धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर २ मा भएको उपचुनावमा नेकपाका देवप्रसाद कोईराला विजयी हुनु भएको छ । निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दर्णबहादुर क्षेत्रीलाई फराकिलो मतान्तरले पछि पार्र्दै नेकपाका कोईराला विजयी हुनु भएको हो ।
नेकपाका देवप्रसाद कोईरालाले कुल खसेको मत मध्ये सदर मत मध्ये ८ सय ६७ मत प्राप्त गर्नु भएको थियो भने दर्णबहादुर क्षत्रीले ५ सय ८२ मत प्राप्त गर्नु भएको थियो । राष्ट्रिय जनता पार्टी नेपालका कृष्णबहादुर तामाङले १५ मत प्राप्त गर्नु भयो । त्यस्तै राप्रपा संयुक्तका बासु थापाले ६ मत प्राप्त गर्नु भयो । १ हजार ८ सय ७७ मत मध्ये मतदानमा १ हजार ५ सय २ मत खसेको थियो । ३२ बदर भएको थियो । विजयी उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
बदर मध्ये १३ मत खाली खसेको थियो भने दुईवटा निर्वाचन चिन्हमा ७ मत खसेको थियो । ल्याप्चे ६ मत खस्यो । सबै निर्वाचन चिन्हमा २ मत खसेको थियो । कोठा बाहिर ३ मत खस्यो । नेकपाका उम्मेदवार कोईराला माथी अन्र्तघात भएको भन्दै कार्यकर्ताहरुले आक्रोश र असन्तोष ब्यक्त गरेका छन् ।
निर्वाचनमा मतदाताहरुलाई शरिर खानतलासी पछि मात्रै मतदान केन्द्रमा प्रवेश दिईएको थियो । मतदानका क र ख दुईवटा मतदान केन्द्र सेतिदेवी मावि माझथुममा कायम गरिएको थियो । क बुथमा क्र.स १ देखि ९५२ सम्मका मतदाताहरुले मतदान गरेका थिए भने ९ सय ५३ देखि १८ सय ७७ मतदातालाई ख मतदान केन्द्रमा मतदानको ब्यवस्था गरिएको थियो । निर्वाचनका लागि २०७६ साउन १६ गतेसम्म १८ वर्ष पुगेका मतदाताहरुको संख्या १ हजार ८ सय ७७ रहेको छ । जसमा ९ सय ४९ महिला र ९ सय २८ पु्रुष रहेका छन् । स्थानीय तहको निर्वाचन २०७४ मा सोहि वडामा १ हजार ६ सय ४९ मतदाता थिए । जसमा ८ सय २८ महिला र ८ सय २१ पुरुष मतदाता थिए । जसमध्ये १ हजार ४ सय २ मत खसेको थियो । खसेको मध्ये १ हजार ३ सय ४४ मत सदर भएको थियो भने ५८ मत बदर भएको थियो । खसेको मध्ये नेकपाका उम्मेदवार स्वर्गिय राजन कोईरालाले ८ सय ३६ मत प्राप्त गर्नु भएको थियो भने एकिकृत नेकपा माओवादीका उम्मेदवारले २ सय ४८ मत प्राप्त गर्नु भएको थियो । नेपाली कांग्रेसका उम्मेदवारले २ सय ६० मत प्राप्त गरेका थिए । सोहि वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १ हजार ८ सय ३४ मत खसेको थियो । २ वर्षमा ४३ जना मतदाता मात्रै थपिएका छन् । नयाँ मतदाता १२ जनाले मतदाता परिचयपत्र लिएका थिए ।
धुलिखेलमा भएको उपचुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाली सेना विष्णु दल गणका गणपति सुवास खड्का, जिल्ला प्रहरी प्रमुख जयराज सापकोटा, शशस्त्र प्रहरी काभ्रेका प्रमुख एसपी पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धानका डिएस्पी सरोज निरौला लगायतको टोलीले निर्वाचनको सुरक्षाका लागि टोली परिचालन गरेका थिए । नेपाली सेना, जनपथ र शशस्त्र गरी ७५ जनाको टोली निर्वाचन स्थलमा खटिएको थियो ।





