नारायणप्रसाद होमागाई
केन्द्रिय सदस्य, प्रवासी नेपाली संघ,
अध्यक्ष, जनसांस्कृतिक मञ्च, कलकत्ता
साविक काभ्रे गाविस वडा नम्वर ८, काभ्रेपलाञ्चोक
जन्म, बाल्यकाल, औपचारिक शिक्षाः २०१३ सालमा मेरो जन्म भएको हो । मेरो दाई एकजना, एक भाई र बहिनी सहित हामी चार सन्तान । जेठो दाई भारतमै हुनुहुन्थ्यो । दाईले विदेश गएर फर्किएर पनि उन्नति गर्न सकेको थिएन । बाल्यकाल असाध्यै कठिन अवस्थामा बित्यो । गरिब परिवारमा हाम्रो जन्म भएको थियो । हनुमानखर्कमा विद्यालय थियो । सुकुल राखेर पढाउने चलन थियो । कक्षा २ सम्म अध्ययन गरेर छुट्यो । अध्ययन त्यहि स्थगित गरेर घरायसी काममा लागें । २०२८ सालतिर भारत गएँ । भारतमा काम गर्दै अध्ययन गर्न थालें । भारतमा काम गरिरहँदा घरको चिन्ता हुन्थ्यो । ऋण धेरै थियो । ऋणको चिन्ता त थियो नै अभिभावकहरुको यादले पनि सताउँथ्यो । दाईको प्रगति नहुँदा म पनि भारत जाने योजना बनाएँ । भारत गएर केहि कमाउनु पर्छ भन्ने सोच ममा थियो । बुबाहरुकोे सोच पढाउनु पर्छ भन्ने थियो । कक्षा २ का किताब किन्न १३ रुपैयाँ लाग्थ्यो । घरमा गाई थियो । घिउ विक्री गरेर किताब किनिदिने बताउनु भयो । १२ रुपैयाँ मानोमा घिउ पाईने रहेछ । ठुलीआमाले घरमा भएको अवस्था बताउँदै किताब किन्ने कुरा नगरौं भन्नुभयो । बुबालाई ऋण माथी ऋण थपिने भएपछि बुबाले किताब किनिदिने योजनामा अगाडि बढ्न सक्नु भएन । त्यहिबाट अध्ययन टुट्यो ।
बाल्यकालका धेरै दुःखहरु रहे । संघर्ष बाल्यकालबाटै शुरु भयो । धेरै ऋण भएका कारण चिन्तित हुन थालियो । पातलेखतमा एउटा खेत किनेका थियौं । २ हजार ८ सयमा बुबाले खेत किन्दा ३ हजार खर्च भएछ । त्यो सबै ऋणमा थियो । त्यतिबेलाको ऋण ठुलो मानिन्थ्यो । ब्याज स्वरुप सयकडा १० पाथी दिनु पर्दथ्यो । धान चुटेको दिन खलाबाटै पठाउनु पर्दथ्यो । चुटेको धान घरमा एक गेडा लैजान पाईएन । बुबाले अझै ब्याज तिर्न धान नपुग्दा साहुले भई हाल्यो यति चाँहि छाडिदिएँ भन्दै गए । गाई बस्तु, खेतिपातीको अन्नबाट बाहेक अरु आम्दानी हुँदैन थियो । नगद प्राप्ती हुनु अझै ठुलो कुरा हो । ८÷१० वर्षसम्म यताको ऋण लिएर उता तिर्ने, उताको ऋण लिएर अर्को तिर तिर्ने गर्नुभयो । भारत जानुको प्रमुख कारण त्यहि थियो । दुई वर्ष भारतको कलकत्ता पुगेर गरेको मेहनतबाट ऋण तिर्न सकियो । दुई वर्ष पछि मैले रात्रीकालीन विद्यालयमा भर्ना भएँ । अंग्रेजी, बंगला भाषामा अध्ययन गर्नु पर्दथ्यो । दिउँसो अध्ययन गर्न सम्भव थिएन । काम गर्दै अध्ययन गर्ने भनेको रातिको विद्यालय हो । मैले दुवै भाषामा अध्ययन गर्न सक्ने अवस्था भएन । मलाई भाषा छनौट गर्ने बेलामा सिलेबस हेरें । नेपाली भाषा लिन पाउने कुरा थाहा पाएँ । प्रशासनसँग कुरा गरें । स्कुल नेपाली भाषाका रहेनछन् । दार्जिलिङ्गका