३ सय ९३ अभियुक्त, विद्यार्थीको संलग्नता बढ्दै
प्रहरीले अपराधका बारेमा ब्यक्तिको उमेर समुह, महिना, बार, समय, पीडित र अभियुक्तको पेशा ब्यवसाय, अपराधका प्रकृतिमा संलग्न ब्यक्तिहरुको सूची तयार गरेको छ । आत्महत्या, बलात्कार, लागु औषध सम्बन्धी अपराध बढेको छ । अपराधमा विद्यार्थीको संलग्नता बढ्दै गएको छ । बालबालिका र जेष्ठ नागरिक आत्महत्यामा उद्दत देखिएका छन् ।
मोतीराम तिमल्सिना
धुलिखेल
चालु वर्षको ७ महिना अर्थात साउन देखि माघसम्म ३ सय ४१ वटा अपराध भएका छन् । जस मध्ये सबैभन्दा धेरै श्रावण महिनामा ७१ वटा अपराधका घटना दर्ता भएका छन् भने सबैभन्दा कम असोज महिनामा ३७, पुषमा ४१ र माघ महिनामा ४२ वटा अपराधका घटना दर्ता भएका छन् । भाद्र महिनामा ४९, कार्तिकमा ५२ र मंसिरमा ४९ वटा घटना दर्ता भएका छन् । अपराधमा ३ सय ९३ अभियुक्त संलग्न छन् । बारका आधारमा सबैभन्दा धेरै शनिबार अपराधका घटना हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । शनिबारमात्रै ३ सय ४१ मध्ये ५९ वटा अपराध भएका छन् । शनिबार पछि मंगलबार ५१ वटा अपराधका घटना भएका छन् । आईतबार, बुधबार र विहिबार ४७÷४७ वटा, शुक्रबार ४६ र सोमबार ४४ वटा घटना घटेका छन् । सबै भन्दा धेरै दिउसो १२ बजे देखि साँझ ६ बजेसम्म अपराध हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । अपराध दर्ता भएका मध्ये १ सय २२ वटा घटना दिउँसोको समयमा भएका छन् भने रातिको समयमा ९२ वटा भएका छन् । विहान ६ बजे देखि दिउँसो १२ बजेसम्म १ सय ३ वटा अपराधका घटना भएका छन् । मध्यरात देखि विहान ६ बजे अघि २४ वटा अपराधका घटना भए । अभियुक्त मध्ये १६ वर्ष मुनिका १ जना मात्रै छन् । १६ देखि २५ वर्ष उमेर समुहका १ सय ४२ जना छन् । २६–३५ वर्षसम्मका १ सय २२ जना अभियुक्त छन् । ३६–४५ उमेरमा ७७, ४६–६० उमेरमा ४७ र ६० वर्ष भन्दा माथी ४ जना रहेका छन् । अपराधमा कृषिमा संलग्न ८७, बेरोजगार २७ जना, ज्याला मजदुरीमा संलग्न ७३, कर्मचारी १३, ब्यापारी २३, चालक÷सहचालक ६४, गृहिणी १४, विद्यार्थी ६२, बैदेशिक रोजगारमा संलग्न १ र राजनीतिमा संलग्न २९ जना रहेका छन् । संलग्नमध्ये ३ सय ६८ पुरुष र २५ जना महिला छन् । अपराधमा भारतीय नागरिक ६ जना संलग्न भएका छन् भने बाँकी सबै नेपाली छन् ।
अपराधमा पीडित मध्ये १६ वर्ष मुनीका १२ जना, १६ देखि २५ वर्ष उमेरसम्मका ६९ जना, २६ देखि ३५ वर्षसम्मका ८३ जना, ३६ देखि ४५ वर्षसम्मका ५४, ४६ वर्ष देखि ६० वर्षसम्मका ४२ जना, ६० वर्ष माथिका १४ जना र उमेर नखुलेका ६७ जना ब्यक्ति अपराधमा संलग्न भएका छन् । अपराधमा पीडित मध्ये अधिकांश कृषि पेशामा संलग्न भएकाहरु छन् । कृषिमा संलग्न १ सय ४, बेरोजगार १७ जना, ज्याला मजदुरीमा संलग्न ४७, कर्मचारी १९, ब्यापारी १६, चालक÷सहचालक ११, गृहिणी ३०, विद्यार्थी ३७ जना रहेका छन् । अपराधमा पीडित भएका मध्ये ८९ जना महिला, १ सय ९२ जना पुरुष र ६० जनाको खुलेको छैन । कर्तब्य ज्यान सम्वन्धी