2026 June 25/ 01:32: 59pm

धुलिखेल/कोरोना भाईरस रोकथामका लागि जिल्ला कमाण्ड पोष्ट, स्थानीय सरकार तथा जिल्ला स्थित विभिन्न संघसंस्थाको पहलमा भईरहेका गतिविधिहरुले जिल्लालाई सक्रमण फैलन नदिन र संक्रमण भएको अवस्थामा नियन्त्रण गर्ने गरी ब्यवस्थापनलाई चुस्त बनाईएको छ । 
जिल्लामा झण्डै एक हजार थान पिपिई, सर्जिकल मास्क २४ हजार ६ सय ५०, सर्जिकल गाउन ४४ थान, सेनिटाईजर ४ हजार २ सय १ बोतल, एन नाईन्टी फाईभ मास्क १ सय १५ वटा, सर्जिकल ग्लोभ्स ४८ हजार ४ सय र थर्माेमिटर २१ वटा प्राप्त भएका छन् । कोभिड १९ रोकथामका लागि स्थानीय तह, जिल्ला स्थित अस्पताल र सुरक्षा निकायलाई समेत गरी उक्त सामग्री प्राप्त भएको हो । यसका अलावा स्थानीय तहहरु र अस्पतालहरुमा अन्य थप सामाग्रीहरु पनि उपलब्ध भएका छन् । जिल्लामा रेकर्ड गरिएको सामाग्रीहरु विपद् ब्यवस्थापनमा प्रयोग गरिनेछ । 
जिल्लामा चैत्र १ गते देखि २ सय ५१ जना ब्यक्तिहरु स्वदेश फर्किएकोमा सबै जना होम क्वारेन्टाईनमा रहेका छन् । स्थानीय तहरुले २ सय ८८ शैयाको क्वारेन्टाईन निर्माण गरेर तयारी अवस्थामा राखेका छन् । धुलिखेल अस्पतालमा २६ जनाको स्वाब परिक्षण गरिएकोमा सबै जनामा संक्रमण नभएको पुष्टि भएको छ । अस्पतालले पहिलो चरणमा विदेशबाट फर्किएका सबै ब्यक्तिहरुको सुचिकृतका आधारमा स्वाब परिक्षण गर्नेछ । साथै धुलिखेल अस्पतालको क्षमता बढाएर टेकुमा आएका स्वाबहरु समेत परिक्षण शुरु गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले कोभिड १९ को महामारीबाट बच्न जिल्लामा उच्च सतर्कता अपनाउँदै तयारी तिब्र गरिएको बताउनु भयो । कुनै खालको संकट भित्रन नदिन र अभाव हुन नदिन अस्पताल, एम्बुलेन्स, स्थानीय तहहरुको सक्रियता र स्वास्थ्य सामाग्रीको ब्यवस्थापन गरिएको तिमल्सिनाले बताउनु भयो । अत्यावश्यक सामाग्रीहरुको सहज आपूर्तिका लागि निरन्तर सहायक प्रजिअ लक्ष्मीदेवी हुमागाई खतिवडाको संयोजकत्वको कमिटीले काम गरिरहेको छ । नागरिकहरुले पूर्ण रुपमा लकडाउन पालना गरेको अवस्थामा संक्रमण फैलन नपाउने र नागरिकहरुको सुरक्षाका लागि भएका प्रयासहरु सफल हुने प्रजिअ तिमल्सिनाले बताउनु भयो । जिल्ला स्थित सुरक्षा निकायका सबै प्रमुखहरु, स्वास्थ्य कार्यालय, अस्पतालहरु, स्थानीय तहका सबै स्वास्थ्य शाखाहरु कृयाशिल भईरहेका छन् ।

पैदल हिडेरै गन्तब्यमा 
लकडाउन घोषणा गरे लगत्तै गन्तब्यमा जान नपाएका थुप्रै नागरिकहरु दैनिक पैदल हिडेरै गन्तब्यमा पुगिरहेका छन् । लकडाउनको पहिलो अवधिमा थोरै ब्यक्तिहरु पैदल हिडेर गन्तब्यमा पुगेका थिए भने दोश्रो चरणमा त्यो संख्या ह्वात्तै बढ्यो । दैनिक ३ सय देखि ५ सय सम्म पैदलयात्रामा निस्किएका ब्यक्तिहरु गन्तब्यमा पुग्ने गरेका छन् । तेश्रो पटक लकडाउनको म्याद थपिए पछि राजधानीमा रहेका मजदुर तथा सर्वसाधारणहरु ७ दिनसम्म हिडेर गन्तब्यमा पुगेका छन् । लकडाउनको १८ औं दिनसम्म झण्डै ५ हजार नागरिकहरु पैदल मार्फत गएको प्रहरीको तथ्याङ्कमा छ । 
स्वास्थ्य संकट ब्यवस्थापन केन्द्र गठन
    नेपाल सरकारले कोरोना भाईर रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि जिल्ला स्तरीय स्वास्थ्य संकट ब्यवस्थापन केन्द्र गठन गरी पालिका स्तरमा समेत प्रमुख÷अध्यक्षको संयोजकत्वमा समिति गठन गर्न परिपत्र गरे सँगै अधिकाशं स्थानीय तहमा उक्त समिति गठन भएको छ । समितिमा पालिका प्रमुख÷अध्यक्ष संयोजक रहने ब्यवस्था छ भने प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक र सुरक्षा निकायका प्रतिनिधि रहनेछन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कमाण्ड पोष्ट र स्वास्थ्य आपतकालिन समिति गठन भएको छ । जसमा समन्वय समिति प्रमुख र नेपाल नगरपालिका संघका अध्यक्ष सल्लाहकार रहनु भएको छ भने जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख र धुलिखेल अस्पतालका प्रतिनिधि सदस्य रहेका छन् । स्थानीय तहमा गठन हुने उक्त समितिले आवश्यकता अनुसार स्थानीय स्तरमा स्वंयसेवकहरु परिचालन गर्नेछ भने सामाजिक दुरी कायम राखी नागरिकहरुलाई सुरक्षित राख्न, अत्यावश्यक बस्तुहरुको अभाव हुन नदिन र जिल्लामा रहेको समितिसँग समन्वय गरी कार्य गर्ने कार्यादेश छ ।