ । २१÷२१ जनाको समुहमा राखेर हरेक दिन अध्यापन गराईने अंग्रेजी भाषाले ब्यवहारतः ब्यक्तिको जीवनमा सहयोग पु¥याओस् भन्ने लक्ष्य लिएको कारागार कार्यालयले जानकारी दिएको छ । जेल भित्र चैत्र ३० गतेसम्म २ सय ४१ जना कैदीबन्दी रहेका छन् । तीनजना चैत्र ३ गते पुर्पक्षमा गएकाले कारागार भित्र छुट्टै क्वारेन्टाईनको ब्यवस्था गरिएको छ । कोरोना भाईरसको महामारी फैलन नदिन बाहिरबाट गएका तीन जनालाई अलग्गै टेण्टको ब्यवस्था गरी क्वारेन्टाईनमा राखिएको जेलर जङ्गबहादुर राईले जानकारी दिनु भयो । 
    कारागार कार्यालय भित्र अंग्रेजी भाषाको कक्षा लिने शिक्षकहरुलाई पारिश्रमिकको ब्यवस्था गरिएको छ । मासिक ८ हजार संकलन हुने भए पछि शिक्षकहरुका लागि प्रति शिक्षक २ हजारका दरले ४ हजार खर्च हुनेछ । १ हजार ब्यवस्थापनमा खर्च हुनेछ भने बाँकी रकम केहि वर्ष अघि कारागार कार्यालयमा गठन गरिएको बन्दी सुधार गृहको कोषमा राखिनेछ । कारागारलाई सुधार गृहका रुपमा लिदै ब्यवस्थापनले ब्यक्तिको चाहना अनुसारको शिक्षा, सिप र रोजगारको अवसर समेत उपलब्ध गराउँदै आएको छ । जेल भित्रैबाट सिप सिकेर काम गर्नेहरुले मासिक २० हजार समेत कमाउने गरेका छन् ।