2026 June 25/ 10:47: 02am

किसानलाई स्प्रे मेसिन वितरण
मण्डनदेउपुर नगरपालिका वडा नम्वर ७ का किसानहरुलाई तरकारी तथा अन्न बालीमा भिटामिन तथा विषादी छर्ने स्प्रे मेसिन वितरण गरिएको छ । 
गत मंगलबार मण्डनदेउपुर नगरपालिकाको उप प्रमुख निर्मला शाहीको प्रमुख आतिथ्यता र वडाध्यक्ष नारायणप्रसाद लम्सालको सभापतित्वमा भएको कार्यक्रममा वडाका किसानहरुलाई नगरपालिकाको ६०% र वडाको ४०% अनुदानमा स्प्रे पम्प वितरण गरिएको हो । नगरस्थित कृषि शाखा प्रमुख गोपालप्रसाद सापकोटा, कृषि प्राविधिक, वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा भएको कार्यक्रमबाट दर्जनौं किसानहरुले अनुदानमा स्प्रे पम्प प्राप्त गरी खुसी ब्यक्त गरेको कृषि शाखा प्रमुख सापकोटाले बताए । 

नव प्रतिभाको शैक्षिक भ्रमण र बनभोज
मण्डनदेउपुर नगरपालिका वडा नम्वर १० चण्डेनी मण्डनमा रहेको नव प्रतिभा ईंङ्गलिस स्कुलले विद्यार्थीहरुलाई अन्तर विद्यालय स्तरीय शैक्षिक भ्रमण गराएको छ । गत सोमबार मण्डनदेउपुर नगरपालिकाको नगरकोटमा रहेको नगर होप स्कुल लगायतका विद्यालयहरुको अन्तर विद्याय भ्रमण गराउँदै बन भोज कार्यक्रमको आयोजना गरेको थियो । 
मण्डनदेउपुर नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष केशव प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा र स्थानीय समाजसेवी उद्धव प्रसाद ढकालको विशेष आतिथ्यतामा भएको अन्तर विद्यालय शैक्षिक भ्रमण कार्यक्रममा नव प्रतिभा ईङ्गलिस स्कुल चण्डेनी र नगरहोप स्कुल नगरकोटका वि.व्य.स. अध्यक्ष, प्रधानाध्यापक, शिक्षक कर्मचारी, विद्यार्थी र स्थानीय अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा प्राथमिक तहका स–साना नानी÷बाबुहरुलाई अन्र्तविद्यालय अध्ययन अवलोकन भ्रमण गराउँदै बनभोजमा समेत सहभागी गराएकोमा वडाध्यक्ष लगायतका वक्ताहरुले खुसी व्यक्त गरेका थिए । 

मण्डन देउपुर नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न
मण्डनदेउपुर नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । पौष २८ गते प्रारम्भ भएको छैठौं नगर सभाका विभिन्न प्रस्तावहरु उपर घनिभूत छलफल गर्दै उक्त सभा सम्पन्न भएको हो । नगर प्रमुख टोकबहादुर वाइबाको अध्यक्षतामा भएको नगर सभाले नगरपालिकाको विगतका विभिन्न सन्दर्भहरुमा भएको कमी कमजोरीको समिक्षा गरी आगामी दिनको लागि विभिन्न प्रस्तावहरु पाश गर्दै हिउँदे अधिवेशनको समापन भएको नगरका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताए । 
अधिवेशनले मदिरा उत्पादन नियन्त्रण र विक्रि वितरण, शिक्षा ऐन २०७४, सार्वजनिक खरिद ऐन, स्थानीय कर सहितको विशेष प्रस्तावहरु पाश भएका छन् । शिक्षा ऐन शंसोधनको सन्दर्भलाई लिएर नगर सभाको पहिलो दिन उपस्थित भएर पनि हाजिरी नगरेका नेपाली कांग्रेसबाट निर्वाचित सदस्यहरुको उपस्थितिमा नगर प्रमुख वाइबाले मार्क गर्नु परे पनि माघ ७ गते भएको पछिल्लो दफावार छलफलमा उनीहरुको सहभागीता भएरै सबै प्रस्तावहरु सर्वसम्पत पास भएको वडा अध्यक्ष झलकप्रसाद पौडेलले जानकारी दिनु भयो । 

भिसोको सप्ताहव्यापी अतिरिक्त क्रियाकलाप
काभ्रेको पाँचखाल, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँ पालिकाका १९ विद्यालयहरु सहभागी हुने पाँचखाल भ्याली संस्थागत विद्यालय (भिसो) स्तरीय सप्ताहव्यापी अतिरिक्त क्रियाकलाप १२ गते आइतबारबाट शुरु हुने भएको छ । 
माघ ११ गतेभित्रमा सहभागीको नाम दर्ता गराउने अन्तिम म्याद पठाई १२, १३ र १४ गते गरी ३ दिनसम्म ३ ओटा स्थानीय पालिकाका संस्थागत विद्यालयहरु प्रतिस्पर्धामा भिड्ने उक्त कार्यक्रममा पूर्ण प्राथमिक तह अन्तर्गत ५० मि. रेस, स्वीट रेस र म्याथ रेस हुने छ । प्रतिस्पर्धाकै क्रममा प्राथमिक तहमा  पनि १०० मि. रेस, ४×१०० रेस र म्याडमिन्टन गेम र आधारभूत तहमा १०० मि. रेस, ४×१०० रेस, ब्याडमिनटन, लङजम्प, हाइजम्प लगायतका खेलहरुमा प्रतिस्पर्धा हुने भिसोका सचिव विशाल घिमिरेले बताए । त्यसै गरी माध्यमिक तह अन्तर्गत १०० मि. रेस, ४×१०० रेस, ब्याडमिनटन, लङजम्प, हाइजम्प, ट्रिपल जम्प, ज्वालिङ्ग थ्रु र म्याराथन लगायतका खेलहरुमा प्रतिस्पर्धा गराइने पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाइजेशनका अध्यक्ष छविरमण पराजुलीले बताए । कार्यक्रममा माथी उल्लेखित खेलहरु तहगत रुपमा भएपनि खूल्ला गेमको रुपमा डान्स, भलिबल र मार्चपाश लगायतका खेलहरुमा प्रतिस्पर्धा गराइने संस्थाका अतिरिक्त क्रियाकलाप प्रमुख युगबहादुर पन्तले बताए । ३ दिनसम्म चल्ने प्रतिस्पर्धात्मक खेल अन्तर्गत सबै विधाका उत्कृष्ट सहभाी विद्यार्थीहरुलाई ट्रफि, मेडल र प्रमाण–पत्रद्वारा पुरस्कृत गरिने बताइएको छ । यसको लागि विभिन्न उप समिति हरुको समेत गठन भैसकेको ईन्द्रेणी विद्या मन्दिरका प्रिन्सिपल राममणी सापकोटाले बताए ।