लागि त्यो सुविधा रहेछ । नेपाली भाषामा अध्ययन गर्दा प्राईभेट परीक्षा दिनुपर्ने भयो । अध्ययन गर्ने किताब कलकत्तामा भेटिएन । दार्जिलिङ्गको हिमालय बुक हाउसमा पत्र पठाएँ । किताबको मूल्य भन्दा धेरै भाडा लाग्ने उत्तर प्राप्त भयो । माध्यमिक र उच्च माध्यमिकमा नेपाली भाषा लिएर अध्ययन गरें । त्यहाँको भाषामा बोल्ने तर आफ्नो मातृभाषामा अध्ययन गरें । ४८ वर्ष देखि म भारतको कलकत्तामा बसिरहेको छु ।
२०२८ साल फागुन १४ गते जस्तो लाग्छ । गाउँकै दाजु मुक्तिनाथ फुँयाल भारत गएर फर्कनु भएको थियो । मेरो आमाले उहाँसँग कुरा गर्नु भएको रहेछ । भारत गएर यसले केहि ग¥यो भने ऋणबाट मुक्ति पाईन्छ कि भन्ने सोच रहेछ । आमाले मलाई उहाँकै साथ लगाएर पठाउनु भयो । आमा आशापुरीसम्म पुग्नु भयो । दर्शन गरियो । साँगा आएपछि आमा रुँदै रुँदै फर्कनु भयो । म काठमाडौ गएँ । भारत पुगेर समस्या धेरै भयो । भाषाको समस्या भयो । कामको समस्या भयो । नेपालीहरु भने पछि उमेर भएको भए सुरक्षा गार्डको काम पाईने रहेछ । तर मेरा लागि त्यो काम सम्भव भएन । शुरुमा मलाई टेलरमा काम गर्ने अवसर पाएँ । मालिकको घरमा जाने खाना ल्याउने, लैजाने, सफा गर्ने काम १४ महिना गरें । १४ महिना पछि म घर फर्किएँ । तलब थोरै र खानलाई अलिकति पैसा दिने गरिएको थियो । घर आउँदा १ हजार रुपैयाँ बचाएर ल्याएँ । एक महिना घरमा बसेर म एक्लै फर्किएँ । उहाँ मुक्तिनाथ दाई जानु भएन । फर्किएर उतै काम गर्न लागें । दारिम्बोटका एकजना कृष्णप्रसाद ढकाल दाईले टि–ब्वाईका रुपमा काम गर्ने अवसर दिनुभयो । उहाँकै सहयोगमा मैले पियनको काम गर्ने अवसर प्राप्तिका लागि निवेदन दिएँ । २ महिना पछि मैले त्यहाँको कर्मचारी भएर काम गर्ने अवसर पाएँ । विस्तारै मेरो पद बढुवा भयो । लेखा शाखामा काम गर्ने अवसर पाएँ । विहान अध्ययन र दिउँसो अफिसको काम गरें । मेहनत मेरा लागि महत्वपूर्ण भयो । अध्ययन गर्दा लागेको पैसा पनि त्यहिबाट तिर्न सहज भयो । त्यो अफिसको डाईरेक्टरले मलाई मन पराउनु हुँदो रहेछ । उहाँले जिम्मेवारीपूर्वक काम गरेको मन पराएर अरु जिम्मेवारी प्रदान गर्नुभयो । माध्यमिक तहको पढाई सकेपछि मैले विहान कलेज जानुपर्ने भयो । राती विद्यालय जाँदा अफिसमा असहज हुँदैन थियो । मैले त्यहि कलेजमा अध्ययन गर्ने अवसर पाएँ । अफिस ९ बजे शुरु हुन्थ्यो । कलेज १० बजेसम्म हुन्थ्यो । अफिसमा जानकारी गराएँ । विहानको कामलाई बेलुका गर्छु भनेर निवेदन दिएँ । मेरो अध्ययन गर्ने चाहनालाई अफिसले स्विकृती प्रदान ग¥यो । विहान ५ बजे उठेर ६ बजे कलेज पुगिसक्थें । ढिला हुँदा हाजिरी गयल गराएर कलेज प्रवेश रोक लगाईन्थ्यो । विकम सम्मको अध्ययन त्यहिबाट गरें ।
