धुलिखेल/वन, वन्यजन्तु संरक्षणमा चुनौती थपिदै गएको छ । नयाँ सडक निर्माणसँगै शुरु भएको वन अतिक्रमण, मापदण्ड विपरित संचालित क्रसर उद्योग संचालन, वन डँडेलो लगायतका कारणबाट वन्यजन्तु संरक्षणमा चुनौती थपिएको हो ।
तत्कालिन डिभिजनल वन अधिकृत बद्रिकुमार कार्कीले सरोकारवालाहरुको बैठकमा जिल्लामा वन अतिक्रमण र वन्यजन्तु संरक्षणमा देखिएका समस्याका बारेमा प्रतिवेदन प्रस्तुत गर्दै सचेतनाका लागि सबै पक्ष लाग्नु पर्ने बताउनु भएको थियो । ‘नयाँ सडक संगै नया अतिक्रमण, मापदण्ड विपरीत संचालित ढुंगा खानी र क्रसर उद्योेगहरु, बन डढेलो, सामुदायिक वन उपभोक्ता समूहहरु निश्क्रिय हुनु प्रमुख कारण हो’– वन अधिकृत बद्रिकुमार कार्कीले भन्नुभयो–‘समुदायको चासो कम हुँदा समस्या थपिदै गएको छ ।’
जिल्लाका विभिन्न स्थानमा वन अतिक्रमण भईरहेको छ । सामुदायिक वनमा १९६.१५ हेक्टर अतिक्रमण भएको छ भने अतिक्रमित वनमा २ सय ५९ घरटहरा निर्माण भएको छ । अधिकांस घर टहरा नगरकोट क्षेत्रमा निर्माण भएका छन् । भत्तपुर क्षेत्रमा निर्माण भएका टहरा भक्तपुर जिल्ला वन कार्यालय मार्फत भत्काईएको छ । काभ्रेको क्षेत्रमा पर्ने टहरा अझै भत्काईएको छैन । धर्मिक, सास्कृतिक, गैह्र नाफामुखी सेवामुलक एंवम सार्वजनिक हितको उद्देश्यले ७८.९० हेक्टर वन अतिक्रमण भएको छ । जसमा ६६ वटा घर टहरा निर्माण भएका छन् । आर्थिक वर्ष २०७१/२०७२ देखि २०७३/२०७४ सम्म ८२.८८ हेक्टर विभिन्न सामुदायिक वन क्षेत्र अतिक्रमण हटाइएको थियो । तीन तहको निर्वाचन पश्चात स्थानीय तह, अन्य निकायहरुबाट वन क्षेत्र भएर निर्माण गरिने भौतिक पूर्वाधारका योजनाहरु निर्माण हुंदा कानूनी प्रक्रिया पुरा नगरी निर्माणका कार्यहरु संचालन गर्दा वन विनास हुने गरेको निश्कर्ष निकालिएको छ ।
जिल्लामा मानव वन्यजन्तु द्वन्द्व हुँदै आएको छ । चितुवा, बाँदर तथा बंदेलले मानवीय घरपालुवा जनावार क्षती तथा निजी आवादीको अन्न वाली हानी नोक्सानी हुने गरेको छ । नेपाल सरकारले त्यस्तो अवस्थामा क्षतिपुर्ति दिने गरेको छ । वन्यजन्तु द्धन्दका पीडितलाई राहत डिभिजन वन कार्यालयले राहत उपलब्ध गराएको छ । मानव वन्यजन्तु द्वन्द व्यवस्थापन अन्तगर्त र घर पालुवा जनावारलाई चितुवाले मारेकोमा ७ जनालाई १ लाख ९० हजार राहत वितरण गरिएको छ । वन्यजन्तुले क्षति गराउँदा राहत उपलब्ध गराउन थालेको अधिकांश कृषकहरुलाई जानकारी नभएको गुनासो गरेका छन् । समुदाय, स्थानीय सरकारले क्षतिका बारेमा जानकारी गराउनु पर्ने कृषकहरुले बताएका छन् ।
सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले जिल्लाको विभिन्न स्थानवाट तीन चितुवाको उद्धार गरिएको बताउनु भयो । जसमध्ये १ भाले र २ पोथी रहेका छन् । २ चितुवाको वच्चाको उद्दार गरिएको उहाँले बताउनु भयो । डिभिजन वन कार्यालयको चालु अर्थिक वर्ष २०७६।०७७ का लागी वातावरण संरक्षण, जडीबुटी विकास आयोजना, राष्ट्रिय वन संरक्षण तथा ब्यवस्थापन, वन्यजन्तु तथा वास स्थान संरक्षण र बृक्षारोपण नीजि तथा शहरी वन विकास लगायतका कार्यक्रम संचालन गरिने सहायक वन अधिकृत श्रेष्ठले बताउनु भयो ।





