बनेपा/जनमत साहित्य वाटिकाको आयोजनामा र काभ्रे बहुमुखी क्याम्पसको सहआयोजनामा बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसको सभा कक्षमा पारिजात स्मृति केन्द्र परिवारलाई सम्मान गरिएको छ ।
साहित्यिक कार्यक्रममा स्मृति केन्द्रका अध्यक्ष जनगायक रायन, सचिव स्नेह सायमि, कोषाध्यक्ष दिलसुन्दर श्रेष्ठका साथै अन्य सदस्यहरुमा डा.महेश मास्के, इन्दिरा दली, लक्ष्मी उप्रेती, मातृका पोखरेल लगायतको उपस्थिति रहेको थियो । काभ्रे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख के.जी. बयदारले स्वागत मन्तव्यबाट स्वागत भएको उक्त कार्यक्रममा जनमत वाटिकाका संरक्षक मोहन दुवालले जनमतको साहित्यिक यात्रा र लेखिका पारिजातसँगको सम्बन्ध र पारिजातको उत्कृष्टताबारे चर्चा गरे । सहभागि सदस्यहरुले मन्तव्य र कविता वाचन गरेको उक्त समारोहमा स्मृति केन्द्रका सदस्य तथा चीनका पूर्वराजदूत डा.महेश मास्केले नेपालको नक्सामा कालोपानी, लिपुलेक, लिम्पियाधुरा समेट्न नसक्नु नै नेपाल सरकारको कमजोरी रहेको, अन्तर्राष्ट्रियस्तरमा जानकारीका लागि प्रमाणहरु हुनुपर्ने र कूटनीतिका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए । साहित्यिक कार्यक्रमको दोस्रो सत्रमा भारतीय अतिक्रमणका विरुद्ध काभ्रेली कविहरु कृष्णकुमार वैद्य, गोविन्दलाल प्रधानाङ्ग, तुयुकाजी ताम्राकार, दियेशरत्न शाक्य, नवराज दाहाल ‘उत्साही’, लक्ष्मी बडाल, विजयराम कर्माचार्य, शारदा घिमिरे भैल, शारदाप्रसाद शर्मा, समीन रिजाल, सुस्मिता न्यौपाने र हरिप्रसाद चौलागाईंले कविता वाचन गर्नु भएको थियो । प्रमुख अतिथि जनगायक रायनले पारिजातसँग जनमतको गाढा सम्बन्ध रहेको र जनमत साहित्यिक जगत्मा निकै प्रख्यात भइसकेको संस्थाको नाम हो, उनले उल्लेख गरे । वाटिकाका संयोजक सूर्यप्रसाद लाकोजूको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो ।