नाईट स्कुलमा अध्ययन गर्दा कुशादेवीका दुर्गा सापकोटा र म साथी थियौं । हामीलाई विद्यालयमा भर्ना लिँदा लिएको टेष्ट परीक्षामा अन्दाजको भरमा दिएको जाँचमा पास भएछौं । अंग्रेजीमा सोधिएका ग्रामरहरुका बारेमा पनि जानकारी दिएन । गणित विषयको पनि खासै जानकारी दिएन । अन्दाजका भरमा दिएका सबै प्रश्नहरुमा हामी उत्तिर्ण भएछौं । त्यो स्कुल कडा थियो । त्यहाँ जसले पायो त्यसले अध्ययन गर्न पनि पाउँदैन थियो । बडो मेहनतका साथ उक्त विद्यालयमा अध्ययन गर्ने अवसर पाएँ । म एकैपटक कक्षा ८ मा भर्नाको लागि योग्य भएँ । त्यो क्रिश्चियन स्कुल थियो । ३६ रुपैयाँ शुल्क थियो । कक्षा २ मा पढेको ब्यक्ति एकै पटक कक्षा ८ मा भर्ना भएको थिएँ । ममा आत्मबल र आत्मविश्वास बढेको थियो । एकवर्ष भारत बसेर काम गर्दाको मेरो अनुभव थियो । त्यो विद्यालयमा राम्रो पढ्ने विद्यार्थी भएँ । मलाई अंग्रेजी कम आउने भएकाले साथीहरु र शिक्षकहरुले पनि सहयोग गर्नु हुन्थ्यो । शिक्षकले खाजा खाने समयमा सिकाई दिनुभयो । खाना र खाजा खाने समयलाई सदुपयोग गरेर अध्ययन गरें । मबाट शिक्षकहरु प्रभावित हुनु हुन्थ्यो । नभन्दै म विद्यालय तहको शिक्षामा उत्तिर्ण भएँ ।
उच्च शिक्षा अध्ययनः विहान ९ बजे देखि अफिस जानु पर्दथ्यो । रातको समयमा विद्यालय थियो । अब समय फेरियो । उच्च माध्यमिक तहको अध्ययनका लागि विहान जानुपर्ने थियो । एकाउन्ट असिस्टेन्टका रुपमा काम गर्ने अवसर भए पछि त्यहाँ खाली रहेको समय अध्ययन गर्न थालें । साँझको समयमा अफिसको काम सकेर अध्ययन गर्दथें । काम नै नभएका साथीहरु फेल हुन्थे । म सधैं पास हुन्थें । कहिल्यै फेल भईनँ । बेल्जियमका फादर घर फर्कन लागे । उनले खोलेका रहेछन् नाईट विद्यालय । उनले मलाई आफु फर्कन लागे पनि उक्त विद्यालयमा पढाई दिनु भनेर अनुरोध गरे । मैले हप्ताको एकदिन दुईवटा विषय पैसा नलिई पढाउन थालें । मलाई उहाँले पढाएको र उहाँले अनुरोध गरेको भएर निःशुल्क पढाएको थिएँ । एकपटक मलाई पैसाको ठुलो अभाव भयो । पैसा लिएर पढाएको भए सायद मेरो घर खर्च त टथ्र्यौ होला रु भन्ने कुराले सताउन थाल्यो । पछि मेरा छोराहरु त्यहि विद्यालयमा भर्ना गर्दा मैले निःशुल्क पढाएका कारण सम्भव भयो । परीक्षा दिए तर छोराहरुको नाम निस्किएन । प्रशासनमा गएर कुरा गरें । आफ्ना बारेमा बताएँ । उनीहरु म निःशुल्क पढाउने शिक्षक भएकाले मेरा छोराहरुले त्यहाँ अध्ययन गर्ने अवसर पाएँ । सेन्टजेभियर्स स्कुलबाट तीनैजना छोराहरुले अध्ययन गर्ने अवसर पाए । मैले निःशुल्क पढाएको प्रतिफल त्यतिबेला देखियो । आफुले त्यहि स्कुलमा अध्ययन गर्ने अवसर पाएँ । निःशुल्क पढाएका कारण छोराहरुले त्यहि स्कुलमा पढ्ने अवसर प्राप्त गरे ।