अपराध ७ महिनामा तीनवटा मात्रै भएका छन् । ज्यान मार्ने उद्योगमा ४ वटा अपराध भएका छन् । जर्बजस्ति करणीमा २९ वटा, जर्बजस्ति करणी उद्योगमा चारवटा अपराध दर्ता भएका छन् । अपहरण सम्वन्धी एकवटा, लागु औषध सम्बन्धी ५ वटा, आत्महत्याका ७१ वटा घटना भएका छन् । आत्महत्यामा १६ वर्ष मुनिका बालबालिकाहरु ५ जना र ६० वर्ष नाघेका जेष्ठ नागरिकहरु ५ जना संलग्न भएका छन् । अधिकांश १६ वर्ष देखि माथी उमेरका छन् । जीवनबाट विरक्तिएका, प्रेम तथा परिवारको सम्बन्धमा अवरोध सिर्जना भएका ब्यक्तिहरु आत्महत्यामा प्रेरित भएका छन् । आत्महत्यामा विद्यार्थी १४ जना रहेका छन् । हातहतियार सम्बन्धी अपराधमा एक, केहि सार्वजनिक अपराधमा १ सय ५ वटा मुद्दा दर्ता भएका छन् । चोरी सम्बन्धी १० वटा, बैकिङ्ग कसुरमा एकवटा, मानव बेचविखनमा एकवटा, ठगीमा एकवटा, संगठित अपराधमा एकवटा रहेका छन् ।
प्रहरीले फरार रहेका १ सय ३७ जनालाई पक्राउ गरेको छ । ति मध्ये अदालतले दोषि देखाई फरार रहेका ४२ जना, अनुसन्धानको क्रममा ७७ जना र अनुसन्धनका क्रममा फरार रहेका १८ जना रहेका छन् । प्रहरीमा आवश्यक जनशक्ति अभाव हुँदा अनुसन्धान तथा नागरिकको सुरक्षामा चाहेजति प्रहरी सक्रिय हुन सकेको छैन । जिल्लामा ट्राफिक प्रहरी सहित ६ सय ८४ मध्ये ४ सय २ जना मात्रै कार्यरत छन् । ४९ वटा कार्यालय मार्फत प्रहरीले नागरिकलाई सेवा प्रदान गरिरहेको छ ।
लागु औषधमा २७ पक्राउ
प्रहरीले लागु औषध ओसारपसार तथा प्रयोगकर्ताहरुलाई विशेष अप्रेसन संचालन गरी पक्राउ गरिरहेको छ । चालु वर्षको ७ महिनामा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेका २७ मध्ये २६ जना जिल्ला कारागार कार्यालय काभ्रेमा छन् भने एक जना प्रहरी हिरासतमा छन् ।
पक्राउ परेका मध्ये १० जना विद्यार्थी छन् । केहि कृषि पेशामा आबद्ध छन् । केहि बेरोजगार युवाहरु त्यसमा संलग्न छन् । आर्थिक कारोबार गर्ने समुहले ललाई फकाई प्रलोभनमा पार्ने गरेका छन् । प्रहरीले युवाहरुलाई लागु औषध प्रयोग गर्न नदिन र अभिभावकहरुलाई सन्तान प्रतिको रेखदेखमा ख्याल पु¥याउन अभियान शुरु गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालले विद्यालय तहबाट शुरु गर्ने अभियानले पार्ने प्रभाव महत्वपूर्ण हुने भएकाले समुदाय–साझेदारी कार्यक्रम मार्फत टोल टोलमा अभियान संचालन गरेको छ ।
अपराधमा विद्यार्थी
जिल्लामा घटेका अधिकांश घटनामा विद्यार्थी संलग्न भएका हुने गरेका छन् । अपराधमा संलग्न अभियुक्त ३ सय ९३ मध्ये ६२ जना विद्यार्थी रहेका छन् । अभियुक्त जस्तै अपराधमा पीडित ३७ जना विद्यार्थी छन् । ज्यान मार्ने उद्योगमा ४ जना विद्यार्थी रहेका छन् । जर्बजस्ति करणीमा १८ विद्यार्थी पीडित भएका छन् भने अभियुक्त ६ जना छन् । लागु औषधमा १० जना विद्यार्थी संलग्न भएका छन् । १४ जना विद्यार्थीले आत्महत्या गरेका छन् । सार्वजनिक अपराधमा पीडित विद्यार्थी ७ जना रहेका छन् भने अभियुक्त २३ जना रहेका छन् ।