प्रेम र विवाहः मेरो प्रेम विवाह होईन । मागी विवाह हो । २२ वर्षको थिएँ । २०३५ सालको कुरा हो । धेरै स्थानमा कुरा चलेको रहेछ । शुरुमा कतै पनि कुरा मिलेन । पछि धेरै स्थानबाट मिल्ने कुरा आयो । दाप्चाको बसेरी घोरसाईनेको छोरी दुर्गासँग मेरो विवाहको कुरा टुङ्गियो । काका मार्फत विवाहको टुङ्गो लागेको थियो । केहि वर्ष उनि यतै बसिन् । म आउने जाने गर्दथें । तीनवटै छोरा यतै जन्मिएका थिए । कान्छो छोरा एक वर्षको हु्ँदा सबै परिवार लिएर कलकत्ता गए । उनिहरुलाई उतै पढाएँ । सेन्टजेभियर्समा भर्ना गर्न अरु स्कुलमा तयारी गराएँ । धेरै मेहनत गर्नु पर्दथ्यो त्यो विद्यालयमा भर्ना गर्न । त्यो सबै वातावरण बनाएर परीक्षा दिन लगाउँदा पनि कसैको पनि नाम निस्किएन । कि क्रिस्चियन हुनुपर्दथ्यो । त्यो सम्भव थिएन । पछि मेरै कारण उनिहरुले भर्ना हुने अवसर पाए ।
परिवार अगाडि बढाउन मलाई सहज भएको थियो । उनले सबै धानेकी थिईन् । घर परिवार, खेतीपाती, बस्तुभाउ सबै उनको जिम्मेवारीमा थियो । एउटी महिलाले त्यो भन्दा धेरै संघर्ष कति गर्नु रु तीन सन्तानको हुर्काई बढाईसँगै सबै जिम्मेवारी पूरा गर्नु पर्दथ्यो । उनी बुझ्ने खालकी थिईन् । यहाँ केहि वर्ष रहे पछि हामी उतै बस्न थाल्यौं । परिवारमा सामान्य खटपट हुनु स्वभाविक थियो । कहिले काँहि भए पनि छिट्टै मिलिहाल्थ्यो । उनी अहिले छैनन् । हामीलाई एक्लो बनाएर उनि गई सकेकी छिन् । म साहित्यमा पनि रुची राख्थें । संगठनमा पनि हिडिन्थ्यो । उनको सहयोग र साथ हुन्थ्यो । पछि उनलाई पनि संगठनमा जोडें । संगठनका धेरै कुराहरु उनले पनि बुझिन् । मलाई संगठनका माथी माथीका पदहरुमा गएर काम गर्ने अवसर बनाउनुस् भन्थिन् । मसँग समय थिएन । उनले मेरा लागि समय र सहयोग दुबै उपलब्ध गराईन् । श्रीमतीको सहयोग थिएन भने मैले सफलता प्राप्त गर्न सम्भव थिएन ।
मेरा सन्तानहरु तीनैजनाले त्यहिबाट अध्ययन गरे । जेठो छोराले विकम सकेर खाली बसेको समयमा केहि गर्ने योजना बनायो । एकजना उसको साथी छ । उसको साथीले बम्बईमा बेकरी खोलौ भनेको रहेछ । उसलाई त्यो कुरा मन परेनछ । बेकरीमा प्रतिस्पर्धा छ । बरु मःमःको पसल शुरु गरांै । ब्राण्डेड गरौ भन्ने योजना छोराले बनायो । मैले उसलाई बंगाली समाजमा मःमः खाने कुरा कसरी हुन सक्ला र रु यतातर्फ आकर्षण भएन भने ब्यवसाय सफल होला र रु मलाई शंका र अविश्वास दुबै थियो । मलाई पनि कन्भिस गरेर उसले योजना बनायो । मैले अरु सहयोग गर्न सकिनँ । ३० हजार रुपैया लिएर कलकत्ताको गास्थलामा पहिलो पटक पसल खोले । विस्तारै अरु पसलहरु खोल्दै गए । तेश्रो पसल खोलिसके पछि उनिहरुको उत्पादन र विक्री राम्रो हुँदै गए । अन्य कम्पनीहरुसँग सहकार्य गर्दै त्यो ब्यवसाय फैलाउने काम गरे । माईलो पनि त्यहि काममा छ । माईलो दिल्ली हेर्छ । जेठोले अल इन्डिया हेर्छ । कान्छो अर्को ब्यवसायमा छ । झण्डै तीन सय भन्दा धेरै वाहु मःमःका पसल अहिले छन् । उनिहरुको झण्डै ३ अर्बको लगानी पुगेको छ । परिवारका सदस्यहरु ब्यस्त छन् । खुशी छन् । म सन्तुष्ट छु ।
सामाजिक र राजनीति क्षेत्रमा प्रवेशः मेरो राजनीति प्रवासी संगठनबाट भयो । त्यो नेकपा एमालेको भातृ संगठन थियो । राजनीति भनेर सक्रिय हुन पाईनँ । राजनीतिको पाटोलाई भारतबाट सहयोग पु¥याउने काम गरें । भारतमा बसेर राजनीति मात्रै गर्न ठिक छैन । पेशा, ब्यवसाय पनि गर्नुपर्छ । सामाजिक क्षेत्रमा पनि काम गर्नु पर्छ भनेर अगाडि बढ्यौं । भारतमा पनि राजनीतिका बारेमा विचार विमर्श धेरै हुन थाल्यो । सामाजिक, शैक्षिक क्षेत्रबाट सबैलाई जोड्ने र अगाडी बढाउने योजना बनाएर लाग्यौं । संगठन मार्फत पनि पार्टीका उद्देश्यहरु पूरा गर्न सकिन्छ भन्ने थियो । नेपालीहरुले भाषा सिक्न सकेनन् । सामान्य ज्ञानहरु लिएर पढाउन थाल्यौं । क्विज कन्टेस्ट राख्न थाल्यौं । भानु जयन्ती, मोतिराम भट्ट जयन्ती मनाउन थाल्यौं । उनिहरुलाई सामान्य ज्ञान मार्फत नेपाली भाषा र संस्कृतिसँग जोडिएर केहि कार्यक्रमहरु मार्फत पुरस्कृत गर्न थाल्यौं । सन् २०११ बाट अलग्गै संस्था खडा ग¥यौं । पार्टी पार्टीका संगठनहरु थिए । हामीले पछि साझा संस्था बनायौं । त्यो साझा संस्थाको संस्थापक अध्यक्ष म भएँ । सामाजिक शिक्षा, भाषा, सस्कृतिका बारेमा अभियान चलायौं । २०१३ मा अन्र्तराष्ट्रिय साहित्यिक गोष्ठी आयोजना ग¥यौं । बैरागी काईला लगायतका ब्यक्तित्वहरु बोलाएर कार्यक्रम ग¥यौं । दार्जिलिङ्ग, सिक्किम, आसाम लगायतका थुप्रै स्थानबाट प्रतिनिधित्व गरायौं । मोदनाथ प्रश्रित, श्यामल, निनु चापागाई लगायतका ब्यक्तिहरु सहभागी थिए । हरेक वर्ष साहित्यिक सम्मेलन गर्ने र दुई दुई वर्षमा अन्र्तराष्ट्रिय स्तरको सम्मेलन गर्न लागियो । आफु जोडिए पछि केहि लेख्नु प¥यो भन्ने सोच आयो । नेपाली संगम मेरै प्रकाशन गरेको छ । विभिन्न भाषामा लेख्ने गरेको छु । हिन्दी, अंग्रेजी र नेपाली भाषामा साहित्य लेख्ने गरेको छु ।
जागिरः टि ब्वाईबाट पियन हुँदै जुनियर एकाउन्टेट असिस्टेन्ट हुँदै सिनियर एकाउन्टेट हुँदै रिटायर्ड भएँ । पेन्सन भए पछि म फुर्सदमा छु । किताब लेख्ने, सामाजिक कार्यमा लाग्ने गरिरहेको छु । लामो समय जागिर जीवनसँगै गरेका संघर्ष र कार्यहरुलाई अहिले फुर्सदमा धेरै गर्ने योजना बनाएर लागिरहेको छु । छोराहरुले केहि काम गर्न दिएका छैनन् । यो उमेर आराम गर्ने उमेर भनेर उनिहरुले सम्झाईरहेका छन् । म सामाजिक क्षेत्र, साहित्यिक क्षेत्रमा कृयाशील भईरहेको छु ।
जीवनः संघर्ष । संघर्ष नगरेको जीवन जीवन नै हैन जस्तो लाग्छ ।
प्रेमः आत्मीयता ।
विवाहः पारिवारीक संस्कार ।
शारिरीक सम्बन्धः प्राकृतिक आवश्यकता ।
अन्त्यमाः कुनै पनि काम गर्दा धैर्यता आवश्यक छ । त्यसले मात्रै सफलता प्राप्त गर्न सकिन्छ ।





